युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ। बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने सर्त राखेको हो।
युक्रेनले दुई सर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरूले जनाएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए। उनले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए।
रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिनमा वार्ता भएको हो। वार्ता युक्रेन र बेलारुसको सीमा क्षेत्रमा भएको हो। रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो। रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन्। रासस/एएफपी