उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

पीडितको किटानी जाहेरी लिन अस्वीकार गरेको प्रहरीले उल्टै पीडितविरुद्ध पीडकले दिएको निवेदन तत्काल दर्ता मात्रै गरेन, पीडितलाई पक्रिन घरमै पुग्यो

बोक्सी आरोपमा पाँच पुरुषबाट कुटिएकी वकिला खातुनको याचना–देशमा कानुन छ भने न्याय चाहियो

२८ पुसको राति ओछ्यानबाटै निकालेर कुटपिट गरे । घिसारेर कुट्दै उसको (मगनी) घरसम्म पुर्‍यायो । छिमेकी दिदीबहिनीले जोगाए । छिमेकी भनेर अन्याय सहेरै बसेँ । ३ माघमा बिहानै फेरि लाठीमुंग्रीसहित आएर आक्रमण गरे । मेरो घरमा आएर जादुटुना गरेको भन्दै पाँचजनाले कुटे । होरिल साहले मेरो कपाल समातेर लछारपछार ग¥यो । मेरो आँखा झन्डै फुटाएका थिए, चोटले रगत जमेको छ । मलमूत्रसमेत खुवाउन खोजेका थिए, तर छिमेकी महुवा मियाँले जोगाउनुभयो । दुई साता भइसक्दा पनि प्रहरी किटानी जाहेरी लिन मान्दैन । बोक्सी आरोप लगाएर कुटपिट गरेका छन्, तर प्रहर मुख्य विषय नै हटाएर निवेदन ल्याउन भन्छ । यो उमेरको मलाई गाउँका सारा मानिसको माझमा बोक्सी भनेर अपमान गरेका छन् । कुटपिट गरेका छन् । देशमा कानुन छ भने मलाई न्याय चाहियो ।

सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको छ । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन भने तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि झन् असुरक्षित बनेका छन् । 

वकिला घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्छिन् । छिमेकी ४० वर्षीय मगनी साह उनको पसलमा खाइरहन्थे । तर, उधारो खाएको ५० रुपैयाँ नतिरेको धेरै नै भइसकेको थियो । २८ पुसमा वकिलाले मगनीको घरमै पुगेर पैसा मागिन्, तर मगनीले पैसा दिएनन्, झपारेर पठाए । 

त्यसै दिन राति १० बजिसकेको थियो, वकिला ओछ्यानमा पल्टिसकेकी थिइन् । मगनी अन्य केही व्यक्ति लिएर वकिलाको घरमा पुगे । ‘तँ बोक्सी’ भन्दै लछार्दै घरबाट निकाले । आँगनबाट पनि घिसारेर कुटपिट गर्दै आफ्नो घरको आँगनसम्म पुर्‍याए । मरणासन्न वकिला चिच्याएपछि उठेका केही छिमेकी महिलाले उनलाई छुटाएर घर ल्याए । बोक्सीको गम्भीर आरोप लगाएर निर्घात कुटपिट गर्दा पनि ‘छिमेकी मर्दापर्दा चाहिन्छ’ भनेर वकिलाले सहिन् । 

२ माघको बेलुका वकिला पुनः पैसा माग्न मगनीको घर पुगिन् । तर, मगनीले अघिल्लोपटक जस्तै गाली गरेर घरबाट धपाए । उनले त्यति मात्रैै गरेनन्, भोलिपल्ट ३ माघमा ३० वर्षीय भाइ होरिल साह, छिमेकी ४५ वर्षीय नुनु साह, नुनुका छोरा २५ वर्षीय जितकुमार साह र अर्का छिमेकी २१ वर्षीय सुनील साहसमेत लाठीमुंग्रीसहित वकिलाको घरमा पुगे । उनीहरूले कपाल लुछ्दै ‘टुनामुना गर्ने बोक्सी’ भनेर निर्घात हुन्जेल कुटपिट गरे । 

बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादव भन्छन्–कुटपिटको मात्रै घटना भनेर फर्काएको होला, बोक्सी आरोपमा कुटपिट हो भने तत्कालै मुद्दा दर्ता हुन्छ

कुटपिटको विषय आएको थियो । यस्तोमा उजुरी तत्कालै दर्ता गर्न सकिने भए पनि मुद्दाका रूपमा दर्ता गर्न पहिला घाउ जाँच हुनुपर्छ । त्यसैले फर्काएको होला । बोक्सीको आरोपमा कुटपिट हो भने त जघन्य अपराध हो । यसमा तत्काल मुद्दा दर्ता गर्न सकिन्छ । यसमा म आफैँ सक्रिय भएर यथार्थ बुझ्छु ।

‘२८ पुसको राति ओछ्यानबाटै निकालेर कुटपिट गरे । घिसारेर कुट्दै उसको (मगनी) घरसम्म पुर्‍यायो । छिमेकी दिदीबहिनीले जोगाए । छिमेकी भनेर अन्याय सहेरै बसेँ,’ वकिलाले भनिन्, ‘३ माघमा बिहानै फेरि लाठीमुंग्रीसहित आएर आक्रमण गरे । मेरो घरमा आएर जादुटुना गरेको भन्दै पाँचजनाले कुटे । होरिल साहले मेरो कपाल समातेर लछारपछार ग¥यो । मेरो आँखा झण्डै झुटाएका थिए, चोटले आँखामा रगत जमेको छ । मलमुत्र समेत खुवाउन खोजेका थिए तर, छिमेकी महुवा मियाँले जोगाउनु भयो ।’ 

आमालाई छुटाउन खोज्दा छोराहरू २८ वर्षीय महबुब र ४० वर्षीय जोहुर पनि घाइते भएका छन् । महबुबको आँखाको डिलमा अझै पनि नीलडाम छ । स्थानीय कलामु नेसाका अनुसार घटना भएको एकैछिनमा वरिपरिका मान्छे भेला भएपछि मगनीको समूह पछि हटेको थियो । 

पीडित वकिलाको घरबाट हरकठवा प्रहरी चौकी एक किलोमिटर दूरीमा छ । घटनालगत्तै वकिलाका छोराहरू महबुब र जोहुर उजुरी गर्न प्रहरी चौकी हिँडेका थिए । तर, मगनीको समूहले बाटोमै छेकेर कुटपिट गरेको पीडितको गुनासो छ । त्यसपछि उनीहरू आमा र गाउँका एक सहयोगी लिएर किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय बरहथवा पुगे । तर, जाहेरीको बेहोरामा बोक्सी शब्द हटाएपछि मात्रै निवेदन दर्ता हुने भन्दै प्रहरीले फर्काएको वकिलाले बताइन् ।

जब कि त्यसको भोलिपल्ट ४ माघमा उल्टै वकिला र उनका छोराहरूविरुद्ध मगनी साह पक्षले इलाका प्रहरी कार्यालयमै निवेदन दिए । उक्त निवेदन तत्काल दर्ता मात्रै भएन, वकिला र उनका छोराहरूलाई पक्राउ गर्न प्रहरी घरमै आयो । छिमेकीले पीडितलाई प्रहरीले झन् पीडित बनाउन खोजेको भन्दै विरोध गरेपछि प्रहरी त्यसै फर्किएका थियो ।

त्यसपछि पीडितहरू ७, ९ र १० माघमा जिल्ला प्रहरी कार्यालय धाए । तर, तीनैपटक मुद्दा इलाका प्रहरीले नै दर्ता गर्ने भन्दै जिल्लाबाट फर्काइदिएको पीडितको गुनासो छ । तर, शुक्रबारसम्म कतै पनि जाहेरी दर्ता भएको छैन । 

‘बोक्सी आरोप लगाएर कुटपिट गरेका छन् । तर, प्रहरीले मुख्य विषय नै हटाएर निवेदन ल्याउन भन्यो । हामी त्यसै फर्कियौँ,’ वकिलाले भनिन्, ‘यो उमेरको मलाई गाउँका सारा मानिसको माझमा बोक्सी भनेर अपमान गरेका छन् । कुटपिट गरेका छन् । देशमा कानुन छ भने मलाई न्याय चाहियो ।’

बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादव कुटपिटको घटनामा किटानी जाहेरी आएकाले घाउ जाँच गरेपछि मात्रै मुद्दा दर्ता गराउन सकिने बताएको तर्क गर्छन् । तर, बोक्सीको आरोपजस्तो जघन्य अपराधको विषय हो भने छिटै सत्यतथ्य बुझेर मुद्दा दर्ता गर्ने उनले बताए । 

‘कुटपिटको विषय आएको थियो । यस्तोमा उजुरी तत्कालै दर्ता गर्न सकिने भए पनि मुद्दाको रूपमा दर्ता गर्न पहिला घाउ जाँच हुनुपर्छ । त्यसैले फर्काएको होला,’ उनले भने, ‘बोक्सीको आरोपमा कुटपिट हो भने त जघन्य अपराध हो । यसमा तत्काल मुद्दा दर्ता गर्न सकिन्छ । यसमा म आफैँ सक्रिय भएर यथार्थ बुझ्छु ।’

तीन दिनसम्म धाएपछि जिल्ला प्रहरीले १० माघमा पीडितको घाउ जाँच गर्न एक एनजिओ महिला सेल्टरको जिम्मा लगाइदिएको थियो । स्वास्थ्य जाँच रिपोर्ट प्रहरी महिला सेलमा बुझाइसकेको महिला सेल्टर स्रोतले बतायो । तर, आफूसम्म उक्त रिपोर्ट नआएको बरहथवा इलाकाका डिएसपी यादव बताउँछन् । 

पीडित परिवारले भने अहिले पनि मगनीको समूहले गाउँबाट विस्थापित गर्ने धम्की दिइरहेको गुनासो गरेका छन् । ‘मुद्दा–मामला गरे गाउँबाटै विस्थापित गरिदिने धम्की आइरहेको छ । तर, प्रहरीले नै हामीमाथि अन्याय गरेको छ । घरमै आएर कुट्नेले जे पनि गर्न सक्छ । हामी त्रासमा छौँ,’ वकिलाका छोरा महबुबले भने ।

See More On

सुझावित समाचार