मनाङमा भारी हिमपात : तापक्रम घटेर माइनस १२ डिग्रीमा झर्‍यो

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

हिमालपारिको जिल्ला मनाङमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर परेको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।  सदरमुकाम चामेमा समेत  तीन  फिट बाक्लो हिमपात भएको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी, चामे, दानक्युलगायतका ठाउँमा भारी हिमपात भएको छ । लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै खोला र धारामा समेत पानी  जमेको छ । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल मनाङले जनाएको छ ।  

हिमपातले किसान  खुसी

हिमपातले किसान  खुसी भएका छन् । मनाङकी स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए । एकैपटक नपग्लिने र बिस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान हुने र अन्नबालीको उत्पादन राम्रो हुने उनले बताए ।  

हिमपात हुँदा केही समस्या भए पनि खेतीका लागि राम्रो हुन्छ । हिउँले गर्दा स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको व्यवस्था गर्नुपर्दैैन । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढेकाले  सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

सुझावित समाचार