त्रिभुवन पार्कको जग्गा दुरुपयोगबारे अख्तियारले थाल्यो छानबिन

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण

सरकारी स्वामित्वको थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गा निजी कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सरकारलाई थाहै नदिई पार्कको जग्गा एनजिओले भाडामा लगाएको सम्बन्धमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि त्यसैलाई उजुरी मानेर आयोगले छानबिन अघि बढाएको हो । 

नयाँ पत्रिकाले गत १९ जेठमा ‘सरकारलाई थाहै नदिई त्रिभुवन पार्कको ५० रोपनी जग्गा एनजिओले लगायो भाडामा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारकै आधारमा आयोगले उजुरी दर्ता गरेर त्यसबारे राय–प्रतिक्रिया पठाउन बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयलाई पत्र पठाएको छ । आयोगले १५ दिनभित्र जवाफ पठाउन भनेको स्रोतले बतायो । 

प्रदेश मन्त्रालयले पनि छानबिन गरिरहेको छ । पार्कको सार्वजनिक सम्पत्ति एनजिओ (प्रतिष्ठान)ले निजी कम्पनीलाई भाडामा दिएको सम्बन्धमा गत १३ जेठमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन कार्यदल गठन गरेको थियो । कार्यालयका कानुनसचिव विनोदकुमार भट्टराईको अध्यक्षतामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय कार्यदलले यस विषयमा छानबिन गरिरहेको छ । १५ दिनको समय तोकिए पनि कार्यदलले एक महिना नाघिसक्दासमेत प्रतिवेदन बुझाएको छैन । 

कार्यदल गठन भई त्यसले कार्य प्रारम्भ गरेको र प्रतिवेदन प्राप्त भएपछि रायसहितको जवाफ पठाउने जवाफ मन्त्रालयले आयोगलाई पठाएको स्रोतले बतायो । ‘अहिले कार्यदलले पार्कको विषयमा छानबिन गरिरहेको छ,’ स्रोत भन्छ, ‘प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदनसहित राय पठाउने पत्र अख्तियारलाई पठाइएको छ ।’ 

पार्कको रेखदेख गरिरहेको सहिद स्मारक प्रकृति प्रतिष्ठानले सरकारलाई थाहै नदिई प्रतिरोपनी नौ हजारका दरले एक्सेलसियर इन्फर्मेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्न प्रालिलाई २० वर्षका लागि भाडामा लगाएको छ । संघीय सरकारमातहत हुँदै २९ मंसिर ०७३ मा प्रतिष्ठान र प्रालिबीच लिज सम्झौता भएको थियो । पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सम्झौता गैरकानुनी भएको दाबी गर्दै आएका छन् । तर, प्रतिष्ठानले पनि यसलाई कानुनसम्मत नै भनेको छ । 
 

सुझावित समाचार