ब्रिटेनका लागि युक्रेनका राजदूतले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को सदस्यता नलिएर रसियासँगको युद्ध रोक्न सक्ने बताएका छन् । राजदूत वादिम प्रिस्ताइकोले बिबिसीलाई बताएअनुसार रसियासँगको युद्ध रोक्नका लागि नेटोको सदस्यता लिने विषयमा युक्रेन ‘लचिलो’ हुन सक्छ । ‘हामीलाई, विशेषगरी त्यसरी धम्की दिइयो, ब्ल्याकमेल गरी त्यसतर्फ धकेलियो,’ प्रिस्ताइकोले भनेका छन्।
रसियाले युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ। समस्या समाधानका लागि हालसम्म गरिएका कूटनीतिक प्रयासहरू असफल भइरहेका वेला बेलायत र अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै आएका छन्।
रसियाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने गरी तयारी गरिरहेको पश्चिमा गुप्तचर एजेन्सीले दाबी गरेका छन्। तर, उक्त दाबीलाई रसियाले भने अस्वीकार गर्दै आएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले नेटोको सदस्यता लिएको अवस्थामा त्यसले युद्धको सुरुवात गर्ने बताउँदै आएका छन् ।
रसियाले युक्रेनमाथि आक्रमण गरे रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउने अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले बताएका छन् ।