४४७१ मतदाता, अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुने
राप्रपामा नेतृत्वका लागि शुक्रबार चुनावी प्रक्रिया शुरु हुने भएको छ । अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले बिरोध जनाएपछि छानबिन समिति गठन गरेर यससम्बन्धी बिवाद समाधान गरिएको छ ।

विवाद भएपछि राप्रपा बरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको केन्द्रिय निर्वाचन समितिले तोरणबहादुर गुरुङ्, पुष्कर अधिकारी, श्यामबहादुर शाही, झनक प्याकरेल र कैयाँ चौधरी रहेको छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनपछि शुक्रबार साँझ मतदाता नामावलीको सूची टाँसेको छ ।
छानविन समितिका एक सदस्यका अनुसार करिब दुई सय जनाको फर्जी नाम राखिएको थियो, ती नाम हटाइएको छ । जिल्लाले सिफारिश गरेका महाधिवेशन प्रतिनिधिको नामलाई समितिले मान्यता दिएको छ । अब कुल मतदाताको संख्या चार हजार चार सय ७१ भएके छ । निर्वाचनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री सहित एक सय ४१ जना निर्वाचित हुने व्यवस्था छ ।
बिहिबार साँझसम्म अध्यक्षका प्रत्यासी थापा र लिङ्देन दुबै पक्षले प्यानल तय गरेका छन् । विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन् । तयसबाहेक थापा समुहमा बुद्धिमान तामाङ, धु्रबबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन् । त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारहरूमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ ।
थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन् । त्यस्तै, लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ ।
केन्द्रिय निर्वाचन समितिका अनुसार राप्रपाका अध्यक्षसहित पदाधिकारी र केन्द्रिय सदस्यका दावेदारहरूले शुक्रबार बिहानदेखि उम्मेदवारी दर्ता गराउने समय दिइएको छ । बिहान ७:३० बजेदेखि अध्यक्षसहित पदाधिकारी तथा केन्द्रिय सदस्यलाई फारम बितरण शुरु हुनेछ भने विहान ११ बजेबाट १:३० सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । अपरान्ह पाँच बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । शनिबार बिहान आठ बजेदेखि पाँच बजेसम्म अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रिय सदस्यका लागि निर्वाचन हुनेछ । अध्यक्षको चुनाब मतपत्रबाट हुनेछ भने बाँकीको भोटिङ मेशिनबाट हुने छ ।