अमेरिकी न्यायालयको चुक दक्षिणपन्थीलाई सहयोग

बुधबार, ८ मंसिर, २०७८
डिजिटल संस्करण

रिटेनहाउस सुनुवाइले अमेरिकी सर्वोच्च अदालतलाई खुलमखुला हतियार बोक्न पाउने अधिकारलाई सदर गर्ने बाटो निर्माण गरिदिएको छ


अप्ठ्यारोबाट पन्छिने र परिस्थिति अनुकूल बन्ने प्रवृत्ति राष्ट्रपति जो बाइडेनको मुख्य रणनीति बनेको देखिन्छ । राष्ट्रपति चुनावी अभियानका क्रममा बाइडेनले काइल रिटेनहाउसलाई श्वेत सर्वोच्चतावादीका रूपमा चित्रण गरेका थिए । स्मरण रहोस्, रिटेनहाउसले अश्वेतहरूको एक सार्वजनिक विरोध प्रदर्शनमा गोली चलाएका थिए र दुईजना मारिएका थिए भने एकजना घाइते भएका थिए । र उनले अदालतमा विभिन्न मुद्दा खेपिरहेका थिए । हालै रिटेनहाउसका पक्षमा उनीविरुद्ध लागेका पाँचवटा मुद्दामा उनी दोषी नभएको फैसला आएको छ । यसबारे प्रश्न गरिँदा बाइडेनले अहिले बोली फेरेका छन् । ‘हेर्नुहोस् म न्यायालयको फैसलाका पक्षमा उभिएको छु’ बाइडेनले भने । ‘न्यायप्रणालीले काम गर्छ र हामीले यसको पालना गर्नुपर्छ’ उनी थप्छन् ।

के न्यायालयले निष्पक्ष फैसला गर्छ ? रिटेनहाउस दोषी थिए भन्ने ठान्नेहरूका लागि सुनुवाइको नतिजाले आक्रोश निम्त्यायो जहाँ यो फैसलालाई श्वेत विशेषाधिकारको एक सांकेतिक अभिव्यक्तिका रूपमा लिइएको छ । ‘यो डरलाग्दो निर्णय हो र न्यायको पतन हो । निर्णयले पहिलो संशोधन अधिकार अर्थात् अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूति गर्नेलगायतका अधिकार प्रयोग गर्नेहरूलाई भयावह सन्देश दिन्छ’ कांग्रेस प्रतिनिधि बबी रसले प्रतिक्रिया जनाएका छन् । ‘यस मामिलामा सबै गोटीहरू सत्यविरूद्ध चालिएको स्पष्ट देखिन्छ । तैपनि, अन्ततः सत्यको जित हुनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु’ रस थप्छन् । विरोधीइतरका लागि यो निर्णय दोस्रो संशोधन अर्थात् आत्मरक्षाका लागि हतियार बोक्ने अधिकारको अनुमोदन थियो । ‘काइल र उनको परिवार अब शान्तिसँग बाँच्न सकोस्’ कांग्रेस प्रतिनिधि मर्जोरी टेलर ग्रिनले ट्विटरमा लेखेका थिए । ‘काइल असल मानिसमध्ये एक हुन्’ टेलर थप्छन् । मत सर्वेक्षणअनुसार अधिकांश डेमोक्य्राटहरूले रिटेनहाउस दोषी थिए भन्ने विश्वास गर्छन् भने रिपब्लिकनहरू गर्दैनन् ।

हालसम्म केनोसा विस्किन्सन हत्याको सुनुवाइको फैसलामा कुनै विरोध प्रदर्शन भएको छैन । गभर्नर टोनी एभर्सले स्थानीय अधिकारीले अनुरोध गरेको समारोहमा नेसनल गार्डका पाँच सय सदस्यलाई सक्रिय गरेका थिए । ‘केनोसनहरू बलिया एवं लचिला छन् र गत वर्ष भएको घटनालाई लिएर सामूहिक रूपमा पीडा बिर्साउन र पुनर्निर्माण गर्न कडा मिहिनेत गरेका छन्’ एभर्सले गत मंगलबार ट्विट् गरेका छन् । ‘केनोसा र विस्किन्सनमा विभाजन ल्याउने प्रयास वा पीडा बिर्साउने सामूहिक काममा अवरोध ल्याउनेहरूलाई स्वागत गरिनेछैन’ भनेर चेतावनी दिएका छन् । 

न्यायालयको फैसलाले रिटेनहाउसलाई उनीविरुद्ध लगाइएका सबै आरोपबाट निर्दोष भएको ठहर हुँदा अचम्म मान्नुपर्दैन । अचम्म त उनी दोषी ठहरिएका भए हुन्थ्यो । अगस्ट २०२० केनोसामा प्रहरीद्वारा हत्या गरिएका ज्याकोब ब्लेकको सन्दर्भमा ब्ल्याक लाइभ्स म्याटरको विरोध प्रदर्शनबीच एआर–१५ सेमी–अटोमेटिक राइफल लिएर १७ वर्षीय किशोर रिटेनहाउसले प्रवेश गरेका थिए र गोली चलाएका थिए । खतरा हुनेगरी गोली नै चलाउनुपर्ने अवस्था नरहेको प्रमाणित गर्नुपर्ने भार सरकारमा रहेको थियो । यो त्रुटिपूर्ण आदेश थियो र अभियोजन पक्षले स्पष्ट रूपमा रिटेनहाउसले जोसेफ रोजेनबम र एन्थोनी ह्युबरलाई मार्ने र गेज ग्रोस्क्रेउट्जलाई घाइते बनाउने गरी गोली चलाउनु आत्मरक्षा थिएन भनेर न्यायालयलाई मनाउन असफल भएका छन् । 

वास्तवमा ग्रोस्क्रेउट्जले रिटेनहाउसतर्फ बन्दुक तेस्र्याएको हुँ भन्ने बयान दिएर मुद्दालाई कमजोर बनाएका थिए । जेरेमी स्टाहलले स्लेटमा उल्लेख गरेझैँ ‘यो बयान अभियोजन पक्षका लागि यति कमजोर भयो कि बयानलाई पछ्याउँदै जाँदा यसले न्यायाधीशका पहिलेको निर्णयलाई स्पष्ट रूपमा अवज्ञा गर्दै गयो र रिटेनहाउस पक्षले न्यायिक प्रक्रिया नै निष्पक्ष नरहेको दाबी गर्न पाए’ ।  

रिटेनहाउस सुनुवाइले अमेरिकी सर्वोच्च अदालतलाई खुल्लमखुल्ला हतियार बोक्न पाउने अधिकारलाई सदर गर्ने बाटो पनि निर्माण गरिदिएको छ । रिटेनहाउस आफैँले पनि मानहानीको मुद्दा दायर गर्न सक्छ । ‘उनी लगभग हरेक मूलधारका मिडिया, असंख्य सेलिब्रेटी, राजनीतिज्ञहरू र संयुक्तराज्य अमेरिकाका वर्तमान राष्ट्रपतिद्वारा बदनाम भएका छन् । म आशा गर्छु कि तपाईंले चाँडै धेरै मानहानी मुद्दा देख्नुहुनेछ’ रिटेनहाउसका पूर्ववकिल जोन पियर्सले भनेका छन् ।  

रिटेनहाउस सम्भवतः २०२० को मध्यावधि चुनावमा दक्षिणपन्थीहरूका लागि एक चर्चित प्रचार व्यक्ति बन्न सक्छन् । दक्षिणपन्थी कांग्रेस प्रतिनिधि म्याट गेट्जले पहिले नै रिटेनहाउसले उनका लागि इन्टर्नका रूपमा काम गर्न सक्छन् भन्ने विचार राखिसकेका छन् । ‘हामी उहाँलाई सम्पर्क गर्न सक्छौँ’ गेट्जले भने । ‘हेरौँ, उनी मुलुकलाई थप सहयोग गर्न इच्छुक छन् कि छैनन्,’ गेट्ज थप्छन् । लिंकन मेमोरियलमा अमेरिकी आदिवासी ड्रमरमाथि दुव्र्यवहार गरेको आरोप लागेका निक स्यान्डम्यानको मुद्दा शिक्षाप्रद हुन सक्छ भनेर मेरिडिथ म्याकग्राले पोलिटिकामा लेखेकी छिन् ।

स्यान्डम्यानले मानहानीको मुद्दा दायर गरेका थिए र सन् २०२० मा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा आलोचनाको संस्कृति (क्यान्सिल कल्चर)विरुद्ध खनिएका थिए । वास्तवमा स्यान्डम्यानले रिटेनहाउसलाई पहिले नै डेली–मेलमा लेख लेखेर मानहानीको मुद्दा हाल्न सुझाव दिएका छन् । अब रिटेनहाउसलाई एक प्रभावशाली उदारवादी प्रगतिशील संस्कृतिको सिकारका रूपमा हेर्ने सम्भावना बढ्ने देखिन्छ । द नेसनल इन्ट्रेस्टबाट 

सुझावित समाचार