इन्डो–प्यासेफिक रणनीतिमा भारत एक समस्याग्रस्त साझेदार हो, जसले गठबन्धनलाई छिन्नभिन्न बनाउने मात्र होइन, अमेरिकाको चीन नीतिलाई पनि कमजोर बनाउन सक्छ
सहयोगी एवं व्यापारिक साझेदार अमेरिकाबाट प्रतिबन्ध लाग्ने जोखिमका बाबजुद भारतले रुसबाट एस–४०० मिसाइल लिन लागेको छ । भारतसँग सुमधुर सम्बन्ध कायम राख्ने दीर्घकालीन स्वार्थका कारण अमेरिकाले यसबाट बच्ने उपाय खोजिरहेको देखिन्छ । पहिले नै केही अमेरिकी सिनेटरले राष्ट्रिय सुरक्षामा उदारताको व्यवस्था बनाउन राष्ट्रपति जो बाइडेनसमक्ष लबिङ गर्दै छन् । उसो त भारतजस्तै मामिलामा पोहोर साल अमेरिकाले टर्कीलाई प्रतिबन्ध लगाएको थियो ।
अमेरिका चीनविरुद्ध अग्रभागमा रक्षाका निम्ति र इन्डो–प्यासिफिक क्षेत्रलाई व्यापारका लागि खुला राख्न बलियो इन्डो–प्यासिफिक गठबन्धन निर्माण गर्ने प्रक्रियामा रहेको छ । गठबन्धनलाई अधिनायकवादविरुद्ध लोकतन्त्रको ढालका रूपमा पनि प्रक्षेपित गरिएको छ । ‘क्वाड्रिलेटरल सेक्युरिटी डाइलग’ (क्वाड) एक शक्तिशाली गठबन्धन हो । यसमा दुई आणविक शक्तिहरू अमेरिका र भारत, विश्वका पाँच सबैभन्दा शक्तिशाली सेनामध्ये तीन, विश्वका शीर्ष ६ अर्थतन्त्रमध्ये तीन र तीन सय खर्ब डलरभन्दा बढीको संयुक्त जिडिपी समाविष्ट छ । यस गठबन्धनको संयुक्त जिडिपी चीनको भन्दा दोब्बर हो । यदि गठबन्धन कायम रहिरहने हो भने यसले चीनलाई आफ्नै छिमेकी दक्षिण र पूर्वी एसियामा प्रभुत्व जमाउनबाट मात्र रोक्दैन, बेइजिङलाई नियन्त्रणमा राख्न र चिनियाँ आक्रामक व्यवहारलाई साम्य पार्न पनि यो सफल हुन सक्छ ।
भारत र अमेरिका दुवै भारत–अमेरिका साझेदारीको रणनीतिक र आर्थिक फाइदाबारे अनभिज्ञ छैनन् । सन् २०१७ र २०२० मा दुई सैन्य झडप भइसकेको सन्दर्भमा भारतका लागि अमेरिकासँगको सैन्य गठबन्धनले चीनको बढ्दो क्षेत्रीय सैन्य आक्रामकताबाट जोगाउन सक्छ । अमेरिकाले पनि एक परमाणु शक्ति, व्यापारिक हिस्सेदार र उदाउँदो अर्थतन्त्र एवं इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभुत्व जमाउन नदिन सुनिश्चित गराउने भारतलाई साझेदार बनाउन चाहन्छ ।
यद्यपि, भारत एक समस्याग्रस्त साझेदार हो, जसले गठबन्धनलाई छिन्नभिन्न बनाउने मात्र होइन, अमेरिकाको चीन नीतिलाई पनि कमजोर बनाउनसमेत सक्छ । म रुसको एस–४०० मिसाइलहरू खरिद गर्ने भारतको रणनीतिलाई संकेत गरिरहेको छैन, वास्तवमा यो आफैँमा भारत संयुक्त राज्य अमेरिकासँगको विकासशील साझेदारीलाई चोट पु¥याउन तयार रहेको संकेत हो । यसलाई अन्य क्वाड साझेदार अस्ट्रेलियाको निर्णयसँग तुलना गरेर हेरौँ, जहाँ अस्ट्रेलियाले फ्रान्सलाई क्रुद्ध पारेर अमेरिका र बेलायतबाट आणविक पनडुब्बीहरू खरिद गर्ने जोखिम मोलेको छ । तर, यस कदमले अस्ट्रेलियाको सैन्य क्षमता र अमेरिकासँगको सम्बन्ध दुवैलाई बलियो बनाएको छ ।
एस–४०० को निर्णय स्पष्ट रूपमा भारतलाई अस्ट्रेलियाको जस्तो अनुकूल परिस्थिति निम्त्याउने खालको छैन । एक सहयोगीका रूपमा भारतले गठबन्धनमा धेरै बोझहरू निम्त्याउने देखिन्छ र यसबाहेक भारत अमेरिकी रक्षा प्रणालीमा पूर्ण रूपमा जोडिन पनि अनिच्छुक छ । भारतको लोकतन्त्र थप प्रतिगमनमा पर्ने जोखिममा छ अर्थात् हिन्दू राष्ट्रवादले भारतको धर्मनिरपेक्ष र लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउँदै गइरहेको छ । हिन्दू राष्ट्रवादीहरू भारतको संविधान र त्यहाँका अल्पसंख्यक जनसंख्याविरुद्ध लडिरहेका छन् । आफैँभित्र युद्ध छेड्ने राष्ट्र कसरी महाशक्तिहरूको युद्धमा एक प्रभावकारी सहयोगी हुन सक्छ ?
सन् २०१९ मा दोस्रोपटक सत्तामा आएदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हिन्दू राष्ट्रवादीहरूले भारतीय मुस्लिमलाई राजनीतिक रूपमा सीमान्तकृत गर्ने र सांस्कृतिक रूपमा उनीहरूलाई विलुप्त पार्ने स्पष्ट उद्देश्यसाथ कानुन र नीतिहरू बनाएका छन् । मुसलमानहरूको जीवन, सम्पत्ति एवं रोजगारी खतरामा छ र उनीहरू भारतका नयाँ अछुत बनेका छन् । भारतीय मुसलमानहरूको संख्या करिब २० करोड छ र उनीहरूलाई उत्पीडन गर्न राज्यको ठूलो स्रोत चाहिन्छ । मुख्यतः मुसलमानमाथिको राज्य आतंकले भारतलाई लोकतन्त्रबाट झन् टाढा लैजाँदै छ । भारत पहिले नै लोकतान्त्रिक मूल्यांकनमा चिप्लिएको छ र अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले भारतको निराशाजनक अवस्थाका कारण विशेष रूपमा चिन्ताजनक मुलुकका रूपमा राख्न सिफारिस गरेको छ ।
बाइडेन क्वाडलाई लोकतन्त्रको गठबन्धनका रूपमा परिकल्पना गर्छन् अर्थात् अस्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाले चीनको अधिनायकवादी व्यवस्थाविरुद्ध लड्ने शक्तिका रूपमा देख्छन् । तर, यदि भारतीय लोकतन्त्र झन्–झन् खस्किँदै जाँदा क्वाड लोकतान्त्रिक हुनेछैन र अमेरिकालाई भारतसँगको साझेदारीलाई जायज ठह¥याउन संघर्ष गर्नुपर्ने हुनेछ । यदि अमेरिका निरंकुशताविरुद्ध लोकतन्त्र अमेरिका–चीन ‘प्रतिस्पर्धा’ जारी राख्छ भने अमेरिकाले आफ्नै घर वा साझेदार राष्ट्रहरूमा हुँदै गरेको लोकतन्त्रको पतनलाई बेवास्ता गर्न सक्दैन । जसरी बाइडेनले घरमा लोकतन्त्रको पुनर्निर्माण गर्ने प्रयास गर्छन्, त्यसरी नै उनले भारतललाई पूर्ववत् रूपमा फर्किन र धर्मनिरपेक्ष लोकतन्त्रको संवैधानिक व्यवस्थालाई अंगीकार गर्न आग्रह गर्नुपर्छ । अलोकतान्त्रिक भारतले इन्डो–प्यासिफिक रणनीतिको नैतिक आधारलाई कमजोर बनाउनेछ । अमेरिका र भारतले हिन्दू राष्ट्रवादको नियन्त्रणबारे गम्भीर छलफल गर्न आवश्यक रहेको देखिन्छ ।
उसो त अमेरिकी विदेश नीतिमा पाखण्डको इतिहास रहेको छ । दशकौँदेखि अमेरिकाले लोकतन्त्रको प्रवर्धन र मानवअधिकार आफ्ना विदेश नीतिका प्रमुख तत्वहरू हुन् भनेर दाबी गर्दै आएको छ, तर दशकौँदेखि अमेरिकाले मध्यपूर्वमा राजतन्त्र, सैन्य शासन र तानाशाही व्यवस्थालाई समर्थन गर्दै आएको छ । अमेरिकाले आफ्नो पाखण्डी नीतिका कारण मध्यपूर्वमा मानव जीवन एवं स्रोत–साधनका हिसाबले ठूलै मूल्य चुकाउनुपरेको छ । आशा गरौँ, इन्डो–प्यासिफिक मञ्चमा अमेरिकाको यो गल्ती दोहोरिनेछैन । द नेसनल इन्टरेस्टबाट