उच्च क्षमताको सिसिक्यामेरा थप्न सुझाव
टिकट र भिसाविना एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानभित्र पुगेको घटनामा विमानस्थलका सबैजसो सरकारी निकायको कमजोरी रहेको छानबिन समितिले औँल्याएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई आइतबार प्रतिवेदन बुझाउँदै समितिले सबै क्षेत्रको कार्यशैलीमा सुधार गर्न सुझाव दिएको छ ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउँदै सुधारका पाटा औँल्याएको हो । प्रतिवेदनमा सो घटनामा कुनै निकायको मिलेमतो भने नभएको उल्लेख छ । तर, त्यसमा बाहिरी पेरिमिटरको सुरक्षा जिम्मेवारी भएको नेपाली सेना, विमानस्थलभित्रको सुरक्षा जिम्मेवारी भएको नेपाल प्रहरी तथा नेपाल एयरलाइन्सको कमजोरी औँल्याएको छ ।
गत ९ फागुनमा सर्लाहीका हस्पिन आलम कोटेश्वरतर्फको पेरिमिटरबाट छिरेर कतार उड्न लागेको नेपाल एयरलाइन्सको विमानसम्म पुगेका थिए । तारबार च्यातिएको ठाउँबाट छिरेर उनी विमानसम्म पुगेको खुलेको छ । विमान सरसफाइ गर्ने वेला उनी विमानभित्र छिरेका थिए । सबै यात्रु चढिसकेपछि शंका लागेर सोध्दा उनी गैरकानुनी रूपमा छिरेको खुलेको थियो ।
घटनाले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कमजोरी बाहिरिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले बाहिरी पेरिमिटरलाई बलियो बनाउन सुझाव दिएको छ । साथै, पेरिमिटरका सबै क्षेत्र देखिने गरी उच्च क्षमताको सिसिक्यामेरा राख्न र नेपाल प्रहरीको कन्ट्रोलमार्फत २४ सै घन्टा नियमन गर्नुपर्ने सुझाव दिइएको छ ।
छानबिन समितिमा महासेनानी अनुप अधिकारी, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, प्रहरी उपरीक्षक वेद विष्ट, उपअनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए ।
गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताएका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ खाणले भनेका छन्, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’ विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको र यसका दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।