भारत र श्रीलंकाका उच्च सैन्य अधिकारीहरूबीच पुनेमा छलफल भएको छ। दुई सैनिकबीच सम्बन्ध थप सुदृढ गर्नेलगायतका विषयमा फेब्रुअरी १० देखि १२ सम्म छलफल भएको भारतीय सेनाले जनाएको छ।
‘आर्मी टू आर्मी स्टाफ टक्स’ नाम दिइएको छलफलका लागि श्रीलंकाली सुरक्षा बलका अधिकारीहरू तीनदिने भारत भ्रमणमा थिए। उनीहरूबीच द्विपक्षीय, बहुपक्षीय अभ्यास सञ्चालन, सांस्कृतिक तथा खेलहरूको आदान–प्रदानलगायतका मूलभूत विषयमा छलफल भएको भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘विगतमा भएका सहमतिअनुसार कार्यान्वयन भएका विषयवस्तुमाथि छलफल भएको छ। आगामी दिनमा द्विपक्षीय सहकार्यका विषयहरूमा पनि घनीभूत छलफल भएको छ,’ भारतीय सेनाले भनेको छ। श्रीलंकाली सैन्यमण्डलले मिलिटरी इन्स्टिच्युट अफ टेक्नोलोजी, नेसनल डिफेन्स एकेडेमीको भ्रमण पनि गरेको थियो।
उनीहरूले कमान्डान्ट ता फ्याकल्टीहरूसँग तालिमका विषयवस्तुहरू तथा अभ्यासका विषयमा छलफल गरेका थिए। श्रीलंकाली सैनिक अधिकृतहरूले भारतीय सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार पनि गरेका बताइएको छ। उनीहरूबीच यो नवौँ बैठक बसेको हो। श्रीलंकाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल एचपी रणसिंघे तथा भारतीय सेनाको नेतृत्व मेजर जनरल अनिलकुमार कासिदले गरेका थिए।