हवाई यात्रुमाथि विमानस्थल विकास र यात्रु सेवा शुल्कको भार थपिँदै

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

नियमावली संशोधन गरेर अन्तर्राष्ट्रिय यात्रुबाट १५ सय र आन्तरिक यात्रुसँग चार सय विमानस्थल विकास शुल्क तथा विमानस्थलअनुसार आन्तरिक यात्रुबाट तीन सय रुपैयाँसम्म यात्रु सेवा शुल्क उठाउने तयारी

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गर्ने हवाई यात्रुको टिकटमा अतिरिक्त आर्थिक भार थप्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय यात्रुबाट एक हजार पाँच सय र आन्तरिक यात्रुसँग चार सय विमानस्थल विकास शुल्क उठाउने व्यवस्था गर्दै ‘विमानस्थल सेवा शुल्क नियमावली’ संशोधनको तयारी गरिएको छ । त्यस्तै, आन्तरिक उडानका यात्रुसँग लिइने यात्रु सेवा शुल्क पनि तीन सयसम्म पुर्याइँदै छ । पर्यटन मन्त्रालयले नियमावली संशोधनका लागि मस्यौदा तयार गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइसकेको छ । 

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सञ्चालनका लागि विमानस्थल सेवा शुल्क नियमावली संशोधन गर्नुपर्ने थियो । सोही मौकामा आन्तरिक यात्रुबाट पनि विमानस्थल विकास शुल्क लिने, अन्तर्राष्ट्रिय यात्रुको शुल्क वृद्धि गर्ने र यात्रु सेवा शुल्क पनि बढाउने गरी नियमावली संशोधन गरिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एनआइए)बाट अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुसँग आर्थिक वर्ष ०७१/७२ देखि सरकारकै स्वीकृतिमा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रतिव्यक्ति भ्याटसहित एक हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँदै आएको छ । नयाँ नियमावलीमा प्रत्येक अन्तर्राष्ट्रिय यात्रुसँग विमानस्थल विकास शुल्क एक हजार पाँच सय रुपैयाँ लिने प्रस्ताव गरिएको छ । छिट्टै काठमाडौंसहित पोखरा र भैरहवामा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छन्, तीनवटै विमानस्थलबाट विदेश यात्रा गर्ने यात्रुले एक हजार पाँच सय बुझाउनुपर्ने हुन्छ ।

अहिलेसम्म सरकारले आन्तरिक यात्रुसँग विमानस्थल विकास शुल्क लिने गरेको छैन । तर, संशोधनको तयारी गरिएको नियमावलीमा प्रत्येक आन्तरिक हवाई यात्रुसँग पनि चार सय विमानस्थल विकास शुल्क उठाउने प्रस्ताव छ । त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुसँग यो शुल्क उठाइने मस्यौदामा उल्लेख छ । 

नियमावली स्वीकृत भएको पहिलो पाँच वर्षसम्म विमानस्थल विकास शुल्क लागू हुने र त्यसपछि सरकारले निर्णय गरेबमोजिम हुने मस्यौदामा उल्लेख छ । क्यानले त्रिभुवन विमानस्थलको रनवे जीर्ण भएपछि मर्मत–सम्भार गर्न सरकारकै स्वीकृतिमा आर्थिक वर्ष ०७१/७२ देखि पाँच वर्षका लागि अन्तर्राष्ट्रिय यात्रुसँग प्रतिव्यक्ति हजार रुपैयाँ उठाउन थालेको थियो । तर, पाँच वर्ष सकिएपछि पनि यसलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय एप्रोन, पार्किङ, खाल्टाखुल्टी पुर्नेलगायत मर्मत–सम्भार र विकासे कामका लागि भनेर शुल्क उठाउन सरकारले स्वीकृति दिएको थियो ।

दुई वर्ष उमेर पूरा भएका सबै अन्तर्राष्ट्रिय यात्रुको हवाई टिकटमै विमानस्थल विकास शुल्क जोडिएर आउने मस्यौदामा उल्लेख छ । अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालन गर्ने वायुसेवा कम्पनी वा व्यक्तिले त्यस्तो उडान गर्नुअगावै सम्बन्धित विमानस्थल कार्यालय वा क्यानले तोकेको कार्यालयमा विमानस्थल विकास शुल्क बुझाउनुपर्ने हुन्छ । यस्तो शुल्क स्वीकृत पाँचवर्षे कार्ययोजनाबमोजिम खर्च गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

यात्रु सेवा शुल्क पनि बढाइँदै
संशोधनको तयारी गरिएको नियमावलीको मस्यौदामा यात्रु सेवा शुल्क पनि बढाउने प्रस्ताव गरेको छ । विकास शुल्क लाग्ने विमानस्थलहरूमा प्रत्येक अन्तर्राष्ट्रिय यात्रुसँग (भ्याटबाहेक) हजार र विकास शुल्क नलाग्ने विमानस्थलमा प्रतियात्रु (भ्याटबाहेक) एक हजार पाँच सय यात्रु सेवा शुल्क उठाउने प्रस्ताव मस्यौदामा छ । 

अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन, भैरहवा र पोखरा विमानस्थलबाट विदेश उडान भर्ने प्रत्येक यात्रुले एक हजार पाँच सय विकास शुल्क र एक हजार यात्रु सेवा शुल्क बुझाउनुपर्ने हुन्छ । अहिलेसम्म अन्तर्राष्ट्रिय उडानतर्फ सार्क मुलुकमा उडान गर्ने यात्रुहरूसँग करसहित सात सय र सार्कबाहिरका मुलुकमा यात्रा गर्ने यात्रुसँग एक हजार रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था छ । 

आन्तरिकतर्फ अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन, गौतम बुद्ध र पोखरा) मा उडान गर्दा यात्रु सेवा शुल्क १३ प्रतिशत भ्याटसहित तीन सय रुपैयाँ उठाउन मस्यौदामा प्रस्ताव गरिएको छ । त्यस्तै, चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, तेन्जिङ हिलारी (लुक्ला), जोमसोम, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलमा उडान भर्दा प्रतियात्रु यात्रु सेवा शुल्क दुई सय ५० रुपैयाँ उठाउने प्रस्ताव छ । गौतम बुद्ध र पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदासम्म यात्रुसेवा शुल्क दुई सय ५० रुपैयाँ मात्रै तिर्दा हुनेछ ।

तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामीडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा (जुफाल), डोल्पा (मसिनेचौर), डोटी, बैतडी, रुकुम (सल्ले), रुकुम (चौरजहारी), बझाङ र साँफेबगर विमानस्थलका लागि यात्रु सेवा शुल्क दुई सय रुपैयाँ तोकिएको छ । यीबाहेकका अन्य विमानस्थलको हकमा सय रुपैयाँ प्रस्ताव गरिएको छ । 

अहिलेसम्म आन्तरिक उडानका यात्रुसँग विमानस्थलअनुसार १०, सय र दुई सय रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था छ । संशोधित नियमावलीको मस्यौदामा विमानस्थल हेरीकन सेवा शुल्क बढाएर सय, दुई सय, दुई सय ५० र तीन सय रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको हो ।

कति उठ्छ रकम ?
कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार चार सय ८२ यात्रुले यात्रा गरेका थिए, जसमध्ये २२ लाख २९ हजार पाँच सय ९४ यात्रु काठमाडौंबाट विदेश उडेका थिए । त्रिभुवन विमानस्थलबाट विदेश उडेका यात्रुले हजार रुपैयाँ विमानस्थल शुल्क र सार्क मुलुकमा उडेका यात्रुले सात सय र अरू देशमा उडेका यात्रुले थप एक हजार यात्रु सेवा शुल्क तिरेका थिए ।

पछिल्लो समय कोरोना महामारी कम हुँदै गइरहेको छ भने अन्तर्राष्ट्रिय यात्रु पनि बढ्दै गइरहेका छन् । नयाँ नियमावली कार्यान्वयनमा आउँदा अन्तर्राष्ट्रिय यात्रु सन् २०१९ कै हाराहारी पुग्दा पनि विमानस्थल विकास शुल्क तीन अर्ब ३४ करोड ४४ लाख रुपैयाँ उठ्नेछ । यस्तै, यात्रु सेवा शुल्क हजारका दरले दुई अर्ब २३ करोड उठ्नेछ । अर्थात्, कुल पाँच अर्ब ५७ करोड ४४ लाख रुपैयाँ अन्तर्राष्ट्रिय यात्रुबाट मात्रै उठ्नेछ ।

यस्तै, क्यानले सन् २०२२/२३ सम्म आन्तरिक यात्रुको संख्या ५० लाख पुग्ने अनुमान गरेको छ । सन् २०२१ मा कोरोनाकै बीच पनि डेढ–दुई महिना उडान बन्द हुँदा पनि आन्तरिक हवाई यात्रु ३५ लाख ४१ हजार आठ सय ८८ पुगेका थिए । ५० लाख यात्रुलाई सेवा दिँदा प्रत्येक यात्रुको विमानस्थल सेवा शुल्क चार सय रुपैयाँ र यात्रु सेवा शुल्क औसतमा दुई सयका दरले लिँदा तीन अर्ब रुपैयाँ उठ्नेछ । अर्थात् आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुसँग गरेर विमानस्थल विकास शुल्क र यात्रु सेवा शुल्कबापत साढे आठ अर्ब रुपैयाँ संकलन हुने अनुमान गर्न सकिन्छ ।

यात्रुमा भार कति थपिन्छ ?
मन्त्रिपरिषद्बाट स्वीकृत भएर नयाँ नियमावली कार्यान्वयनमा आएपछि काठमाडौंबाट भैरहवा जाने हवाई यात्रुको टिकटमा चार सय विमानस्थल सेवा शुल्क र तीन सय यात्रु सेवा शुल्क गरी सात सय रुपैयाँ जोडिनेछ । त्यस्तै, भैरहवाबाट काठमाडौं फर्किंदा पनि सेवा शुल्क र यात्रु सेवा शुल्क गरी त्यति नै रकम तिर्नुपर्छ । तर, अहिले यात्रु सेवा शुल्क भनेर आउँदा–जाँदा दुई–दुई सय रुपैयाँ तिरे पुग्छ । देशभित्रै दुई ठूला विमानस्थलमा एकतर्फी आन्तरिक उडान गर्दा यात्रुले पाँच सय रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ । काठमाडौंबाट धनगढी गएर फर्किंदा एउटा हवाई यात्रुले काठमाडौंमा विमानस्थल सेवा शुल्क चार सय र यात्रु सेवा शुल्क तीन सय गरी सात सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, धनगढीबाट काठमाडौं फर्किंदा विमानस्थल सेवा शुल्क चार सय र यात्रु सेवा शुल्क दुई सय ५० गरी ६ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सुझावित समाचार