पाँच महिनामा पुँजीगत खर्च १५ प्रतिशत मात्र

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले आज आयोजना गरेको विकाससम्बन्धी नीति तथा पुँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने गरेको बताए । प्राविधिक जनशक्ति अभाव, विनायोजना बजेट छुट्याउनेजस्ता कारणले पनि पुँजीगत खर्च हुन नसकेको उनले जानकारी गराए ।  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सार्वजनिक खरिद नियमावली एक वर्षमा चारपटक संशोधन गरेर पनि विकास निर्माण आयोजनाको समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताए । दशजना निर्माण व्यवसायीका हातमा दुईतिहाइभन्दा बढी योजना रहने गरेकाले पनि काममा ढिलाइ हुने गरेको उनले सुनाए ।  विसं २००८ देखि नै पुँजीगत खर्च ८० प्रतिशतभन्दा बढी हुन नसक्नुका कारणको अब खोजी गर्नुपर्ने उपाध्यक्ष पौडेलको विचार थियो ।

सुझावित समाचार