रुसी ग्याँसमाथिको निर्भरता कम गर्ने उपाय खाेज्दै इटाली

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

सरकारले रुसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मंगलबार इटलीको संसदलाई जानकारी गराएका छन् । 
रुस–युक्रेनबीचको सैन्य द्वन्द्वका कारण युरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रुसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताएका हुन् । सरकारले सम्भावित इन्धन संकटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको  उनले बताएका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेसँगै इटालीलगायतका युरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ । इटालीको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्यांकहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रुसबाट आपूर्ति हुने गर्दछ । उनले भने, ‘रुसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।
 
इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ । रासस

सुझावित समाचार