ममाथि दोस्रोपटक राजनीतिक हिंसा भयो : गुरुराज घिमिरे

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रोपटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन्। मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रोपटक राजनीतिक हिंसा गरेको आरोप लगाए। गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलोपटक राजनीतिक हिंसा गरेको उनको भनाइ छ। 

कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मूल्य स्खलनको जीवन्त उदाहरण भएको उनको भनाइ छ। पार्टीको सिद्धान्त, आदर्श र मूल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उनले उल्लेख गरे। ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जीवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन। पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो। सत्ताको चरम दुरुपयोग गरियो। राजनीतिक हिंसाको शृंखला उहाँले नै सुरु गर्नुभएको हो। गत संसदीय निर्वाचनमा उहाँ सभापति हुनुहुन्थ्यो, उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो। र, उहाँले एकपटक ममाथि हिंसा गरिसक्नुभएको थियो। टिकट वितरणको क्रममा जनमतबाट पनि नम्बर एक सिफारिस भएको व्यक्ति, योगदानले पनि र पहिचानले पनि नम्बर एक सिफारिसमा परेको व्यक्तिलाई उहाँले टिकटबाट वञ्चित गर्नुभयो। उहाँकै अध्यक्षतामा बसेको संसदीय बोर्डले टिकटबाट वञ्चित गरायो। त्यो राजनीतिक हिंसा थियो। र, त्यो हिंसाको शृंखला अहिले फेरि दोहोरियो। पार्टीको आन्तरिक प्रतिस्पर्धामा एक नम्बर प्रदेशमा गठबन्धन बनाएर उहाँले अर्को हिंसा ममाथि गर्नुभयो,’ उनले भने।

नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको आरोप लगाए। सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताए। 

सुझावित समाचार