सामूहिक बलात्कारको सिकार भएपछि घरमै झुन्डिएको अवस्थामा भेटिएकी बालिकाको शव आरोपी युवकको घरमा राखेर स्थानीयले प्रदर्शन गरेका छन् । गाउँलेहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
सिराहाको मिर्चैया नगरपालिका– १ मलहनिया गाउँकी करिब १५ वर्षीया पवित्री सदाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर बुधबार साँझ दाहसंस्कारका लागि गाउँ ल्याइएको थियो । धरानमा दाजु जगनारायण सदा र काकाले सदगत पुर्जी बुझेर शव घरमा ल्याई दाहसंस्कारका लागि घाट लैजाने तयारी गरिरहेका वेला कसैले उचालेर बालिकाको शव दुई आरोपीमध्ये २४ वर्षीय सतिश रजकको घरमा राखेर प्रदर्शन गरिनुले अप्ठ्यारो परेको प्रहरीले जनाएको छ ।
‘प्रहरीले आफ्नो काम गरिरहेको छ, घटनामा संलग्न आरोपी दुवैजनालाई जसरी पनि पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउँछौँ,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद ओलीले भने, ‘तर, प्रहरीले केही नगरे जसरी शवमाथि राजनीति गरिनु राम्रो होइन ।’
महिला र बालबालिकाबाहेक सबै फरार
मंगलबार बिहान छोरालाई गाउँलेहरूसमक्ष उपस्थित गराउने कबोल गरेका आरोपी रजकका बाबु पनि घर छोडेर फरार भएका छन् । दाहसंस्कार गरिनुपर्ने शव आरोपीको घरमा राखेर प्रदर्शन गरिएपछि बुधबार राति १० बजेसम्म प्रहरी, नगर प्रमुख श्रवण यादवसहित स्थानीय गाउँलेको छलफल भए पनि सहमति जुट्न नसकेको घटनास्थलबाट रामनारायण ठाकुरले बताए । छलफलमा उपस्थित भएकामध्ये आधाजसोले शव उठाउन सहमति जनाए पनि केहीले आरोपीका बाबु प्रहरीमा हाजिर नभएसम्म शव नउठाउने अडान लिएपछि छलफल अगाडि बढ्न नसकेको उनले बताए ।
मृतक बालिकाको पोस्टमार्टम रिपोर्ट आएसँगै घटनाको वास्तविकता खुल्ने भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीका अनुसार सामूहिक बलात्कारको आरोप लागेका रजक र २० वर्षीय विमलेश महरा गाउँबाट फरार रहेकाले खोजीका लागि सम्भावित ठाउँहरूमा प्रहरी परिचालन गरिएको छ ।