धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले आफू मेयरमा निर्वाचित भएपछि धनगढीलाई नमुना सहरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । धनगढीलाई व्यवस्थित र समुन्नत सहर निर्माण गर्न ‘हाम्रो धनगढी हामी बनाउँछाैँ’ अभियान संचालन गर्ने उनको भनाइ छ ।
‘हामी बसेको ठाउँ हामीले नै बनाउने हो । धनगढीलाई परिवर्तन गरेरै देखाउने प्रणसहित मेयरमा उम्मेदवारी घोषणा गरेको हुँ ।’ आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हमालले भने, ‘म धनगढीलाई राम्रो र नमुना सहरको रूपमा विकास गर्न चाहन्छु । मलाई एकपटक काम गरेर देखाउने मौका दिन यहाँका मतदातालाई म आग्रह गर्दछु ।’ उनले कुनै पनि पूर्वाग्रह र पक्षपात नराखेर आफूले काम गर्ने बताए ।
धनगढीलाई भ्रष्टाचारमुक्त बनाउने, हालसम्मका बेरुजु असुलउपर गरी बेरुजु शून्यमा झार्ने, विकास बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । घरघरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाउने, फोहोरमैला व्यवस्थापनको वैज्ञानिक विधि अपनाउने, वृक्षरोपण गरेर धनगढीलाई सुन्दर र हराभरा बनाउने, पार्किङ र खेलमैदानको व्यवस्था गर्ने, खोलानालाको अतिक्रमण हटाएर साइकिल लेन निर्माण गर्ने हमालको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
‘यो पाँच वर्षमा जसरी स्थानीय तह संचालन हुनुपर्थ्र्यो त्यसरी हुन सकेन । जुन दलले जितेको त्यसको मात्र एकलौटी हुने र सरकारी बजेटले कार्यकर्ता पोस्ने परिपाटी छ ।’ हमालले भने, ‘नागरिकले विकास र अन्य कुरामा न्याय नपाउने अवस्था छ । त्यसैले अब स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी गराउने अभ्यास सुरु हुनुपर्छ ।’ स्वतन्त्र उम्मेदवार विजयी हुँदा आफ्नो क्षेत्रको विकासमा जोडिन राजनीतिभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि सहज हुने हमालको भनाइ छ ।
‘धनगढीले मलाई बनायो, अब म धनगढीलाई बनाउन चाहन्छु । म पाँच वर्षसम्म पूरै समय धनगढीको विकासमा केन्द्रित गर्नेछु ।’ उनले भने, ‘मैले जित्दा कार्यकर्ता पाल्नुपर्दैन । कार्यकर्ता पाल्नु नपर्ने भएपछि न्यायपूर्ण विकास गर्न सकिन्छ ।’ उनले आफू निर्वाचित भए पाँच वर्षसम्म उपमहानगरपालिकाबाट कुनै पनि सेवासुविधा नलिने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बन्न दलहरूबाट प्रस्ताव आए पनि दलबाट विजयी हुँदा काम गर्न नसकिने भएकाले आफूले अस्वीकार गरेको हमालले बताए । ‘दलहरूबाट प्रस्ताव आएका छन् । चाहेको भए दलको उम्मेदवार बनेर सजिलै चुनाव जित्न सक्थेँ ।’ उनले भने, ‘म केही गर्नु भनेर आएको हुँ । दलबाट विजयी हुँदा स्वतन्त्र भएर काम गर्न सकिँदैन । मैले चाहेको काम गर्न सक्दैन । त्यसैले म स्वतन्त्र भएरै चुनाव लड्न चाहेको हुँ ।’
स्थानीय निर्वाचनमा मतदाताले विवेक प्रयोग गर्ने भन्दै उनले गठबन्धन हुँदा पनि आफूलाई फरक नपर्ने उनले दाबी गरे । ‘जनता फरक ढंगले सोँच्ने भइसके । त्यसैले गठबन्धनले खासै फरक पर्दैन ।’ उनले भने, ‘जनताले विवेक प्रयोग गर्लान् भन्ने आशा छ ।’ गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा नृपबहादुर बड १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएर माओवादी र एमालेका उम्मेदवारलाई पछि पारेका थिए ।