अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ । दराज नेपालमा पहिलो महिला प्रबन्ध निर्देशकका रूपमा नियुक्त गरिएको सूचना दराजका सिइओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा घोषणा गरेका हुन् ।
प्रबन्ध निर्देशकमा नियुक्त भएपछि कुँवरले नेपालीका लागि विश्वस्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेसेवरहरूको समूहको नेतृत्व गर्ने अवसर पाएको बताइन् । यो अवसरका लागि विशेषाधिकार र सम्मानित महसुस गरेको उनको भनाइ छ । नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिने उनको भनाइ छ ।
उनले भनिन्, ‘म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूका लागि वान–स्टप समाधानका रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु । डरजियनका रूपमा, हामी हाम्रा बलिया मूल्य–मान्यताहरू र कमर्सको शक्तिमार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यमा लाग्ने कार्य जारी राख्नेछौँ ।’
कुँवरले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बिएस सकेर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेको कम्पनीले जनाएको छ । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजनजस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेको अनुभव रहेको जनाइएको छ । उनले स्विडेन, पोल्यान्ड, साउदी अरब र इजिप्टजस्ता देशहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेको कम्पनीले जनाएको छ ।
अमेरिकामा लामो र सफल करिअरपछि कम्पनीले वृद्धिको नयाँ चरणमा प्रवेश गरेका वेला आँचलले दराज नेपालको नेतृत्व गरेको कम्पनीको भनाइ छ । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।
दराज समूहका सिइओ र संस्थापक बियार्के मिक्केलसेनले भने, ‘हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र विक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो । म आँचल र हाम्रा अन्य देशका एमडीहरूसँगै काम गर्न तत्पर छु, हाम्रा प्रयोगकर्ताका लागि थप खोजी र व्यक्तिगत अनुभव सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष्य, अनुभव र अन्तर्दृष्टिहरू हाम्रो व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउनेछन् ।’वर्तमान एमडी लिनो अहलेरिङ सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्ने कम्पनीले जनाएको छ ।