साउन महिना सुरु भएको छ । साउनको सुरुवातसँगै महिलामा छुट्टै उत्साह र उमंग छाएको पाइन्छ । ससाना बालिका, युवती हुन् या वृद्ध महिला, यतिवेला अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिएको देखिन्छ । उनीहरूको नाडीमा हरिया, पहेँला चुरा र हातमा मेहेन्दी हुन्छ । त्यसैले हरियो रंगका कपडा र चुराको व्यापार पनि बढेको छ ।
हरियो चुराबारे समाजमा धेरैखाले मान्यता रहिआएको पाइन्छ । कतिपयले देखासिकीको भरमा, कतिपयले फेसनेबल बन्न त केहीले आ–आफ्नै बुझाइका आधारमा यस्तो पहिरन लगाउने गरेका छन् । साउनमा हरियो लगाउने र सोमबार व्रत बस्ने चलन छ ।
‘यो लगाउँदा के हुन्छ भन्ने त थाहा छैन, साउन महिनाभरि सबैले लगाउने गरेको हुँदा मैले पनि लगाएँ,’ काठमाडौं बालाजुकी किशोरी सुस्मिता आचार्यले भनिन् । चितवन भरतपुर– ६ गीतानगरकी २० वर्षीया श्रद्धा सुवेदीले हरियो चुरा र कपडालाई प्रकृतिप्रेमकोे प्रतीकका रूपमा बुझेको बताइन्, ‘यसपटक साउनमा मेहेन्दी मात्र लगाएँ, कलेज हँुदा लगाउन पाइँदैन, त्यसैले अहिले बिदा भएर लगाएको हुँ,’ उनले भनिन्, ‘गर्मीमा चितवनमा सर्पको डर हुन्छ मेहेन्दीको वास्नाले सर्पको डर हुन्न भन्ने भनाइ छ, त्यसैले पनि लगाएकी हुँ, हातखुट्टामा मेहेन्दीको बुट्टा पनि त राम्रै देखिन्छ । साउनमा धेरैले हरियो चुरा र पहिरन लगाउने गरेका छन् । मेरो बुझाइमा प्रकृतिप्रेमको प्रतीकका रूपमा हरियो रंग रोजिएको होला ।’
चितवन भरतपुर १३, ब्रह्मपुरीकी मनीषा घिमिरेले अग्रजले गर्दै आएको परम्परालाई निरन्तरता दिएको बताइन् । ‘हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ,’ गत मंसिरमा विवाह बन्धनमा बाँधिएकी घिमिरेले भनिन्, ‘हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ, ‘खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन् ।’
हरियो रंग शीतलताको प्रतीक : चुन्दा बज्राचार्य, संस्कृतिविद्
हरियो चुरा र रंगलाई हिन्दू समुदायमा शीतलताको प्रतीकका रूपमा लिइन्छ । जहाँ–जहाँ नेपाली छन् त्यहाँ त्यहाँ साउन महिनामा भगवान् महादेवको पूजा गर्ने र हरियो पहिरन लगाउने चलन पनि छ । हरियो चुरा, मेहन्दी र सारी लगाउने चलन खासगरी हिन्दू धर्ममै केन्द्रित रहेको पाइन्छ । किनकि, हिन्दू धर्ममा हरियो रंगको विशेष महत्व छ । अर्को कुरा समाज रूपान्तरण हुँदै जाँदा यो फेसनकै रूपमा अघि बढेको छ ।
नेवार समुदायमा श्रेष्ठ जातिले पनि साउन हरियो चुरा, सारी र मेहन्दी लगाएको पाइन्छ । नेवारभित्रका अन्य जातिले भने गठेमंगललाई नै हरियो पर्वका रूपमा मनाउँछन् । हरियो चुरा, मेहन्दी र सारी आधुनिक समयमा फेसनको रूपमा विकास भएको पाइन्छ । यसको प्रयोग बढेसँगै बजार पनि फस्टाएको छ ।
हरियो रंगले ऊर्जा र आनन्द दिन्छ : डा. गोविन्द टन्डन, संस्कृतिविद्
साउन महिना वर्षा ऋतुको समय हो । धार्मिक आस्थाअनुसार यस महिनाबाट उत्तरायण सुरु भएको छ । उत्तरायण अशुभ मानिने भएकाले यो समयलाई पूजा आराधना गर्ने समयको रूपमा मानिन्छ ।
यस महिना पूजा गर्दा शिव भगवान् खुसी हुन्छन् भन्ने मान्यता छ । त्यसैले, साउनका हरेक सोमबार शिवालयहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । अर्को कुरा, यो समय प्रकृति पनि हरियाली हुन्छ । लुतो फाल्ने परम्परा र मकै भाँच्ने काम पनि यस महिना हुन्छ । यस अर्थमा उब्जनी, उत्पादनशीलता, खेती तथा हाम्रो वनस्पतीको मूल्य र महŒव यस महिनासँग जोडिएका छन् । त्यसकारण पनि हरियो रंगको बेग्लै महत्व छ । हरियो रंगले ऊर्जा, आनन्द, मनमोहकता र माधुर्यता दिने काम गर्छ । विगतमा महिलाहरूले हातभरि पिउरी लगाउने गर्थे । हरियो, पहेँलो कपडा, चुरामा धेरैको ध्यान जाँदैन्थ्यो । जे छ त्यही लगाएर भगवान्को पूजाआजा गर्ने भन्ने हुन्थ्यो । तर, अहिले समाज आधुनिकतातिर गएसँगै हरियो, पहेँलो चुरा, पोते, कपडा, नङपालिस र मेहेन्दी लगाउने फेसन छ ।