- सर्भेको जिम्मेवारी लिएको चाइना जियोलोजिकल कम्पनीले अध्ययनका लागि ल्याएका सामग्री र मेसिनमा लागिसक्यो खिया
दैलेख- नेपालको आर्थिक समृद्धिको पहिलो खुड्किलो मानिएको दैलेखको भैरवी गाउँपालिका– १, जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । चीनको विस्तृत अन्वेषण अध्ययन प्रतिवेदनले दैलेख क्षेत्रमा सो परिमाणको प्राकृतिक ग्यास रहेको पुष्टि गरेको हो । यसबाट कति प्रतिशत ग्यास प्रयोगमा ल्याउन सकिन्छ र यसको बजारीकणको अवस्था के हो भन्ने विषयमा वेल परीक्षण गर्न भने बाँकी छ । वेल टेस्ट गर्नुपर्ने विषय उठेको एक वर्ष भइसक्यो, तर हालसम्म सरकारले चासो नदेखाएको भन्दै दैलेखका स्थानीय आक्रोशित भएका छन् ।
नयाँ सरकार निर्माण भएसँगै समग्र कर्णाली र दैलेखका बासिन्दाले ग्यास उत्खननका काम हुने र लाखौँले रोजगारी पाउने आशा बोकेको दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले बताइन् । दैलेखी मात्र होइन, कर्णालीका जनतामा धेरै आशा जागे पनि एक वर्ष बित्दासमेत काम सुरु नभएपछि जनतामा निराशा छाएको शर्माको भनाइ छ ।
सुरुवातदेखि तीन चरणको सर्भेको जिम्मेवारी लिएको चीनको चाइना जियोलोजिकल सर्भे कम्पनीले अध्ययनका लागि ल्याएका सामग्रीमा अहिले खिया लागिसकेका छन् । खानी तथा भूगर्भ विभागलाई बुझाइएको प्रतिवेदनअनुसार प्रारम्भिक अध्ययनमा अनुमान गरिएको ग्यासको परिमाणभन्दा विस्तृत अध्ययनबाट प्राप्त निष्कर्ष केही फरक देखिए पनि पर्याप्त मात्रामा मिथेन ग्यास रहेको निष्कर्ष छ । नेपालमा यससम्बन्धी काम गरेका विषयविज्ञसँग समन्वय गरेर छिटोभन्दा छिटो जिटुजी गरेर काम गर्नुपर्ने स्थानीयको सुझाव छ ।
लामो समयदेखि प्राकृतिक ग्यासको डिस्ट्रिब्युसनको क्षेत्रमा चीन, भारत, अमेरिका, जर्मनी र बंगलादेशमा काम गरेका इन्जिनियर प्रकाश विष्टले मिथेन ग्यासको बजार छिमेकी भारतमै पर्याप्त रहेको बताए । ‘मैले स्थलगत अध्ययन पनि गरेँ, यो नेपालका लागि निकै महŒवपूर्ण कुरा हो, मिथेन ग्यासको बजार भारतमा पनि ५० वर्षसम्मका लागि छ । नेपालका ठुला उद्योग र कलकारखानामा यसको प्रयोग गर्न सकिन्छ । पाइपमार्फत घर–घरमा ग्यास जोड्न पनि सकिन्छ,’ उनले भने, ‘अघिल्लो सरकारले थालेको यो कार्य वर्तमान सरकारले पूरा गर्नुपर्छ ।’ नेपाली वैज्ञानिकसँग समन्वय गरेर सरकारले काम थालनी गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो परियोजना विदेशका दक्ष जनशक्ति र स्रोत–साधन ल्याएर विदेशमा काम गर्ने नेपालीलाई सेयर लगानी गर्ने गरी तीनवटा पी मोडेलमा काम गर्ने नीति बनाए नेपाल समृद्धिको मार्गमा अघि बढ्न सक्छ ।’ भारतको महानगर ग्यास लिमिटेडले अहिले वर्षमा ४.२ मिलियन ग्यास खपत गरिरहेको उनको भनाइ छ । इन्डस्ट्रियल, कमर्सियल, डोमेस्टिक प्रयोजनका लागि यही परिमाणको ग्यास खपत भएमा ५० वर्षसम्मको माग धान्न सक्छ । भारतमा अहिले विभिन्न स्थानमा एलएनजी पोर्ट बनाएको छ । ‘नेपालभित्र र भारतमा मात्र यसको खपत गर्ने विषयमा कुनै समस्या छैन, त्यसैले यो स्रोत सरकारले खेर फाल्नुहुँदैन, तत्कालै उत्खननको प्रक्रिया थालनी गर्नुपर्छ । मेरो अध्ययनले भारतमा मात्रै अहिले महानगर ग्यासले ११३ अर्ब रकम राजस्व संकलन गरेको छ,’ उनले भने ।
चीन सरकारलाई बल्ल पठाइयो पत्र
पछिल्लो प्रतिवेदनअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागले चीन सरकारलाई वेल टेस्टका लागि एक महिनाअघि मात्रै पुनः पत्राचार गरेको बताएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका जिओलोजिस्ट प्रकाश लुइँटेलले भने, ‘चीन सरकारलाई अन्तिम अन्वेषण वेल टेस्टका लागि मन्त्रालयबाट पत्र गएको छ, पछिल्लो पत्रको जवाफ आएको छैन । ८०.७ अर्ब घनमिटर प्रतिवेदनमा उल्लेख गरिएको छ । कति रिकभर हुन्छ अध्ययनपछि मात्र लागत, खपत र बिक्री–वितरणको कुरा हामीले भन्न सक्छौँ । अरूले बाहिर देशको अध्ययनको कुराका बारेमा आफूहरूलाई थाहा हुँदैन र हामीले भन्न पनि मिल्दैन ।’
दैलेखमा रहेको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको अन्वेषणका लागि नेपाल र चीनबिच सन् २०१६ मा सहयोगसम्बन्धी समझदारी भएको थियो । त्यसपछि सन् २०१९ मा नेपाल सरकार र चीनको चाइना जियोलोजिकल सर्भेबिच करिब दुई अर्ब ४० करोड रुपैयाँबराबरको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषण कार्य अघि बढाउने सम्झौतासँगै तीनवटा सर्भे सम्पन्न भएका थिए । दैलेखका करिब तीन हजार तीन सय स्थानमा विभिन्न अध्ययनका काम भएका थिए । ग्यासको भण्डारण क्षेत्र मानिएको जलजले क्षेत्रमा चार हजार १३ मिटर ड्रिलिङ गरिएको थियो ।