ओमिक्रोनको आगमनपछि कैयौँ मानिसलाई पहिलेकै कठिनाइपूर्ण जीवनमा फर्किनुपर्ने हो कि भन्ने डरले समात्न थालेको छ
आर्थिक क्षेत्रमा एउटा चर्चित भनाइ छ– एउटा वित्तीय संकटलगत्तै पछि अर्को संकट आउँदै छ । यसको अर्थ के भने एउटा वित्तीय संकटमा खाएको हण्डरबाट चेत्ने भएकाले संकटमा धराशायी हुन बचेका हरेक बैंक, लगानी फर्म वा लगानीकर्ताले केही समयसम्म ठूलो जोखिम उठाउँदैनन् । जसका कारण लगत्तै अर्को वित्तीय संकट आउने सम्भावना रहँदैन । तर, दुई वर्षअघि कोभिड–१९ महामारीसँगै सुरु भएको कठोर लकडाउन, क्वारेन्टाइन र अन्य नियन्त्रणका कारण भर्खर के खुल्न लागेको थियो, पुनः ओमिक्रोन भेरियन्ट आइपुगेको छ ।अहिले धेरै मानिसलाई पहिलेकै कठिनाइपूर्ण जीवनमा फर्किनुपर्ने हो कि भन्ने डरले समातेको छ ।
ओमिक्रोनको पहिचानलगत्तै विश्वका अधिकांश सरकारले आत्तिएर दक्षिण अफ्रिका र उसका छिमेकी मुलुक आउजाउ गर्ने उडान रद्द गरे । तर, सरकारहरूको प्रतिबन्ध लगाउनु अगाडि नै ओमिक्रोन दक्षिणी अफ्रिकाबाट अन्यत्र फैलिसकेको थियो । साथमा, मुलुकहरू अहिलेजतिको डराउन आवश्यकता पनि थिएन । तीन कारणले विश्वभरका सरकार आफैँले सोचेभन्दा बढी अहिलेको स्थितिको सामनाका लागि तयार अवस्थामा छन् ।
पहिलो, अधिकांश नीतिनिर्माताले अहिले जनसंख्याको सबैभन्दा कमजोर हिस्सा कुन हो र तिनको प्रतिरक्षा महामारीविरुद्धको संघर्षमा कति महत्वपूर्ण छ भनेर बुझिसकेका छन् । यसको अर्थ हो, स्याहार केन्द्र र अन्य महत्वपूर्ण सेवाको सुरक्षामा जोड दिनुपर्छ भन्ने जानकारी हामीसँग उपलब्ध छ । सन् २०२० मा अमेरिका, युरोप र अन्यत्रका राजनीतिज्ञलाई यो कुराको महत्व बुझाउन नीतिनिर्माताले निकै संघर्ष गर्नुपरेको थियो ।
दोस्रो, हामीसँग अहिले खोप उपलब्ध छ । सन् २०२० मा खोपको विकाससँगै यसलाई सार्वजनिक–निजी साझेदारीको ऐतिहासिक सफलताको रूपमा हेरिएको थियो । तर, दुर्भाग्यवश सन् २०२१ मा आइपुग्दा धेरै मानिसमा अन्योल बढेको या उनीहरूलाई नियतवश गलत जानकारी दिइँदै छ । हालसम्म ६८ प्रतिशत अमेरिकी नागरिकले कम्तीमा एक डोज खोप लगाइसकेका छन् भने बुस्टर डोज पनि सर्वत्र उपलब्ध छ । अमेरिकाले विश्वभर सकेसम्म धेरैलाई खोप पुर्याउने लक्ष्य तोकेको छ, त्यसकारणले पनि उसले खोप दर वृद्धि गर्नुपर्नेछ । ओमिक्रोनको आगमनले पनि एउटै मुलुकले कोभिड–१९ लाई नियन्त्रण गर्न नसक्ने देखाएको छ ।
तेस्रो, आज विश्वका सबैजसो देशमा उल्लेख्य संख्यामा कोभिड परीक्षण केन्द्र बनिसकेका छन् । सन् २०२० मा धेरै परीक्षण केन्द्र निर्माण गर्दा केही मानिसले यी केन्द्र दीर्घकालमा आवश्यकता नहुने भएकाले खर्च मात्र भएको बुझेका थिए । अझै कुन वेला कुन परीक्षण प्रयोग गर्नुपर्छ भन्ने बहस जारी रहे पनि संक्रमणविद् तथा जनस्वास्थ्यविज्ञहरूले विभिन्न जनसंख्यालाई कुन परीक्षण उपयुक्त हुन्छ भन्ने जानकारीमा उल्लेख्य प्रगति हासिल गरेका छन् ।
सैद्धान्तिक रूपमा खोप, नियमित परीक्षण र मास्कको प्रयोगजस्ता सतर्कता अपनाएर कुनै पनि समुदायलाई कोरोना भाइरसविरुद्ध थप सुरक्षित बनाउन सकिन्छ । यी विभिन्न तहको सुरक्षाको प्रयोगले नयाँ भेरियन्टको जोखिममाझ पनि विद्यालय तथा कार्यालय सकेसम्म नियमित सञ्चालन गर्ने सम्भावना वृद्धि गर्छ । अमेरिकाले अझै पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ लाई जोखिम नमान्ने प्रवृत्तिका कारण दुःख पाइरहेको छ । राजनीतिक उद्देश्य साँध्नका लागि ट्रम्पले जनस्वास्थ्य अधिकारीको कामलाई प्रभावितसम्म गरे । त्यसले महामारीविरुद्धको लडाइँमा उल्लेख्य अन्योल सिर्जना गर्यो ।
कोभिड–१९ को नयाँ भेरियन्ट देखिएपछि धेरै देशका सरकारले तदारुकताका साथ अफ्रिका र छिमेकी मुलुकबाट आउजाउ गर्ने हवाई उडानमाथि प्रतिबन्ध लगाए । तर, उनीहरू त्यति आत्तिन आवश्यक थिएन, किनकि अधिकांश मुलुक आफैँले सोचेभन्दा बढी आगामी चुनौतीका लागि तयार देखिन्छन् ।
ट्रम्पको मिश्रित सन्देशको विरासत नै महामारीविरुद्धको अमेरिकी कदमको मुख्य कमजोरी बनेको छ । योविना अमेरिकामा थप मानिस खोप लगाउन इच्छुक हुने थिए । अहिलेभन्दा धेरै मानिसले शंका लाग्दा परीक्षण गराउने थिए । समकालीन अमेरिकाको सबैभन्दा ठूलो विडम्बना के हो भने नयाँ भेरियन्टविरुद्ध सबैभन्दा बढी जोखिममा जुन समुदाय छ, उनीहरू नै ट्रम्पको भनाइलाई गम्भीरताका लिएर बसेका छन् ।
सन् २०२० मा ट्रम्प र उनका मित्रहरूले कोभिड–१९ लाई गम्भीर रूपमा लिएमा लकडाउन लगाउने स्थिति आउने र अर्थतन्त्र कमाजोर हुने दाबी गरिरहे । उनको तर्क कमजोर थियो । धेरै ठाउँमा अस्पतालहरू संक्रमितले भरिन थाले र थेग्न नसक्ने स्थिति आएपछि गभर्नरहरूको निर्देशनमा स्थानीय अर्थतन्त्र बन्द गर्नुपरेको थियो । अहिले पनि अस्पतालको क्षमताभन्दा बढी संक्रमित हुन नदिन काम गरिनुपर्छ । यदि अस्पतालको इमरजेन्सी सेवाले काम गर्न सकेन भने हृदयाघात र दुर्घटनाबाट मर्ने मानिसको संख्या बढ्नेछ । साथै, क्यान्सर सेवालगायत अन्य नियमति प्रक्रिया अवरुद्ध भयो भने थप धेरै मानिसको ज्यान जानेछ ।
आर्थिक क्षति पन्छाउने हो भने खासमा कोभिड–१९ विरुद्धको लडाइँलाई कठोर बनाउनुपर्छ । अर्थतन्त्र बन्द गर्नु सबैका लागि महँगो पर्छ । अन्य प्रत्यक्ष भारका अतिरिक्त आपूर्ति–शृंखला अवरुद्ध हुन वस्तुभाउको मूल्यमा ठूलो उतारचढाव आउँछ, र देशको मुद्रास्फीति बढ्छ । मुद्रास्फीति बढ्दै गयो भने केन्द्रीय बैंकलाई आवश्यक पर्दा अर्थतन्त्र सम्हाल्न थप कठिन (अथवा जोखिमपूर्ण) हुन्छ ।
दुर्भाग्यवश, ट्रम्पको विरासतले वर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनसँग हालको कामलाई निरन्तरता दिनुबाहेक अन्य विकल्प उपलब्ध छैन । बाइडेन प्रशासनले अहिले स्याहारगृहलाई सबल बनाउने, धेरैभन्दा धेरै मानिसलाई खोप लगाउन मनाउने र उपलब्ध उच्च गुणस्तरको परीक्षणलाई थप सुधार गर्ने काम गरिरहेको छ । वर्तमान अमेरिकी प्रशासनले पूर्ववर्ती प्रशासनको विरासतलाई चुनौती दिने काम पनि सँगसँगै अगाडि बढाउनुपर्छ । शल्यचिकित्सक विवेक मुर्थीद्वारा सञ्चालन भइरहेको स्वास्थ्यसम्बन्धी गलत सूचनाविरुद्धको अभियान यो उद्देश्यमा सम्भावना बोकेको अग्रसरता हो । आफू र देशको अर्थतन्त्रलाई जोगाउनका लागि अमेरिकी र विश्वभरका मानिसलाई यस्ता धेरै अभियानको आवश्यकता छ ।