रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्वबजारमा खाद्यपदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ)ले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक धेरै भएको हो।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकाले मार्चमा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन्। युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्यपदार्थमा पनि परेको बताइएको छ।
युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ। राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटकपटक आग्रह गर्दै आएको छ। रासस/एएफपी