इन्धनको मूल्यवृद्धिका प्रभाव

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

ग्यासको सम्बन्ध प्रत्येक घरघरको भान्सासँग जोडिएको हुनाले यसको मूल्यवृद्धि हुँदा गरिबको भान्सा थप प्रभावित बन्छ


मानिसलाई दैनिक जीवनमा वस्तु निर्माण तथा सञ्चालन गर्न प्रयोग गरिने वस्तु इन्धन हो । यो सबै समूह र वर्गका मानिसलाई दैनिक रूपमा आवश्यक पर्छ । यसमा हुने मूल्यवृद्धिले विशेषतः गरिब समुदायलाई बढी प्रभाव पार्छ । इन्धनको मूल्यसँगै सरकारले गलत चलखेल गरिरहेको छ, जसका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । इन्धन खरिद गर्दाको मूल्यकै हाराहारीमा सरकारले विभिन्न शीर्षकमा राजस्व असुल्ने गरेको छ, तर उक्त राजस्वको उपलब्धि कतै देखिँदैन । यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य निकै घटे पनि सरकारले मूल्य घटाउन आवश्यक ठानेको छैन । विशेषतः ग्यास प्रत्येक परिवारको बिहान–बेलुका हातमुख जोड्ने विषयसँग सम्बन्धित छ । यसलाई सरकारले बुझेर पनि उचित व्यवस्थापन गर्न सकिरहेको छैन ।  

नेपाल आयल निगम इन्धनको बिक्री वितरण गर्ने एकाधिकार प्राप्त संस्था हो । यसले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिइरहेको छ । तर, आमनागरिकको अनिवार्य आवश्यकतासँग सरकार जोडिन आवश्यक्त छ । सरकारले यसमा ध्यान दिएको पाइँदैन । इन्धनको मूल्यवृद्धि हुँदा समग्र वस्तु तथा सेवाको लागत मूल्य बढ्छ । विशेषतः पेट्रोलबाट चल्ने सवारीसाधन दैनिक जीवनका अभिन्न अंग बनेका छन् । यिनले देशको आर्थिक क्रियाकलापमा निकै प्रभाव पारिरहेका हुन्छन् । ग्यास प्रत्येक घरघरको भान्सासँग जोडिएको छ, यसको मूल्यवृद्धि हुँदा गरिबको भान्सा थप प्रभावित बन्छ । यसर्थ इन्धनमा हुने मूल्यवृद्धिको वैकल्पिक उपाय किन खोजिँदैन ? खपत बढ्दा व्यवस्थापन खर्च घट्नुपर्ने, आयल निगम यसमा मौन किन ? मूल्य समायोजन कोषको प्रयोग कसरी भइरहेको छ ? यसको उपभोगबाट आमनागरिकले के प्राप्त गरे ?

सरकारले उपभोक्तामाथि लागत मूल्यभन्दा बढी कर लिइरहेको छ । आज कोभिडका कारण यत्रो असहज परिस्थितिमा पनि किन यति चर्को कर लिइँदै छ ? पछिल्लो समयमा तेलको मूल्य अन्तर्राष्ट्रिय मूल्यसँगै समायोजन गरिएको अवस्थामा आयल निगमले घाटा व्यहोर्नुपर्ने परिस्थिति पनि छैन तैपनि सरकारले लागत मूल्यभन्दा बढी कर किन लिइरहेको छ ? यति धेरै कर लगाउँदा पनि घाटा खाएर उपलब्ध गराएको तथ्य थप लज्जास्पद छ । घाटा हुँदा पनि आपूर्ति उच्च गतिले बढ्नु अर्थशास्त्रको सिद्धान्तविपरीत छ । सिद्धान्तअनुसार आपूर्तिकर्ताले कम मूल्यमा कम आपूर्ति र बढी मूल्यमा बढी आपूर्ति गर्छ, तर नेपाल आयल निगममा अर्थशास्त्रको सिद्धान्त उल्टो गतिमा चलिरहेको पाइन्छ । 

निगमले अलि पहिले एलपी ग्यासको मूल्य ७५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १५७५ पु¥यायो । यसअघि ग्यासको घाटापूर्ति गर्न भन्दै निगमले अन्य पेट्रोलियम पदार्थमा पनि नाफा राख्ने गरेको थियो । हाल मूल्य बढाउँदा पनि ग्यासमा प्रतिसिलिन्डर ६५७ रुपैयाँ ८४ पैसा घाटा भइरहेको भन्दै १५ दिनमा ६१ करोड २५ लाख घाटा हुने आयल निगमको प्रक्षेपण छ । सरकारले ग्यास बिक्री–वितरणको विद्यमान अवैज्ञानिक र अव्यावहारिक व्यवस्था सच्याउन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार हुँदा २०७० सालमा सर्वसाधारण जनता र व्यवसायीलाई फरक–फरक मूल्यमा ग्यास बिक्री गर्ने भन्दै रातो र निलो रङका सिलिन्डर ल्याउने निर्णय गरेको थियो । त्यसैअनुसार निगमले घरायसी प्रयोजनका रातो र व्यावसायिक प्रयोजनका लागि निलो सिलिन्डर प्रयोग गर्ने निर्णय ग¥यो । सुरुमा ग्यास उद्योगलाई कुल सिलिन्डरको करिब १० प्रतिशत सिलिन्डरमा निलो रङ पोत्न लगाइयो । त्यतिवेला निलो रंग लगाइएका सिलिन्डर अहिले पनि बजारमा भेटिन्छन् । यसमा व्यवसायीले चलखेल गरेर सो निर्णय कार्यान्वयन हुनै दिएनन् । 

२०७० मा व्यवस्थित तथ्यांकको अभावमा दुईथरी मूल्य कायम गर्ने निर्णय कार्यान्वयन गर्न नसक्नुले यो समस्या आजका दिनसम्म बल्झिँदै गएको छ । महिनामा एक सिलिन्डर ग्यास बाल्ने परिवारले सरकारबाट वर्षमा ६ हजार अनुदान पाइरहेको छ । तर, तारे होटल, रेस्टुरेन्ट, क्याफे, रिसोर्ट, पार्टी प्यालेसले एकै दिन दर्जनौँ सिलिन्डर खपत गर्छन् । उनीहरूले आफ्ना ग्राहकबाट त्यसको मूल्यसमेत असुलिरहेका हुन्छन् । त्यसरी नाफा कमाइरहेकालाई घाटा सहेर कति दिन ग्यास बेचिरहने ? व्यावसायिक क्षेत्रमा उपयोग भइरहेको ग्यास सिलिन्डरमा सरकारको अनुदान नीति सच्याउन जरुरी छ । अधिक ग्यास खपत गर्ने व्यवसायीलाई उनीहरूले पाउने अनुदानमा प्रोत्साहन गरी ग्यासमा हुन जाने घाटा व्यावसायिक क्षेत्रबाटै पूर्ति गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्छ । व्यावसायिक प्रयोजन र घरायसी प्रयोजनको स्पष्ट आधार बनाएर लागू गर्दा सर्वसाधारणलाई अनुदानको ग्यास उपलब्ध गराउन सहज हुन्छ । तर, सरकार यस्तो खालको नीतिगत निर्णय गर्न हिचकिचाइरहेको छ । 

अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्यमा साह्रै ठूलो भिन्नता पाइँदैन, तर नेपालमा भने यसमा ठूलो भिन्नता देखिन्छ । यसो हुनुमा राजनीति नै कारक हो भन्न सकिन्छ । यदि राजनीति जवाफदेही हुन्थ्यो भने जनतासमक्ष यसको जानकारी पुग्थ्यो, यस विषयबारे पारदर्शिता अवलम्बन गरिन्थ्यो । चुहावटबारे पनि खोजी हुँदो हो । इन्धन आपूर्तिको एकाधिकारी सरकार मात्र भएकाले नेपालमा गुणस्तरीय इन्धन वितरणमा समेत उसले ध्यान दिन जरुरी छ । (आचार्य अर्थशास्त्रका लेक्चरर हुन्)
 

सुझावित समाचार