सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चा पार्टीले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनका अन्य दलले एमसिसी संसदबाट पारित गराउन षड्यन्त्र गरेको भन्दै गठबन्धनबाट अलग्गिने निर्णय गरेको हो।

एमसिसी पारित गराउन सरकारले अपनाएको मतदान प्रक्रियाको भर्त्सना गर्दै पार्टीले सरकारको यसप्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको भण्डाफोर गर्ने निर्णय गरेको छ।

‘एमसिसी सम्झौता संसदद्वारा षड्यन्त्रमूलक ढंगबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ। उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहीन ठहर गरेको छ। माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसिसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरिएको नौटंकी मात्र हो,’ सार्वजनिक निर्णयमा भनिएको छ।

एमसिसीविरुद्धको संघर्षलाई बढाउन फागुन १९ देखि २२ सम्म देशव्यापी विरोधसभाहरूसमेत गर्ने जनमोर्चाले निर्णय गरेको छ।

सुझावित समाचार