रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सुत्केरी गराउन आएकी महिलाको पेटमै टाँका लगाउने सुई (निडल) छाडेर टाँका लगाइदिएका छन्।
सोही गाउँपालिकाका जितेन्द्रकुमार महतोकी श्रीमती अम्बिका कुमारीलाई सुत्केरी बेथाले च्यापेपछि आइतबार राति १२ बजे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। साधारण अप्रेसन गरेर बच्चा निकालेपछि डाक्टर र नर्सले टाँका लगाइदिए। अप्रेसनपछि पनि महिलाले दुखाइ कम नभएको बताएपछि स्वास्थ्य केन्द्रले राति नै उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल पठाए।
चन्द्रनिगाहपुरस्थित अस्पताल ल्याएपछि मात्र महिलाको पेटमा धागोसहितको सियो छुटेको पत्ता लागेको महिलाका श्रीमान् जितेन्द्रले बताए। स्वास्थ्य केन्द्रका डाक्टर सञ्जित साह आफैँले राति सुत्केरी महिलालाई गाउँपालिकाको एम्बुलेन्समा हालेर चन्द्रपुर अस्पताल पुर्याउन सहयोग गरेका थिए। डाक्टर साह र नर्सको लापरबाहीले आफूहरूले दुःख पाएको पीडित परिवारले गुनासो गरेको छ।