लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सद्भावना राजदूतमा नियुक्त भएकी छिन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नेपालले गायिका जोशीलाई सद्भावना राजदूतमा नियुक्त गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथाविरुद्ध सांगीतिक अभियान सञ्चालन गर्दै महिनावारीलाई मर्यादित बनाउन जोशीले योगदान गर्ने बताइएको छ। सेलिब्रिटीहरूले यस प्रकारका अभियानहरूमा आफ्नो कलामार्फत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने भएकोले गायिका जोशीलाई सद्भावना राजदूतमा नियुक्त गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।
सद्भावना राजदूतले विद्यार्थीहरू, ज्येष्ठ नागरिक, युवा, जनसमुदाय र अन्य सरोकारवालाहरूबीच विभिन्न माध्यमहरूमार्फत प्रचारप्रसार गर्ने बताइएको छ । जोशीले गायन, कन्सर्ट र स्टेज कार्यक्रम, टक साे, सामाजिक सञ्जाल, अन्तर्वार्ताहरूमार्फत महिनावारी व्यवस्थापनका सवालमा सचेनातामूलक सन्देश प्रवाह गर्ने जानकारी दिइन्। उनले भनिन्, ‘महिनावारीको विषयमा प्रदेश तथा केन्द्रस्तरमा सञ्चालन हुने कार्यक्रममा सहभागी भएर नीति निर्माता निर्णायक तहमा समेत महिनावारी व्यवस्थापनसम्बन्धी पैरवी गर्छु ।’
आफू पनि सुदूरपश्चिमकै भएको र महिनावारीसँग जोडिएका कुप्रचलनले लाखौँ आमा, दिदी बहिनीहरूले भोग्नुपरेको पीडासँग आफु निकै परिचित भएकोले पनि यस्तो अमानवीय कुसंस्कारविरुद्धको अभियानमा आफू लागिपर्ने उनको भनाइ छ ।
हाललाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केही गाउँपालिकाहरूमा सांगीतिक कार्यक्रममार्फत अभियान थालनी गर्ने उनले जानकारी दिइन् ।