सन् २०२२ तर्फ नियाल्नुअघि एकक्षण गत वर्षतर्फ फर्काैँ । सन् २०२१ मा विश्वका चार अर्बभन्दा बढी मानिसले कम्तीमा एक डोज कोभिड– १९ विरुद्धको खोप लगाए । तैपनि भाइरसको संक्रमणशील डेल्टा भेरियन्टको कारण संक्रमण दर तीव्र हुँदा ठूला जमघटहरू खासै हुन पाएनन् । यद्यपि, विश्वस्तरका ठूला कार्यक्रमहरू सन् २०२२ का लागि रचनात्मकतासहित कार्यसूचीमा छन् ।
इस्तानबुलमा आयोजना भइरहेको च्याम्पियन लिग फाइनलको तीन हप्ताअघि बेलायतले टर्कीलाई उच्च जोखिमयुक्त गन्तव्यको सूची (रेडलिस्ट)मा राखेपछि लिग सञ्चालन निकाय युइएफएले फाइनल खेललाई पोर्चुगलको पोर्टाेमा सार्यो । कोरोना भाइरस केसमा बढोत्तरीका बाबजुद पोप फ्रान्सिसले इराक भ्रमण गरे । फ्रान्सिस उत्तरी इराकका कुनै समय आइएसको बलियो पकड मानिएका, युद्धबाट क्षतिग्रस्त स्थानहरू पनि पुगे । टोकियोमा, ग्रिष्मकालीन ओलम्पिकको दौरान कोभिड– १९ संक्रमणका केस वृद्धिका कारण दर्शकहरू खेल हेर्नबाट वञ्चित भए । खेल इतिहासमा यो एक अनौठो अनुभव रह्यो ।
यसबीच, इन्टरनेट भने पूर्ण क्षमतामा चल्यो । गत अप्रिलमा पिउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार महामारीको सुरुवातपछि भिडियो कलमा संलग्न हुने अमेरिकीको संख्या ८१ प्रतिशतसम्म पुग्यो, तीमध्ये ३४ प्रतिशतले भिडियो कलको उपयोग विवाह, सद्गत, प्रार्थनासभा, डेट, डाक्टरको एपोइन्टमेटलगायत नयाँ काममा गरे । अक्टोबर ४ मा प्रविधिगत गडबडीका कारण फेसबुक, इन्स्टा, ह्वाट्सएप, मेसेन्जरसमेतका यो कम्पनीअन्तर्गतका एपहरू पाँच घन्टाभन्दा बढी अफलाइन हुन पुग्दा ठूलो संख्यामा प्रयोगकर्ताहरू ट्विटरलगायतका सोसल मिडियातर्फ ओइरिए । यो परिघटनाले खासगरी सोसल मिडियामाथि हाम्रो बढ्दो निर्भरता र ती प्लाटफर्महरूको संवेदनशीलतातर्फ औँल्याएको छ । तर, मार्क जुगरवबर्ग फेसबुकलगायतका आफ्ना एपहरू किन अफलाइन गए भन्ने चिन्ता गरिरहेका छैनन् । उनी अर्काे वर्ष फेसबुकलाई ‘मेटाभर्स’ बनाउने तयारीमा जुटेका छन् । उनका अनुसार मेटाभर्सको डिजिटल रियालिटीमा प्रयोगकर्ताहरूले फेसबुक हेरेको होइन, छिरेको महसुस गर्नेछन् । यी र यस्तै अनेक परिघटनाले सन् २०२२ को भौतिक एवं डिजिटल विश्वलाई हल्लाउनेछन् ।
जनवरी
अमेरिका, जनवरी १ : अमेरिकाको क्यालिफोर्निया राज्यले गर्भावस्थामा २४ वर्गफिटभन्दा साँघुरा खोरमा राखेर प्रजनन गराइएका सुँगुरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनेछ । क्यालिफोर्नियाको यो ‘द फार्म एनिमल कन्फाइन्मेन्ट प्रोपोजिसन’ कानुनले दुईवटा परिणाम दिन सक्छ– पहिलो, अमेरिकाका ४ प्रतिशत उत्पादकले मात्र यो नयाँ मापदण्ड पूरा गर्ने भएकाले यो राज्यमा सुँगुरको मासु आपूर्ति स्वात्तै घट्न सक्छ । दोस्रो, अमेरिकाको कुल उपभोगमध्ये १५ प्रतिशत पोर्क क्यालिफोर्नियाले उपभोग गर्ने हुँदा मुलुकभरकै सुँगुर फार्महरू जेस्टेसन क्रेट (गर्भवती सुँगुर राखिने खोर)हरूको सुधारका लागि प्रोत्साहित हुन सक्छन् ।
फ्लोरिडाकी एक महिला मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा आयोजना गर्न प्रस्ताव गरिएको फर्मुला वन रेसको विरोध जनाउँदै
भारत, जनवरी १४ : यो मितिमा भारतको अहमदाबादमा अन्तर्राष्ट्रिय चंगा महोत्सव हुँदै छ । यो दिन झिसमिसेदेखि साँझसम्मै चंगाहरूले अहमदाबादको आकाशमा कावा खानेछन् । चंगा–युद्धमा प्रतियोगीहरूले एक–अर्काका चंगा काट्ने हरसम्भव प्रयास गर्नेछन् । सफल हुनेहरू काई पो चे अर्थात् मैले काँटे भनी चिच्याउँदै हर्षाेल्लास गर्छन् । तर, चंगाबाजीमा प्रयोग हुने धागो, जसलाई ‘मान्जा’ भनिन्छ, तिनको कथा भने सुखद छैन । चंगा काट्न काँच एवं धातुको धुलो लेपन गरिएका मान्जाले सडकमा कैयौँको घाटी नराम्ररी चिर्ने गरेको छ । केहीको मृत्युसमेत भएको छ । जसकारण मान्जा स्ट्रिङ अफ डेथ नामले पनि परिचित छ । महोत्सवको पूर्वसन्ध्यामा अहमदाबाद प्रहरीले बिक्रेताहरूबाट हजारौँ घातक मान्जा जफत गर्ने गर्छ ।
फेब्रुअरी
बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, नेपाल, रसिया, थाइल्यान्ड र भियतनाम, फेब्रुअरी १ : यी मुलुकले विश्वमा बाघको संख्या दोब्बर बनाउन निर्धारण गरेको समयसीमा चिनियाँ बाघ वर्षको शुभारम्भका दिन सकिँदै छ । सन् २०२२ सम्ममा विश्वव्यापी रूपमा बाघको संख्या दोब्बर बनाउने यी १३ मुलुकको प्रतिबद्धता कुनै एउटा प्रजातिका लागि अहिलेसम्मकै महत्वांकाक्षी प्रयास हो । यो परियोजना सन् २०१० बाट सुरु भएको थियो । त्यसबखत विश्वभर तीन हजार दुई सय मात्रै जंगली बाघ थिए । त्यसयता, भारतले १४ नयाँ बाघ संरक्षण क्षेत्र स्वीकृत गरेको छ (भारतमा विश्वका ६० प्रतिशत बाघ छन्) । रसियाले आफ्नो ‘ल्यान्ड अफ द लियोपार्ड नेसनल पार्क’मा बाघको संख्या तेब्बर बनाएको छ ।
चीन, फेब्रुअरी, ४–२० : सन् २००८ मा ग्रिष्मकालीन खेल आयोजना गरेको बेइजिङ शीतकालीन ओलम्पिक आयोजना गरेर दुवै संस्करण आयोजना गर्ने विश्वको पहिलो सहर बन्दै छ । यो अवसरमा चीनको पिपुल्स बैंक अफ चाइना आगन्तुक र खेलाडीहरूमाझ डिजिटल मुद्रा ई–सिएनवाई परीक्षण गर्ने योजनामा छ । तर, चीनको सिन्जियाङमा उइगुर मुसलमानको उत्पीडनलाई लिएर सयौँ मानव अधिकारवादी समूहले बेइजिङमा आयोजना हुन गइरहेको शीतकालीन ओलम्पिकलाई ‘जेनोसाइड गेम’को संज्ञा दिँदै बहिष्कारको आह्वान गरिरहेका छन् । हेर्नु छ, दर्शक कत्तिको आउलान् ।
चीनका उइगोर मुस्लिमहरूमाथि भइरहेको दमनको विरोधमा सन् २०२२ मा बेइजिङमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्न विभिन्न देश र खेलाडीहरूलाई आह्वान गर्दै गत जुनमा मुकुन्डो लगाएर प्रदर्शनमा उत्रिएका इन्डिनेसियाका अधिकारकर्मीहरू
मार्च
अर्जेन्टिना, मार्च ३१ : अर्जेन्टिनाले ३१ मार्चमा आफ्ना साहुहरूसँग याचना गर्नेछ । उसलाई गत वर्ष डिफल्ट हुन अनुमति दिएको एउटा २२ साहुदेशको अनौपचारिक समूह पेरिस क्लबकै दुई अर्ब ४० करोड डलर बक्यौता छ । अर्काे, उसलाई इतिहासमै ठूलो ५७ अर्ब डलर ऋण दिएको अन्तर्राष्ट्रिय मुद्राकोषले पनि असुलीका लागि संवादलाई निरन्तरता दिनेछ ।
अप्रिल
फ्रान्स, अप्रिल : फ्रान्समा अप्रिल १० मा राष्ट्रपतिको चुनाव हुँदै छ । यो चुनावमा वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोंन र चरम दक्षिणपन्थी नेता मरिन ले पेन मात्रै मैदानमा हुने छैनन्, पेरिसका समाजवादी मेयर एनी हिडाल्गो र बे्रक्जिट वार्ताकार माइकल बर्नियर पनि हुनेछन् । जो विजयी भए पनि उसले पहिचानको राजनीति पछ्याउनेछ ।
मे
अमेरिका, मे ६–८ : गार्डेन्स फर्मुला वान रेस आयोजना गर्ने पहिलो अफ्रिकी–अमेरिकन सहर हुनेछ मियामी । ग्रान्ड प्रिक्ससँगको अनुबन्धले १० वर्षसम्म मियामीको अर्थतन्त्र बर्सेनि ४० करोड डलरले वृद्धि हुने अपेक्षा गरिएको छ । यद्यपि, केही सहरवासी विरोधका लागि जम्मा हुन थालेका छन् । कर्कस ध्वनि प्रदूषण र ट्राफिक व्यवधान खडा हुने भन्दै श्वेतबहुल भित्री मियामीबाट फर्मुला वान रेस सन् २०१८ मा सफलतापूर्वक रोकिएपछि अहिलेको स्थान रोजिएको विरोधकर्ताहरूको तर्क छ ।
इंग्ल्यान्ड, मे २७–अक्टोबर २ : तपाईं नाच्न सक्नुहुन्छ ? के तपाईं जीवन्त हुनुहुन्छ ? हामीसँग यसको उत्तर अहिले संशयमा छ । तर, यसको सकारात्मक उत्तर सन् १९७० को दशकको ख्यातिनाम स्विडेली पप लिजेन्ड ‘एबिबिए’ भोयाजमा (डिजिटल कन्सर्ट) गुञ्जयमान हुनेछ । लन्डनस्थित क्विन एलिजाबेथ ओलम्पिक पार्कमा निर्माण हुने स्टेजबाट एबिबिएका चार हस्तीका साथमा अन्य १० ब्यान्डले प्रस्तुति दिनेछन् ।
ब्रिटिस रोयल आर्मीभित्रको शारीरिक प्रशिक्षणका प्रशिक्षक तीन हजार माइलको तालिस्कर विस्की एटलान्टिक च्यालेन्ज (जुन एक अन्तरमहासागरीय रोइङ दौड हो)मा भाग लिने तयारी गर्दै ।
जुन
इंग्ल्यान्ड, जुन २–५ : महारानी एलिजाबेथ द्वितीयले ७०औँ जन्मजयन्ती मनाउनेछिन् । बेलायतको इतिहासमा यो यस प्रकारको पहिलो उत्सव हुनेछ । २५ वर्षको उमेरमा श्रीपेच पहिरिएकी महारानी एलिजाबेथले उपनिवेशबाट अफ्रिका स्वतन्त्र भएकोदेखि शाही सदस्यहरूले आयकर तिर्न थालेकोसम्म इतिहास साक्षात्कार गरेकी छिन् । सयभन्दा धेरै मुलुकको भ्रमण गरेकी छिन् । साउदी अरेबिया, चीन, मस्को र आयरल्यान्ड भ्रमण गर्ने पहिलो महारानी पनि हुन् उनी । यसै समय, उनका नाति राजकुमार ह्यारी भने क्यालिफोर्नियाको मोन्टेसिटोमा आफ्नो संस्मरण सार्वजनिकको तयारी गरिरहेका हुनेछन् ।
न्युजिल्यान्ड, जुन २४ : पोलेसियन आदिवासीको भाषा ‘माटारिकी’ले सात ताराको समूहलाई पनि जनाउँछ । यो तारा समूह जाडोको महिनामा दक्षिणी गोलाद्र्धमा देखापर्छ र माओरी क्यालेन्डरमा नयाँ वर्षको सुरुवातको प्रतीक मानिन्छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले चुनावी अभियानमा माटारिकीलाई राष्ट्रिय बिदा बनाउने वाचा गरेकी थिइन् । माटारिकी दिवसका रूपमा जुन २४ का दिन सार्वजनिक बिदा दिइनेछ ।
स्पेन : एनबिए टपसट नामले प्रसिद्ध क्यानेडेली प्रविधि कम्पनी ड्यापर ल्याबले विश्वकै सर्वाधिक लोकप्रिय स्पोर्टस् लिग ‘ला लिगा’सँग साझेदारी सुरु गर्दै छ । टपसटले नेसनल बास्केटबल एसोसिएसन (एबिए)का नयाँ–पुराना खेल भिडियोहरू बिक्री गर्ने गर्छ । गत वर्ष यसले बास्केटबल खेलाडी लेब्रोन जेम्सको एउटै हाइलाइट्स दुई लाख आठ हजार डलरमा बिक्री गरेको थियो । ला लिगाका शीर्षखेलहरूले पनि अब यो रोमाञ्चकता अनुभूति गर्नेछन् ।
जुलाई
अस्ट्रेलिया, जुलाई १ : अस्ट्रेलियाले जुलाईबाट स्थानीय जंगली जनावारको सुरक्षार्थ पाल्तु बिरालोहरूलाई घरभित्रै राख्न र बाहिर राख्न परे खोरमा राख्नुपर्ने नयाँ नियम लागू गर्दै छ । घरपालुवा बिरालोले अस्ट्रेलियामा हरेक वर्ष ६१ हजार चराचुरुँगी, दुई हजार स्तनधारी, ३० हजार सरिसृप र ६ हजार भ्यागुताको सिकार गर्ने गरेको बताइन्छ । कानुन तोड्नेलाई १६ सय डलर जरिवाना हुनेछ ।
फ्रान्स, जुलाई २४–३१ : विश्वप्रसिद्ध साइकल दौड टुर डे फ्रान्सले टुर डे फ्रान्स फेमेज (महिला संस्करण) पुनः सुरु गर्दै छ । आयोजकले सन् १९८४–१९८९ सम्म छोटो अवधिका लागि महिला संस्करण गरे पनि लगानीको अपर्याप्तता र मिडियाको ध्यान खिच्न नसकेको कारण देखाउँदै महिला संस्करण बन्द गरेको थियो । यसपटक आयोजकले महिला संस्करणको दैनिक प्रत्यक्ष टिभी प्रसारण गर्ने र कम्तीमा अर्काे सय वर्ष यसलाई कायम राख्ने जनाएको छ ।
नाइजेरिया : ‘बेनिन ब्रोन्ज’ १६–१८औँ शताब्दीका धातुपत्र र मूर्तिकलाहरूको संग्रह हो जुन नाइजेरियाको तत्कालीन बेनिन अधिराज्यबाट सन् १८९७ को बेलायती सैन्य हस्तक्षेपका क्रममा लुटिएका थिए । तीमध्ये केही जर्मनीका २५ म्युजियममा छन्, जुन घर फर्काइँदै छन् । नाइजेरिया सरकारले ती सम्पदाहरू बेनिन सहरमा निर्माण गरिने भनिएको ‘इडो म्युजियम अफ वेस्ट अफ्रिकन आर्ट’लाई हस्तान्तरण गर्ने घोषणा गरेको छ । अब बेनिन ब्रोन्जको विश्वकै ठूलो एकल संग्रहकर्ता रहेको द ब्रिटिस म्युजियमतर्फ सबैका आँखा सोझिएका छन् ।
अगस्ट
साइबेरिया, अगस्ट १५ : हरेक अगस्टमा गुकाको सानो सहरले विश्वकै ठूलो ‘ब्रास ब्यान्ड फेस्टिभल’ आयोजना गर्छ । यो फेस्टिभलमा केही ब्यान्डले स्टेजमा प्रस्तुति दिइरहँदा अन्य ब्यान्डचाहिँ भिडमा पुगेर गीत गाउँदै दर्शकको ध्यान र पैसा बटुलिरहेका हुन्छन् । भिडले संगीतकर्मीका पसिनाले लतपत निधारमा पैसा टाँसिदिन्छन् । केहीले तिनले पहिरिएको सिङमा उनिदिन्छन् ।
बहुमूल्य उल्कापिण्ड : मंगलग्रह र वृहस्पतिको बीचबाट सूर्यलाई परिक्रमा गरिरहेको एउटा उल्कालाई पृथ्वीमा उतार्न सक्ने हो भने त्यसबाट प्राप्त हुने फलाम मात्रै पनि १० हजार करोड शंख (टेन थाउजेन्ड क्वाड्रिलियन) डलरबराबर हुनेछ । रोचक त के भने नासाले एक अर्ब ५० करोड माइल टाढास्थित यो उल्कापिण्डको अध्ययन गर्न यान पठाउँदै छ । उक्त यानले यो यात्रा साढे तीन वर्षमा तय गर्नेछ ।
सेप्टेम्बर
मंगोलिया, सेस्टेम्बर १७–१८ र अक्टोबर १–२ : वार्षिक ‘गोल्डेन इगल फेस्टिभल’मा ‘बुर्कितिस’ भनिने फिरन्ते चिल सिकारीहरू परम्परागत पोसाकमा सजिएर घोडामा सवार भएर सिकार प्रतियोगिताका लागि दुई दिन जम्मा हुनेछन् । यो प्रतिस्पर्धाकी पहिलो महिला प्रतिस्पर्धी एसोल्फान नुर्गेभ महोत्सवको विशेष आकर्षण हुनेछिन् । नुर्गेभले सन् २०१४ मा प्रतिस्पर्धा जितेकी थिइन् ।
अक्टोबर
लो अर्थ अर्बिट, अक्टोबर १ : स्पेसएक्सले अमेरिकी वायुसेनासँग पाँचवर्षे सहकार्य सुरु गर्नेछ । यो परियोजनाअन्तर्गत अमेरिकी सेना स्पेसएक्सको स्टारसिप रकेटमार्फत विश्वका कुनै पनि कुनामा एक घन्टाभन्दा कम समयमै हातहतियार पुर्याउन समर्थ हुने अपेक्षा गरिएको छ । स्पेसएक्सका कार्यकारी इलोन मस्कको ध्यान यो सहकार्यमा निकै छ किनकि हाल रकेटमा रसियन आरडी– १८० इन्जिन प्रयोग गरिरहेको अमेरिकी सेनालाई कम्तीमा स्पेसएक्सको र्याप्चर इन्जिनतर्फ संक्रमण गराउन सकिने उनको विश्वास छ, जुन विश्वकै किफायती इन्जिन मानिन्छ ।
ब्राजिल, अक्टोबर २ : अक्टोबर २ मा ब्राजिलले नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछ । चुनावबारे जेर बोल्सोनारोको टिप्पणी छ– ‘मसँग तीन मात्र विकल्प छन्, पक्राउ हुने, मारिने वा जित्ने ।’ ब्राजिलको कंग्रेसनल प्यानले बोल्सोनारोलाई कोरोना भाइरस संकटमा हेलचेक्र्याइँ गरेको आरोपमा मानवताविरुद्धको अपराधको मुद्दा लगाउन सिफारिस गरिसकेको छ । उनमाथि हर्ड इम्युनिटी हासिल गर्ने प्रयासस्वरूप जानाजान भाइरसको प्रसारलाई प्रोत्साहन गरेको आरोप छ । संक्रमणबाट लाखौँ ब्राजिलियनले मृत्युवरण गर्नुपरेको थियो ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो ब्रासिलियामा सम्पन्न सैनिक परेड अवलोकन गर्दै । मानवताविरोधी अपराधको आरोपका माझ अक्टोबरमा हुने निर्वाचनमा उनी पुनः लड्दै छन् ।
नोभेम्बर
कतार, नोभेम्बर २१–डिसेम्बर १८ : कतारले विश्वको सबभन्दा ठूलो खेल ‘विश्वकप’ आयोजना गर्दै छ । विश्वकपका लागि १० वर्षदेखि तयारी गरिरहेको कतारलाई घुस दिएर विश्वकप आयोजनाको अवसर प्राप्त गरेकोलगायतका विवादले घेरेका छन् । साथै, विश्वकप आयोजनाका लागि सात स्टेडियम, एउटा नयाँ सबवे, एउटा विमानस्थल, रोड र फाइनल आयोजनाका लागि एउटा पूरै नयाँ सहर निर्माण गरिरहँदा पूर्वाधार निर्माणमा खटाइएका २० लाखभन्दा बढी कामदारको सुरक्षामा ध्यान नदिएको र हजाराैं आप्रवासी कामदारले दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको आरोप पनि छ ।
अबुधाबी : अल डाफ्रामा विश्वको एउटै स्थलमा सबभन्दा ठूलो सोलार–साइट सञ्चालनमा आउनेछ । जसले एक लाख ६० हजार घरका लागि विद्युत् उत्पादन गर्नेछ । यसबाट प्रतिवर्ष १६ लाख मेट्रिक टनभन्दा धेरै कार्बन उत्सर्जन कटौती हुने अपेक्षा गरिएको छ । यो भनेको सडकमा गुडिरहेका ४७ लाख कारहरू हटाउनुबराबर हो ।
डिसेम्बर
एट्लान्टिक महासागर, डिसेम्बर ११ : के तपाईं एट्लान्टिक पार गर्न चाहनुहुन्छ ? यसका लागि तपाईँले टालिस्केर विस्की एट्लान्टिक च्यालेन्जमा भाग लिँदै क्यानरी टापुबाट एन्टिगुवाको बाटो समात्नुपर्नेछ । तपाईंले एउटा दैनिकी पछ्याउनुपर्छ– दुई घन्टा डुंगा खियाउने, दुई घन्टा आराम गर्ने । दिनभर यही प्रक्रिया चल्नेछ । अन्ततः तपाईंले तीन हजार माइलभन्दा बढीको यात्रा तय गर्दै महासागर पार गर्नुहुनेछ । यो च्यालेन्जबाट अहिलेसम्म एट्लान्टिक महासागर पार गर्नेको संख्या सगरमाथा आरोहीको भन्दा थोरै छ ।
अमेरिका, डिसेम्बर २१ : निन्तेन्डो र फिल्म स्टुडियो इलुमिनेसनले भिडियो गेम ‘सुपर मारियो बोस’मा आधारित नयाँ एनिमेटेड फिल्ममा लोकप्रिय इटालियन पलम्बर मारियोको रूपमा अमेरिकी कलाकार क्रिस प्राटलाई प्रस्तुत गरेर २०२२ को डिसेम्बरबाट तहल्का मच्चाउनेछन् । यसको अघिल्लो अवतारमा चाल्र्स मार्तिनेट थिए ।
थप
चिली : यो ब्रह्मान्डमा हाम्रो स्थान कस्तो छ ? विश्वकै ठूलो डिजिटल क्यामेरा ‘द भेरा सी रुबिन अब्जरभेटरी’ले यो ब्रह्मान्डको उच्च गुणस्तरको तस्बिर खिच्नेछ । सिमोन्यी सर्भे टेलिस्कोपको ३२०० मेगापिक्सेल क्यामेराले ब्रह्मान्डको अहिलेसम्मकै गाढा र विस्तारित तस्बिर तयार गर्नेछ ।
चिलीको केरो पचोनमा रहेको भेरा रुबिन दूरदर्शकयन्त्र । यसले ब्रह्माण्डको हालसम्मकै सबैभन्दा फराकिलो दृश्य खिच्ने अपेक्षा गरिएको छ ।
फ्रान्स, गर्मीयाम : भूमध्यसागरको छेउमा पानीमुनि पाइने सामुद्रिक घाँस (नेपच्युन ग्रास)ले कार्बनडाइअक्साइड अवशोषण र अक्सिजनको उत्सर्जन गरेर तटीय क्षेत्रको क्षयीकरण रोक्नुका साथै माछाका लागि वासस्थान पनि प्रदान गर्छ । ठूला डुंगालाई जब एंकर लगाएर समुद्रको किनारतर्फ तानिन्छ, तिनले समुद्र किनारातर्फ पानीमुनिको घाँसेमैदानमा अपूरणीय क्षति पुर्याउँछन् । सन् २०२२ मा सेन्ट–ट्रोपेजनजिकैको पाम्पेलोनेन तटमा भने पर्यावरणमैत्री घाट (जहाज बाँधेर राख्ने क्षेत्र) निर्माण गरेर यो कथाको पुनर्लेखन गरिँदै छ ।
चीन : चीनले सन् २०२२ मा आफ्नो अन्तरिक्ष केन्द्र तियानगोङको निर्माण पूरा गर्दै छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (जसलाई सन् २०११ मा चीनलाई प्रतिबन्धित गरिएको थियो) लाई बिदा गरिएपछि तियानगोङ पृथ्वीको कक्षमा एकल स्थायी केन्द्र हुनेछ ।
इन्टरनेट : फेसबुकको रियालिटी ल्याबका भूतपूर्व अध्यक्ष फेसबुकको प्रमुख प्रविधि अधिकृत (सिटिओ) बन्नेछन् । फेसबुकलाई मेटाभर्स कम्पनी बनाउने जुकरबर्गको वाचा पूरा गर्न उनलाई सिटिओमा ल्याउन लागिएको हो । मेटाभर्स शब्दावली नेल स्टेफेन्सनको उपन्यास स्नो क्यासमा प्रयोग भएको थियो । यो शब्दले एउटा यस्तो भर्चुअल वर्ल्डलाई जनाउँछ, जहाँ मानिसले भर्चुअल रियालिटी र अगुमेन्टेड रियालिटी प्रविधिको उपयोग गर्दै एकसाथ गेम खेल्न, व्यवसाय गर्न, खरिद गर्न र आफूलाई सामाजिकीकरण गर्न सक्नेछन् । फेसबुक र इपिक गेम्सजस्ता मेटाभर्सका लागि काम गरिरहेका कम्पनीहरूले विश्व अर्थतन्त्रलाई अहिलेको भन्दा विस्तारको अवसर प्रदान गर्नेछन् ।