दुई दशकमा पनि सकिएन धोबी खोला करिडोर, सवा तीन अर्ब खर्च

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण
दुई दशकमा पनि सकिएन धोबी खोला करिडोर, सवा तीन अर्ब खर्च

धोबी खोला करिडोरमा स्थानीयले घर बनाउँदा निस्किएको माटो सडकमै थुपारेका छन् । तस्बिर : नयाँ पत्रिका

  • २९ वर्षपहिले भएको थियो आयोजनाको पहिचान
  • निर्माण नसकिँदै करिडोरको फुटपाथ अतिक्रमण
  • चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने आयोजना कार्यालयको भनाइ

निर्माण सुरु गरेका झन्डै दुई दशक बित्न लाग्दा पनि धोबी खोला करिडोरको काम सम्पन्न भएको छैन । थालनी गरिएको १९ वर्षमा करिडोर सुधार आयोजना सम्पन्न हुन अझै ५ प्रतिशत काम बाँकी रहेको छ । काठमाडौं महानगरपालिकाले १७ वैशाख ०५९ सालमा सुरु गरेको आयोजना निर्माणमा तीन अर्ब ३० करोड खर्च भइसकेको छ । थालनीमा यो काम सक्न तीन अर्ब ७५ करोड बजेट स्टमेट गरिएको थियो । आयोजना थालनी गर्दा ११ किलोमिटर भए पनि अहिले यो करिडोरको लम्बाइ बढेर २४ किलोमिटर पुगेको छ । आयोजनामा बजेट विनियोजन गर्न नसक्ने कारण देखाएर महानगर पछि हटेपछि २ पुस ०६४ मा काठमाडाैं उपत्यका विकास प्राधिकरणलाई करिडोर निर्माणको जिम्मा दिएको हो । आयोजनाको थालनी गर्दा धोबी खोलाको करिडोर खोल्ने र वरिपरि ल्यान्ड पुलिङ गर्ने लक्ष्य थियो ।
 
आयोजनाको पहिलो र दोस्रो खण्ड सम्पन्न, तेस्रोमा चालू आवभित्र सक्ने 
पहिलो खण्डअन्तर्गत बागमती दोभानदेखि चाबहिल चक्रपथमा पर्ने बैजनी पुलसम्म ट्रयाक खोल्ने काम भइसकेको छ । खोलाको दुवैतर्फ साढे पाँच किलोमिटर गरी कुल ११ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको सडक निर्माण गरिएको छ । दोस्रो खण्डअन्तर्गत भने बैजनी पुलदेखि कपन भंगालमा रहेको पुलसम्म खोलाको दुवैतर्फ चार किलोमिटर गरी कुल आठ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइ सडकको काम पनि सम्पन्न भइसकेको आयोजना प्रमुख दिनेशकृष्ण पोतले जानकारी दिए । तेस्रो खण्डमा कपन भंगाल पुलदेखि राममन्दिर क्षेत्रसम्मको सडक पर्छ । यसको लम्बाइ साढे दुई किलोमिटर दुवैतर्फ गरी पाँच किलोमिटर छ । त्यसमध्ये साढे चार किलोमिटर सम्पन्न भइसकेको छ । ‘बाँकी रहेको चार सय ४० मिटरमा अहिले ठेक्का लागेर काम भइरहेको छ भने ६० मिटरमा भने तीनवटा घर र जग्गा प्राप्त नभएकाले रोकिएको छ,’ आयोजना प्रमुख पोतेले भने । समन्वय गरेर ती घर र जग्गा प्राप्त गर्ने कोसिस भइरहेको उनको भनाइ छ । अहिले पहिलो र दोस्रो खण्डको पूरै र तेस्रो खण्डको ८० प्रतिशत सडकमा सवारीसाधन गुड्ने उनले बताए । तर, समस्या भएको र निर्माण भइरहेको ठाउँमा भने दुईपांग्रे मात्र पास हुने अवस्था छ । त्यसबाहेक बिजुलीबजार पुलको अन्डर पास मिलाउन बाँकी रहेको छ ।  

२९ वर्षपहिले भएको थियो आयोजनाको पहिचान
धोबी खोला करिडोर सुधार आयोजनाको पहिचान २९ वर्षपहिले भएको थियो । सन् १९९३ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले यो करिडोरको पहिचान गरेको हो । सहरी क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने उपायका रूपमा यो करिडोरलाई अघि बढाउने उल्लेख थियो । त्यसै प्रतिवेदनलाई आधार बनाएर ०५९ सालदेखि यो आयोजनाको निर्माण थालिएको हो । धोबी खोला करिडोर सुधार आयोजनाले भने नियमित बजेट भने ०६७ सालदेखि मात्र हुन थालेको जानकारी दिएको छ । सहरी यातायात व्यवस्थापनमा यो करिडोर प्रभावकारी हुने अध्ययनले देखाएको थियो । आयोजनाले गर्नुपर्ने पहिलो काम खोला–किनारबाट दुवैतर्फ नौ मिटरको करिडोर (सडक) निर्माण गर्नु हो । त्यसमध्ये ६० सेन्टिमिटर हरियाली (ग्रिनरी)का लागि छुट्याउने र साढे एक मिटर फुटपाथका लागि छुट्याएको छ । बाँकी रहेको सात मिटरमा भने दुई लेनको सडक संरचना तयार गरिएको छ ।
 
आयोजनाले भोगेका समस्या
आयोजनाको क्षेत्रभित्र सहमति नै नलिई सडक खन्ने काम भइरहेको छ । विशेष गरी मेलम्ची खानेपानीले बाटो खन्ने र निर्माण नगर्ने समस्या रहेको आयोजना प्रमुखले बताए । ‘हामीले मेलम्चीलाई चिठी पनि लेख्याैँ, तर कुनै प्रक्रिया आएन,’ उनले भने । सोही कारण ठाउँ–ठाउँमा सडक मर्मत गर्नुपर्ने भएको छ । त्यस्तै, फुटपाथको अतिक्रमण बढेको छ । यसबाहेक विभिन्न १० ठाउँमा पुल निर्माणको काम भइरहेको छ । त्यसमा कुनै समन्वय भएको छैन । अहिले कपनस्थित राममन्दिरको पारिपट्टि पहिरो गएकाले ट्र्याक खोले पनि चार मिटरको मात्र बाटो छ । त्यसलाई नौ मिटर कायम गर्नुपर्नेछ । त्यस क्षेत्रमा पर्खाल लगाउने ठेक्का लगाएको छ । त्यस्तै, निलो पुल क्षेत्रमा तीनवटा घर र एउटा जग्गाले करिडोरका लागि ठाउँ छोडेको छैन । यो समस्या समाधान भएपछि चाडोमा चालू आव ०७८/७९ भित्रै सम्पन्न हुने आयोजना कार्यालयको भनाइ छ । 

जग्गा प्राप्तिमा कति भयो खर्च ?
धोबी खोला करिडोर सुधार आयोजना कार्यालयका अनुसार कुल खर्चको १५ प्रतिशत मात्र जग्गा प्राप्तिमा खर्च भएको छ । यसअनुसार करिब ५० करोड रुपैयाँ जग्गा प्राप्तिमा खर्च भएको छ । आयोजनाले विस्थापित हुनेलाई मात्र मुआब्जा दिने नीति लिएकाले धेरै खर्च नभएको आयोजना प्रमुख पोतेको भनाइ छ । तर, अझै प्राप्त गर्न बाँकी रहेका तीनवटा घर र जग्गाका लागि थप मुआब्जा खर्च हुने सम्भावना छ ।  

आयोजना ढिलाइका पाँच कारण 
आयोजना ढिलाइ हुनुको मुख्य कारण आयोजना स्थलमा पर्ने जग्गा समयमा प्राप्ति गर्न नसक्नुका साथै संरचना हटाउन नसक्नु रहेको छ । आयोजना थालनी भएको ०५९ सालदेखि पाँच वर्ष सात महिनासम्म काठमाडौं महानगरपालिकाले आयोजना ‘होल्ड’ गरेर राखेको देखिन्छ । महानगरले थालनीमा जग्गाधनीलाई मुआब्जा नदिई जग्गा एकीकरण (ल्यान्ड पुलिङ)मार्फत आयोजना अगाडि बढाउने प्रयास ग¥यो । तर, महानगरले त्यो विधिमार्फत जग्गा प्राप्त गर्न सकेन । त्यत्रो समय मात्र खर्च भएको धाबी खोला करिडोर सुधार आयोजना प्रमुख दिनेशकृष्ण पोतेले बताए । महानगरले आयोजना निर्माण गर्न नसक्ने भएपछि ०६४ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आयोजना जिम्मा लगायो । प्राधिकरणले आवश्यक पूर्वतयारी गरेर आयोजनालाई कार्यान्वयनमा अगाडि बढाए पनि तीन वर्षसम्म प्रशासनबाहेक पुँजीगत बजेट नहुँदा खासै प्रगति भएन । बल्ल ०६७ सालदेखि मात्र यो आयोजनामा नियमित रूपमा विकास बजेट विनियोजन थालिएको धाबी खोला करिडोर सुधार आयोजना प्रमुख दिनेशकृष्ण पोतेको भनाइ छ ।  

आयोजना निर्माण ढिलाइको दोस्रो कारण मुआब्जा दिएर व्यक्तिको जग्गा प्राप्त गर्न र व्यक्तिले बनाएका संरचना भत्काउन समय लागेकाले हो । जग्गा एकीकरण गर्ने प्रयास सफल नभएपछि व्यक्तिको जग्गा र नदी उकासको जग्गा लिएर आयोजना अघि बढाउने विधि प्राधिकरणले अपनायो । तर, व्यक्तिले मुआब्जा उच्च माग्ने र संरचना भत्काउन नमान्दा लामो समयसम्म खासै प्रगति नभएको आयोजना प्रमुख दिनेशकृष्ण पोतेको भनाइ छ । ‘समन्वय गर्ने र सहमतिमा ल्याउन कठिन हुँदा अपेक्षित प्रगति भएन,’ उनले भने । अर्कोतर्फ त्यसवेला खोलाको वहाब परिवर्तन भइरहेका कारण पनि प्रगति नभएको उनले बताए । 

आयोजना ढिलाइको तेस्रो कारण न्यून बजेट रहेको छ । आयोजनाका इन्जिनियर सज्जन कुँवरका अनुसार आयोजनालाई ठेक्का लगाउन अर्ब रुपैयाँ चाहिन्थ्यो । ‘तर, आयोजनालाई २५ करोड, ३५ करोड, ४२ करोड विनियोजन गरिन्थ्यो, यसले पनि समयमा ठेक्का लगाउन पाइएन,’ उनले भने । सडकलाई एउटै ठेक्कामा कालोपत्रे गर्ने काम दिनसमेत नसकिएको र पहिले ग्राभेलको एउटा ठेक्का र पछि कालोपत्रेका लागि अर्को ठेक्का निकाल्नुपरेको आयोजनाका अधिकारीहरूको अनुभव छ । 

आयोजना ढिलाइको चौथो कारण भने थालनीमा बागमती दोभानदेखि चाबहिल चक्रपथमा रहेको पुलसम्म ११ किलोमिटर मात्र करिडोर सुधार गर्ने भन्ने योजना थियो । त्यो पहिलो चरणको आयोजना करिब चार वर्षपहिले नै सम्पन्न भएको आयोजना प्रमुख पोतेको भनाइ छ । तर, त्यसपछि आर्थिक वर्ष ०७१/७२ मा दोस्रो खण्डका रूपमा बैजनी पुलदेखि कपन भंगालमा रहेको पुलसम्म खोलाको दुवैतर्फ गरी कुल आठ किलोमिटर थपियो । त्यसपछि पनि अन्तिमपटक तेस्रो खण्डका रूपमा आव ०७३/७४ मा कपन भंगालमा रहेको पुलदेखि कपनको राम मन्दिर क्षेत्रसम्मको दुवैतर्फ साढे दुई किलोमिटर गरी कुल पाँच किलोमिटर थपियो । यसले गर्दा पनि आयोजना ढिलाइ भएको आयोजना प्रमुखको भनाइ छ । 

आयोजना ढिलाइको पाँचौँ कारण सडक र ढलको काम फरक निकायले गर्नु रहेको छ । आयोजनाको तेस्रो खण्डमा बाहेक २० किलोमिटर सडकको ढल निर्माण अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको हो । आयोजना कार्यालयका अनुसार दुवै निकायबीच समन्वयको अभाव र बजेट र काम गराइको असन्तुलनले पनि आयोजना ढिलाइ हुन सहयोग पुगेको हो । पछिल्लो चार किलोमिटर ढल भने आयोजनाले नै निर्माण गरेको छ ।

मापदण्ड परिवर्तन गरेपछि जग्गा अतिक्रमण बढ्यो
०५० सालसम्मको मापदण्डमा खोला–किनारदेखि २५ मिटरसम्म जग्गा छोड्नुपर्ने व्यवस्था थियो । तर, पछि ०६५ सालमा मापदण्ड परिवर्तन गरी नौ मिटरमा झारियो । त्यसबाहेक संरचना भने थप डेढ मिटरदेखि दुई मिटरसम्म छाडेर निर्माण गर्न पाउने व्यवस्था भयो । त्यसले खोलावरिपरिको क्षेत्रफल घटाउँदै गयो भने अतिक्रमण बढ्यो । ०५० कै मापदण्ड रहेको हुन्थ्यो भने करिडोर विस्तार र सुधार गर्न कुनै कठिनाइ नै हुने थिएन । 

अतिक्रमणलाई रोक्नका लागि सार्वजनिक सूचना पत्रिकामा निकाल्ने तयारीमा विकास प्राधिकरण छ । प्राधिकरणले कार्ययोजना बनाउन सुरु गरेको छ । करिडोरमा पर्ने १३ वटा वडालाई समन्वय गरी कार्यदल बनाएको र त्यसले छलफल गरी निष्कर्षमा पुग्ने योजना छ । त्यसबाहेक सिसिटिभी क्यामरा राख्ने भन्ने विषयमा पनि छलफल भइरहेको आयोजना प्रमुख पोतेको भनाइ छ ।

फुटपाथमा विद्युत् प्राधिकरणले अमानवीय ढंगले संरचना बनाएको छ : रामकुमारी झाँक्री सहरी विकासमन्त्री

धोबी खोला करिडोर सुधार आयोजना निर्माण थालनी गरिएको १९ वर्षमा पनि पूरा नहुनुको कारण के रहेछ ? 
करिडोरका लागि आवश्यक ‘राइट अफ वे’ नै नभएर यो आयोजना ढिलाइ भएको देखियो । अझै पनि केही ठाउँमा जग्गा प्राप्ति गर्न बाँकी रहेको अनुगमन गर्दा थाहा भयो । अब राइट अफ वे नै नभएपछि ठेकेदारले काम नगर्ने भयो । म्याद थप्दै जाँदा धेरै समय लाग्यो । यसले गर्दा यो आयोजना समस्याग्रस्त भएर बस्यो र धेरै समय लाग्यो । चालू आर्थिक वर्षमा सम्पन्न गर्न सबै प्रकारको प्रयत्न गरिनेछ । 

करिडोर सुधार आयोजनाको अनुगमन के उद्देश्यले गर्नुभएको हो ?
बागमती वा धोबीखोला करिडोर खोले पनि अन्य ठाउँको ट्राफिक डाइभर्ट गर्छ भनेर ठूलो सडक बनेको हो । तर, फुटपाथमा पसल, निर्माण सामग्री, गमला, टेबल–कुर्सी, पार्किङ गर्ने ठाउँका रूपमा प्रयोग हुँदा सवारीसाधन पास नै नहुने अवस्था भयो । यसकारण सडकमा निषेध गरिएका, तर भइरहेका कामलाई सचेत गराउन अनुगमन गरिएको हो । आगामी दिनमा थप कदम चाल्नेछाैँ । 

पहुँचवाला व्यक्तिले सार्वजनिक सम्पत्तिकै प्रयोग गरेर जमिनको अतिक्रमण गरेका छन्, मन्त्रालयले अध्ययन गराउने तयारी गरेको छ । 

समन्वयको ठूलो समस्या देखियो, आउने दिनमा कसरी अघि बढ्नुहुन्छ ? 
सडकमा सबै जोडिन आइपुग्छन् । खानेपानी, विद्युत्, ढल, टेलिकम सबैको सरोकार रहेको हुन्छ । तर, एक–अर्कासँग समन्वयको अभावले धेरै समस्या देखिएका छन् । कसैले पनि संरचना बनाउँदा समन्वय गरेर गर्ने प्रक्रिया अघि बढाउनुपर्नेछ । संरचना कानुनविपरीत बनाएको खण्डमा कारबाहीमा पनि जानेछौँ । 

सहरी क्षेत्रमा जहाँ पनि जमिनको अतिक्रमण हुने गरेको छ । यसलाई रोक्न के गर्नुहुन्छ ?
पहुँचवाला व्यक्तिले सार्वजनिक सम्पत्तिकै प्रयोग गरेर जमिनको अतिक्रमण गरेका छन् । मन्त्रालयले एउटा अध्ययन गराउने तयारी गरेको छ । कसले कति र कहाँ अतिक्रमण गरेको छ । त्यसले पत्ता लगाउनेछ । त्यसरी अध्ययनबाट आएको व्यक्तिलाई कारबाहीका लागि अख्तियारमा नाम पठाइनेछ । 

सडक–पेटीमा विद्युत् प्राधिकरणले ठूला बक्स संरचना बनाएको देखियो । त्यसले बटुवा हिँड्ने ठाउँ नै दिएन । त्यसलाई हटाउनुहुन्छ ? 
प्राधिकरणका इन्जिनियरले पढेरै आउनुभएको होला । तर, फुटपाथ ढाकेर प्राधिकरणले संरचना बनाएको छ । त्यो अमानवीय छ । अशक्त र फरक क्षमता भएका मानिसका लागि हिँड्नुपर्छ भन्ने विषय त्यो संरचनाले बिर्साएको छ । यसले इन्जिनियरिङमा मानवीय पक्षलाई हेर्ने कोर्स नै नभएको जस्तो लाग्यो । प्राधिकरणसँग बसेर यसको प्राविधिक पक्षबारे पनि छलफल गर्छौँ । यस विषयमा मन्त्रालय र विकास प्राधिकरणसमेत बसेर समन्वय गर्छौँ ।  

करिडोरहरूलाई पार्किङका रूपमा अत्यधिक प्रयोग गरेको देखिन्छ । ग्यारेजजस्तो बनेका छन् । यसलाई रोक्न के गर्नुहुन्छ ? 
हामीले ट्राफिक प्रहरी, नगर प्रहरी, उपत्यका विकास प्राधिकरण र सहरी विकास मन्त्रालय सँगसँगै काम गरिरहेका छौँ । स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गर्नेछौँ । पार्किङ स्थल बनाउने विषयलाई निषेध गर्नेछौँ । अब बिस्तारै रोड मार्किङ, लाइट राख्ने कामलाई पनि अघि बढाउनेछौँ । डेडिकेटेड प्रहरी नै राखेर जाने सोचेका छौँ । 

 करिडोरबाहेक अन्य महत्वपूर्ण आयोजनामा कत्तिको निगरानी राख्नुभएको छ ? 
मन्त्रालयमा आएपछि नयाँ टिम बनाएर सबै महत्वपूर्ण आयोजनालाई समेटेर अनुगमनलाई प्रभावकारी बनाउने कोसिस गरिरहेका छौँ । सबै आयोजना कार्यालयहरूमा नै पुगेर बुझ्ने काम गरेका छौँ । पछिल्लो तीन महिनादेखि हामीले कसरी अघि बढ्ने भनेर तयारी गरेका छाैँ । अब कार्यान्वयनको चरणमा प्रवेश गरेका छौँ । 

नदी–किनारको सुकुमवासी बस्तीको व्यवस्थापनका लागि के गर्दै हुनुहुन्छ ? 
हामीले सूचनाहरू जारी गरेका छौँ । उहाँहरूलाई केही वैकल्पिक कुराहरू पनि दिने भनेका छौँ । हाम्रो संयन्त्रले उनीहरूसँग समन्वय गर्नेछ । संवाद गरेर व्यवस्थापन गर्ने कुरामा लागेका छौँ । 

सुझावित समाचार