मौरिससमा गान्धीका नाममा रेल्वे स्टेसन

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

हिन्दू बाहुल्य जनसंख्या भएको अफ्रिकी मुलुक मौरिससले भारतसँग सम्बन्ध सदभावनाका लागि एउटा मेट्रो स्टेसन महात्मा गान्धीका नाममा समर्पण गर्ने निर्णय गरेको छ । भारतीय सहयोगमा निर्माण भएको मेट्रो एक्सप्रेस परियोजनाको नाम महात्मा गान्धी स्टेसन राखेर सहयोगप्रति कृतज्ञता जनाएको प्रधानमन्त्री प्रविन्द जगन्नाथले बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मौरिससका प्रधानमन्त्री जगन्नाथ कुमारबीच भएको भर्चुअल बैठकमा जगन्नाथले यो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  मौरिसस प्रमुख साझेदार सामुद्रिक साझेदार रहेको चर्चा गर्दै दुई प्रधानमन्त्रीले उक्त क्षेत्रमा सबैका लागि सुरक्षा र विकास अपरिहार्य रहेकोमा जोड दिएका छन् । 

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा मौरिससमा सामाजिक आवास एकाइ परियोजनाको उद्घाटन गरे भने मौसिससमा निर्माण हुन लागेको सिभिल सर्भिस कलेज र आठ मेगावाटको सोलार पिभी फार्म परियोजनाको पनि शिलान्यास गरे ।प्रधानमन्त्री मोदीले मित्र मुलुकहरूको आवश्यकता र प्राथमिकताहरू र सार्वभौमसत्ताको सम्मान गर्दै भारतको विकास सहायता थप सुदृढ बनाउने बताए । उनले एकै साथ जनताको कल्याण र देशको क्षमतालाई बलियो बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । 

भारत सरकारले मे २०१६ मा मौरिसस सरकारलाई विशेष आर्थिक प्याकेजका रूपमा मौरिसस सरकारद्वारा पहिचान गरिएका पाँच प्राथमिकता परियोजनाहरू कार्यान्वयन गर्न ३५ करोड ३० लाख अमेरिकी डलर अनुदान विस्तार गरेको थियो । मेट्रो एक्सप्रेस परियोजना, सर्वोच्च अदालत भवन, नयाँ इएनटी अस्पताल, प्राथमिक विद्यालयका बालबालिकालाई डिजिटल ट्याब्लेटको आपूर्ति, सामाजिक आवास परियोजनामा अनुदान केन्द्रित गरिएको थियो । सबै आयोजना कार्यान्वयनमा आइसकेका छन् । यहीमध्येको एक मेट्रो एक्सप्रेस परियोजना गान्धीका नाममा राखिएको हो ।  ‘मेट्रो एक्सप्रेस परियोजनाका लागि भारतको सहयोगका लागि कृतज्ञता व्यक्त गर्न, मेरो सरकारले एउटा प्रमुख मेट्रो स्टेसनको नाम महात्मा गान्धी स्टेसन राख्ने निर्णय गरेको छ,’ प्रधानमन्त्री जगन्नाथले भर्चुअल बैठकमा भने । 

सुझावित समाचार