बेलकोटगढीमा लामालाई जित्ने र खनाललाई साख जोगाउने चुनौती

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण

नुवाकोटको बेलकोटगढी नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी सुरु भएको छ । नगरप्रमुखमा सत्तारुढ गठबन्धनले माओवादीका जगतबहादुर लामालाई अघि सारेको छ भने एमालेले निवर्तमान नगरप्रमुख राजेन्द्ररमण खनाललाई पुनः दोहोर्याएको छ ।

अघिल्लो निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको बेलकोटगढीमा योपटक लामालाई कांग्रेसको पनि समर्थन रहेको छ । तर, कांग्रेसले कति इमान्दारिता देखाउँछ भन्ने संशय पनि उस्तै छ । कांग्रेसभित्रै अन्तर्घातको सम्भावनालाई नकार्न नसकिने स्थानीय नेताहरूको बुझाइ छ । यता एमालेले पुनः खनाललाई टिकट दिएपछि करिब चार दशक एमालेको सक्रिय राजनीतिमा लागेका माधव पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।अघिल्लोपटक आफ्नै पार्टीभित्रको अन्तर्घातले हारेका लामालाई लामो रस्साकस्सीपछि माओवादीले गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा अघि सारेको हो । योपटक जसरी पनि जित्नुपर्ने चुनौती लामालाई छ । २०७४ को निर्वाचनमा ६ हजार ६४३ मतले एमालेका उम्मेदवार खनाल निर्वाचित हुँदा लामाले ६ हजार तीन सय ५१ मत ल्याएका थिए । कांग्रेस–एमाले–माओवादीबीचको त्रिपक्षीय भिडन्तमा एक्लै लड्दा २९२ मतले हारेका लामालाई योपटक कांग्रेसको पनि साथ छ ।

तर, एमालेको पनि आफ्नै दाबी छ । नगरमा माओवादी–कांग्रेस गठबन्धनको सहमति भए पनि आफू नै पुनः दोहोरिने एमालेका उम्मेदवार खनालको दाबी छ । सहमतिअनुसार कांग्रेसको सबै भोट माओवादीलाई नजाने उनी बताउँछन् । ‘मेयर र उपमेयरमा गठबन्धनजस्तो देखिए पनि वडामा कुनै खालको गठबन्धन देखिएको छैन । मत त्यही ढंगले जान्छ भन्ने पनि छैन । वडामा प्रतिस्पर्धा भएर उनीहरूबीच बोलचाल नै बन्द हुने स्थितिसमेत छ,’ खनालले भने ।

नगरमा गठबन्धन भए पनि सबै वडामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएकाले मेयरको भोटसमेत बाँडिने आकलन छ । अघिल्लो निर्वाचनमा बेलकोटगढीका १३ मध्ये १० वडामा एमाले विजयी भएको थियो । माओवादी केन्द्रले दुई वडा जित्दा कांग्रेसले एक वडा मात्र जितेको थियो । अघिल्लो कार्यकालमा आफूले गरेका कामका कारण पनि आफूले जित्ने एमाले उम्मेदवार खनालको तर्क छ । उनले भने, ‘मैले पाँच वर्ष काम गरिसकेको छु । धेरै वडामा, टोल बस्तीबस्तीमा जनताका लागि देखिने खालका काम गरेकाले जित्छु ।’

तर, गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका लामा भने चुनावी प्रतिस्पर्धामा उत्रने सबैले जित्ने दाबी गरे पनि मतदाताका लागि व्यक्तिले गरेको योगदानले नै जितको निर्धारण गर्ने बताउँछन् । ‘गठबन्धनमा केही पक्ष असन्तुष्ट हुन्छन् नै । कांग्रेस र माओवादीविपरीत ध्रुवका पार्टीहरू चुनावमा आज एक ठाउँमा उभिरहँदा एकले अर्कालाई नस्विकार्ने अवस्थाका केही मानिस असन्तुष्ट हुनु स्वाभाविक हो ।’ अघिल्लो निर्वाचनको मतपरिणामलाई हेर्दासमेत कांग्रेसबाट केही भोट तलमाथि भए पनि आफूले सहज रूपमा जित हासिल गर्ने उनी बताउँछन् । अघिल्लो निर्वाचनमा कांग्रेसका मेयरका उम्मेदवार यादव नेपालले चार हजार ८०० भन्दा बढी मत ल्याएका थिए । दुवै पार्टीका नेता–कार्यकर्ता गठबन्धनको भावनाप्रति प्रतिबद्ध रहेकाले आफूहरू एक–अर्काप्रति विश्वाससहित प्रचार–प्रसारमा लागेको लामाले बताए ।

ट्रेकिङ व्यवसायमा लागेका लामा केही वर्षदेखि ‘नेपालका लागि शिक्षा र स्वास्थ्य’ नामक गैरसरकारी संस्थामार्फत सामाजिक कार्यमा अग्रसर छन् । ०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीमा मात्र नभई अन्य समयमा समेत आफूले पदमा नरहेकै वेलामा पनि जनताका लागि गरेको सेवा र विकास निर्माण नै आफ्नो जितको बलियो आधार मान्छन् उनी । बेल्कोटगढी–४ नेपाने डाँडामा २० शय्याको शुकुमान मेमोरियल पोलिक्लिक निर्माण गरेका उनले विभिन्न समयमा नगरका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् । 

नुवाकोटको विकट तामाङ बस्तीमा जन्मिएर ६ घन्टाको बाटो हिँडेर विद्यालय पढेको र सिटामोल नपाएकै कारण आफ्नो बाबुले अकालमा मृत्युवरण गर्नुपरेको तीतो यथार्थ भावी पुस्ताले भोग्नु नपरोस् भन्ने ध्येयका साथ शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा आएको लामा बताउँछन् ।

अघिल्लो निर्वाचनमा केही व्यक्तिको अन्तर्घातका कारण थोरै मतान्तरले पराजित भएका लामालाई अहिले जितका लागि अवसर र चुनौती दुवै छ । एमालेका उम्मेदवार तथा निवर्तमान मेयर खनालको पनि अघिल्लो कार्यकाललाई लिएर आलोचना त छ नै, साथै गठबन्धनका कारण चुनौती पनि छ । यसअघि जस्तै गठबन्धनका कांग्रेस र माओवादीभित्रै अन्तर्घात भएमा भने खनाल पुनः विजयी हुने धेरैको बुझाइ छ ।

सुझावित समाचार