पर्सिभियरेन्स अर्थात् सम्भावनाको खोजी

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण
पर्सिभियरेन्स अर्थात् सम्भावनाको खोजी

नासाको जेट प्रपल्सन ल्याबरोटरीका इन्जिनियरले निर्माण गरेको ‘इन्जेन्युटी’। यो फोटो जुन महिनामा पर्सिभियरेन्सले मंगल ग्रहमा खिचेको थियो। मंगलको खोजमा पर्सिभियरेन्सको सहयात्री रहेको इन्जेन्युटीको मुख्य लक्ष्य मंगल ग्रहमा प्राचीन जीवनको प्रमाण खोज्नु हो।

सन् २०२१ फेब्रुअरी १८ मा एक टन तौलको रोबोटिक अन्वेषक मंगलग्रहको सतहमा अवतरण गर्‍यो । विभिन्न वैज्ञानिक औजार र उपकरण बोकेको यो अन्वेषकको नाम पर्सिभियरेन्स राखिएको छ । अभियानको उद्देश्य स्पष्ट छ– मंगलग्रहको जेजेरो क्रेटरको भौगोलिक उद्विकासको अध्ययन गर्ने । ३.५ अर्ब वर्षअघि नदी प्रणाली तथा विशाल ताल रहेको जेजेरो क्रेटरमा सम्भावित सूक्ष्म जीवनको प्रमाण खोज्ने र मंगलग्रहको ढुंगा र माटोको नमुना पनि संकलन गर्ने लक्ष्य अभियानले लिएको छ । पर्सिभियरेन्स अवतरण गरेको स्थानलाई ‘ओक्टेभिया ई बट्लर ल्यान्डिङ साइट’ नाम दिइएको छ । यो रोबोटले त्यो भेगबाट पृथ्वी पठाएको पहिलो तस्बिरमा विशाल प्यानारोमा दृश्य र धुलोका हुन्डरीहरू देखिन्छन् । 

अन्य महान् अन्वेषकहरूको जस्तै पर्सिभियरेन्सको साथमा पनि उसको एक सहयात्री छ– इन्जेन्युटी । इन्जेन्युटी एउटा ग्रह (पृथ्वी)बाट निर्देशित भएर अर्को ग्रह (मंगल)मा उडान भर्ने पहिलो यान बनेको छ । र, अहिले उसले पर्सिभियरेन्ससँग मिलेर मंगलग्रहको चक्कर लगाइरहेको छ । म नासाको मंगलग्रहसम्बन्धी लामो अन्वेषणको हिस्सा भएर काम गर्ने अवसर पाउने इन्जिनियर हुँ । पर्सिभियरेन्स र इन्जेन्युटी क्यालिफोर्नियास्थित म काम गर्ने ‘जेट प्रपल्सन ल्याबोरेटोरी’को लामो प्रयासको प्रतिफल हो । यस मिसनमा हामीले कैयौँ घन्टा काम गरेका छौँ । मानवीय अन्वेषणको कथ्यमा नयाँ अध्याय लेख्न हामीले कैयौँ वर्ष विभिन्न प्राविधिक अवरोध, व्यक्तिगत संघर्ष र विश्वव्यापी चुनौती सामना गरेका छौँ । 

४ मार्च २०२१ मा पर्सिभियरेन्स पहिलोपटक मंगल ग्रहको धरातलमा हिँडेको तस्बिर । फोटोमा पर्सिभियरेन्सपछाडि सोही यानले छाडेको डोब देखिन्छ । 

यो ऐतिहासिक क्षणलाई यथार्थमा बदल्नका लागि कैयौँ मार्ग र विकल्प एक गरिएको छ । तर, हामीहरू सबैसँग अन्वेषणका आफ्नै कथा छन् भनेर बिर्सनुहुँदैन । यो वर्षले मलाई मेरो परिवारको विगतमाथि विचार गर्ने अवसर प्रदान गर्‍यो । म लसएन्जल्समा जन्मिएको भए पनि मेरा अभिभावक तथा हजुरबा–हजुरआमा सन् ६० को दशकको अन्त्य तथा सन् ७० को सुरुतिर मेक्सिकोबाट अमेरिका आएका थिए । मेरा हजुरबा–हजुरआमा निर्माण तथा उद्योग क्षेत्रका श्रमिक थिए । उनीहरूमा आफ्ना सन्तानले राम्रो शिक्षा पाउनुपर्छ भन्ने दृढ इच्छा थियो । केही वर्षअघि मैले मेरी हजुरआमा एन्टोनिया (जसलाई म माया गरेर नाना तोनिया भनेर बोलाउँछु)लाई मेरो कार्यस्थल ‘जेट प्रपल्सन ल्याबोरेटोरी’ लगेको थिएँ । त्यस दिन प्रयोगशाला आगन्तुकहरूको अवलोकनका लागि खुला गरिने दिन थियो । मेरी हजुरआमालाई नयाँ–नयाँ कुरा सिक्न मन पर्छ, त्यसमा पनि ब्रह्मान्ड उनको विशेष रुचिको क्षेत्र हो । ल्याबको बाहिर चक्कर लगाएर आगन्तुकसँग अन्तर्क्रिया गरिरहेको रोबोट देखेर हजरआमा निक्कै खुसी भइन् । पछि आँखाभरि आँसु बनाएर उनले एउटा कथा भनिन् जुन म कहिल्यै बिर्सन सक्दिनँ । 

हजुरआमा र हजुरबा मेक्सिकोबाट अमेरिका आएको केही समयपछि उनीहरू लसएन्जल्सको गार्मेन्ट डिस्ट्रिक्टमा काम गर्न थाले । कागजात नभएका आप्रवासी भएकाले दैनिक गुजारा चलाउने र डिपोर्ट हुनबाट बच्ने चुनौती सधैँ रहन्थ्यो । एक दिन आप्रवासी अधिकारीले मेरा हजुरबा–हजुरआमा दुवैलाई पक्राउ गरेर कागजात रुजु गर्ने केन्द्रमा लगे । मेरी हजुरआमाले मलाई बताएअनुसार उनले बाटोमा रेडियोमा एपोलो अन्तरिक्षयात्रीबारे कभरेज प्रसारण भइरहेको सुनेकी थिइन् । उनलाई मानिसहरूले चन्द्रमाको अन्वेषण गरिरहेको कुरा सपनाजस्तो र आश्चर्य लागेको थियो रे । यत्तिका वर्षपछि पनि हाम्रो प्रयोगशाला घुमिरहँदा उनलाई त्यही सपनाजस्तो अनुभूति भइरहेको कल्पना म गर्दैं थिएँ । यो कथालाई मैले मनमा साँचेर राखेको छु । 

फेब्रुअरीमा पर्सिभियरेन्स मंगलग्रहमा 
अवतरण गर्नु केही सेकेन्डअगाडि त्यहाँको वातावरणमा प्रवेश गरेको थियो । त्यसवेला मेरो नजर परिवारका सदस्यको अनुहारमा पुग्यो, जो जुममार्फत मसँग जोडिएका थिए । म उनीहरूको मिहिनेतको प्रतिफल स्वरूप सो स्थानमा थिएँ । हाम्रो यान मंगल धरातलमा अवतरण गर्दा उनीहरू खुसीले रमाएको देखेर मेरो आँखामा आँसु आयो । नाना तोनियाले स्पेनिस भाषामा ‘हामी मंगलग्रह पुग्यौँ, हामी त अन्वेषक भयौँ’ भनिरहँदा मलाई उनको एपोलोसम्बन्धी कथाको सम्झना भयो ।
हामीहरूमध्ये धेरै मानिस मेरी हजुरआमाजस्तै आप्रवासनका उपज हौँ, जो नयाँ ठाउँमा तिनको सुखद भविष्यमा विश्वास गर्छन् । अमेरिका आउनेहरू थप अवसर, शिक्षा, सुरक्षा वा अन्य जे कारणले आए पनि उनीहरूको पहिलो कदम एक अपरिचित विश्वतर्फ हुन्छ । उनीहरूले सबै कुरा दाउमा लगाएका हुन्छन् र धेरै चुनौतीको सामना गर्नुपर्छ । उनीहरूको संघर्ष र सफलताले भावी पुस्ताका लागि अवतरण स्थल तय गरिदिन्छन् । साथै भावी पुस्ताले पछ्याउने मार्ग बनाइदिन्छन् । मेरी हजुरआमा मेरा लागि मार्ग खोजिदिने व्यक्ति बनिन् र म उनको ‘पर्सिभियरेन्स’ हुँ ।

आजभोलि मलाई मानव जाति पनि मंगलग्रह पठाइएको रोबोटिक अन्वेषकजस्तै लाग्न थालेको छ । हामीजस्तै हालको पर्सिभियरेन्स पनि आफूअघिका विभिन्न पुस्ताका अन्वेषकको आधारमा निर्माण भएको हो । मंगलग्रहमा पहिले अवतरण भएका क्युरियोसिटी, अपच्र्युनिटी र स्पिरिटले पर्सिभियरेन्सको अवतरण सहज बनाइदिएका थिए । अहिले पर्सिभियरेन्स र इन्जेन्युटीले सम्भावनाको सीमालाई थप विस्तार गरिदिएको छ । हामीहरू आफ्नो बिरासत, विचार र कल्पनालाई एकसाथ जोड्ने कामलाई जारी राख्नेछौँ । र, साथमा ब्रह्मान्डमा थप रहस्य सुल्झाउन सहयोग गर्ने नयाँ प्रविधिको डिजाइन र निर्माण गरिरहनेछौँ । अर्थात् हामीहरू सुन्दर भविष्यतर्फ मिहिनेत गर्न रोकिने छैनौँ ।
(हर्नान्डेज नासाकी पेलोड सिस्टम (भार प्रणाली) इन्जिनियर हुन् ।) 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार