काठमाडौं । मंसिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इनोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ। आइसिटी अवार्ड २०२६ को प्रिइभेन्टको रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआई कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो। स्टार्टअप फेस्टको यो सातौँ संस्करण हो।
काठमाडाैं । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुन लागेको फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाहरू सहभागी हुनेछन्। फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका उत्पादन, सेवा र परियोजनाहरू प्रदर्शनी गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता पनि आयोजना हुनेछन्। यसले विद्यार्थी, युवा उद्यमी तथा प्रविधिमा रुचि राख्नेहरूलाई आफ्ना सिर्जना प्रदर्शन गर्ने, नयाँ सिप र अवसरबारे जानकारी लिने तथा रोजगारी र इन्टर्नसिपका अवसर खोज्ने मञ्च प्रदान गर्नेछ।
यसैगरी यस वर्ष प्रदर्शनीसँगै स्टार्टअपसम्बन्धी कन्फरेन्सको पनि आयोजना हुनेछ। ‘स्टार्टअप पल्स’ सेसनमा केही महत्त्वपूर्ण कि–नोट, प्यानल सेसन र आइडिया पिचिङ सञ्चालन हुने बताइएको छ। स्टार्टअप इकोसिस्टमको विकाससम्बन्धी प्यानल छलफल र प्रस्तुतिहरू रहनेछ। स्टार्टअप लगानीकर्ता, भिसी र उद्यमीलाई कनेक्ट गर्ने उद्देश्यले फेस्टमा स्टार्टअप लौन्जको व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताहरू फेस्टमा अवलोकन गर्दै नेटवर्किङ र मिटिङ गर्न सक्नेछन्।