नाबालिका बलात्कार प्रकरण : अभियुक्तको पक्ष–विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा अनुसन्धान भइरहँदा आरोपका पक्ष–विपक्षमा भएका प्रचारबाजी र प्रदर्शनप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा अनुगमन र सूचना संकलन भइरहेको जनाएको छ।

‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ। अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

यस्ता गम्भीर प्रकृतिका फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष–विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियो रेकर्ड नगर्न र रेकर्ड गरिएका भिडियो सार्वजनिक नगर्न पनि आयोगले आग्रह गरेको छ।

सुझावित समाचार