नेकपा (एमाले)का महासचिव शंकर पोख्ररेलले नेकपा एकीकृत समाजवादी पार्टीको भविष्य सकिएको ठोकुवा गरेका छन्। मंगलबार महेन्द्रनगर पार्टी कार्यालयमा एमाले कञ्चनपुरद्वारा आयोजित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोख्ररेलले समाजवादी पार्टीको भविष्य सकिएको ठोकुवा गरेका हुन्।
‘एमालेबाट चोइटिएर गएका साथीहरूले खोलेको पार्टी समाजवादीको अब भविष्य छैन, ‘महासचिव पोखरेलले भने, ‘एमालेमै फर्किन आह्वान गर्नुहोस्।’
एमाले फुटेर वामदेवले उतिबेला ६ प्रतिशत जनमत पाएको पार्टीको भविष्य स्वाहा भएको स्मरण गराउँदै महासचिव पोखरेलले ४ प्रतिशत जनमत ल्याउने समाजवादी पार्टीको उस्तै पनि भविष्य नरहेको दाबी गरे। माधवकुमार नेपाल, झलनाथ खनालसहितका ठूला नेताहरूले पार्टी छाड्दा पनि एमालेको जनमत बलियो रहेको बताए।
एमाले सिध्याउने भन्नेहरू आफैँ सकिइरहेको उनले बताए। पार्टीभित्र अराजकतावाद, अवसरवाद हावी हुँदा स्थानीय निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको समेत पोखरेलले बताए।