किशोरावस्थादेखि नै कृषि शिक्षातर्फ आकर्षण बढाउने उद्देश्यले ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयले कृषि प्राविधिक विषय पढाउँदै आएको छ । विद्यालयले सरकारबाट स्वीकृत लिएरै नौ कक्षादेखि नै सैद्धान्तिक एवं व्यावहारिक शिक्षा दिँदै आएको हो ।
अन्य पढाइसँगै कृषिसम्बन्धी पढाइ हुन थालेपछि यहाँका विद्यार्थीले विद्यालयपरिसर र आ–आफ्ना घर–घरमा पनि तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । कक्षा नौदेखि कृषि पढाइ सुरु गरेका यहाँका विद्यार्थीले विद्यालयमै तरकारी फलाएका छन् । उनीहरूले कसरी जमिन तयार पार्ने, बिउ रोप्नेदेखि फल टिप्नेसम्मका व्यावहारिक शिक्षा पाएको छात्रा छत्रमाया सामेखामाले बताइन् । उनीजस्तै श्रेया चोङबाङ (लिम्बू)ले विद्यालयसँगै घरमा पनि तरकारी लगाएको बताइन् ।
विद्यालयमा मात्र नभई यहाँ अध्ययनरत छात्रछात्राले घरमा पनि तरकारी लगाउन आफ्ना अभिभावकलाई सिकाउने गरेको छात्र सन्तोष शेर्पाले बताए । कृषिसम्बन्धी पढाइ कक्षा नौदेखि सुरु भएर यो शैक्षिक सत्रमा कक्षा ११ सम्म पु¥याएको विद्यालयका प्रधानाध्यपक लालबहादुर लिम्बूले बताए ।
प्रांगारिक मलको प्रयोगलाई विशेष जोड
प्रांगारिक मललाई प्राथमिकतामा राखी स्थानीयमा प्रांगारिक मल उत्पादन गरी सो मलबाट नै उत्पादन गराउन जोड दिएको विद्यालयका बाली विज्ञान संयोजक सागर अधिकारीले बताए । विद्यार्थीलाई विभिन्न तरिकाबाट प्रांगारिक मल बनाउने तालिमसमेत दिने गरेको अधिकारीको भनाइ छ । प्रांगारिक खेतीलाई जोड दिँदै विद्यार्थीले सिकेका कुरालाई राम्ररी लागू गरी तरकारीमा अत्मनिर्भर बन्दै गएको उनी बताउँछन् ।
पहिलो परीक्षणको नतिजा राम्रो देखिएपछि विद्यालय परिवार पनि दंग छ । विद्यालयले योजना बनाएर हप्ताको एक दिन खेतबारीमै व्यावहारिक कक्षा र अन्य दिन सैद्धान्तिक कक्षा सञ्चालन गर्ने गरिएको संयोजक अधिकारीले बताए । अहिले टनेलको प्रयोग गरी विभिन्न किसिमका तरकारीका बिरुवाहरू उत्पादन गरी अभिभावकलाई समेत पठाएपछि विद्यार्थीको घरमा पनि तरकरी उत्पादन सुरु भएको संयोजक अधिकारीको भनाइ छ ।