ललितपुरको पाटन क्षेत्रमा स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित सामग्रीको मेला आयोजना हुने भएको छ। महिलाले उत्पादन गरेका वस्तुहरूलाई प्रवर्धन गर्ने उद्देश्यसहित ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले उक्त मेला आयोजना गर्न लागेको हो।
१ सय १२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २७, २८ र २९ गते महिला उद्यमी मेला सञ्चालन गरिनेबारे वडाले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिले मेला आयोजना गर्न समन्वय गर्नेछन्।
स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवर्धन गरी महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने यस मेलाको मुख्य उद्देश्य रहेको ललितपुर– १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले बताए। उनले हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने जानकारी दिए। मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरूले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरू, दैनिक प्रयोगका सामग्रीहरू, खाद्य सामग्री, लत्ता कपडा र सजावटका सामग्रीहरूको गरी ५१ वटा स्टल नागबहालमा रहनेछन्। त्यसका साथै हस्तकलाका सामग्रीको सहुलियत दरमा बिक्री वितरण गर्ने स्टलहरू पनि रहने वडाले जनाएको छ।
हस्तकला महासंघ र ललितपुर उद्योग वाणिज्य संघले ललितपुरमा उत्पादित सामग्रीको प्रवर्धन गर्न अघि सारेको ‘मेड इन ललितपुर’को अवधारणाअनुरूप उक्त मेला आयोजना गर्न लागिएको हो । उक्त मेलामा हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाइने महासंघका उपाध्यक्ष रविन शाक्यले जानकारी दिए। उनका अनुसार हिरण्यवर्ण महाविहार परिसर इलाननीमा नेवाः खाजाका विविध स्टलहरू रहनेछन्। मेलाबाट नेवारी खाजाको ब्रान्डिङमा सहयोग पुर्याउने विश्वास गरिएको छ । तीनदिने मेलाको हरेक दिन सांगीतिक क्षेत्रका ख्याति प्राप्त कुटुम्ब ब्यान्ड र प्रोजेक्ट बाजाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। वडाद्वारा गत वर्ष फेसन डिजाइन सिलाईसम्बन्धी तालिम लिएकाहरूबाट ‘फेसन साे’, फोटोग्राफी र चित्रकलाको प्रदर्शनी पनि मेला अवधिभर हुनेछ। यससँगै वडाभित्र पर्ने अर्मूत संस्कृति, कला, सम्पदा संरक्षणको सन्देश प्रवाह गर्ने कार्यक्रम हुनेछ। नागबहालको भंसाछें सभाहलमा महिला उद्यमशीलताका चुनौती र अवसर, हस्तकला क्षेत्रमा महिला विषयमा प्यानल छलफल हुने वडाले जनाएको छ।
वडाले यस अघि २०७४ साल असोज ५ देखि ११ गतेसम्म दसैँ मेला, २०७५ साल चैत्र १३ गतेदेखि १७ गतेसम्म कला र संस्कृति महोत्सव, २०७६ फागुन १७ मा मंगलबजारमा युवा मेला सम्पन्न गरेको थियो।