सन् ०२०–०२१ को किसान आन्दोलनले लोकतान्त्रिक व्यवस्थामा असहयोग एवं नागरिक अवज्ञा आन्दोलनको सान्दर्भिकतालाई पुनः स्थापित गरेको छ
गुरु नानकको ५५१औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्को आगामी अधिवेशनबाट तीनवटा कृषि ऐन खारेज गर्ने घोषणा गरेका छन् । यस घोषणाले सिख धर्मको इतिहाससँग एक उल्लेखनीय समानान्तर संकेत दिन्छ, जुन पन्जाबको इतिहाससँग एकदमै निकट छ । सम्राट् जहाँगिरको शासनकालदेखि नै सिखहरू मुगल कानुनसँग संघर्षमा आएका थिए । सिख धर्मावलम्बीका विभिन्न गुरुहरूको नेतृत्वमा भएको बलिदानी संघर्षपश्चात् महाराजा रणजित सिंहको शासनकालमा सिख साम्राज्यको उदय भएको थियो ।
अहिले फेरि एकपटक सिखहरूको नेतृत्वमा किसानहरूले आधुनिक लोकतान्त्रिक शासकहरूले लादेका दमनकारी कानुनविरुद्ध आफ्नो सामथ्र्य पुष्टि गरेका छन् । यस आन्दोलनको स्वतन्त्रता संग्रामसँग पनि अनौठो समानता देखिन्छ । ४ सेप्टेम्बर सन् १९२० मा कलकत्तामा कांग्रेसको विशेष अधिवेशन भएको थियो । लोकमान्य तिलकको निधन भएको थियो र पार्टीको अध्यक्षता लाला लाजपतले गरेका थिए । तनावपूर्ण वातावरणमा असहयोग आन्दोलनसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय गर्न कांग्रेसको बैठक बसेको थियो । महात्मा गान्धीले असहयोग आन्दोलन प्रस्तावलाई विषय समितिसमक्ष राखेका थिए, जुन यस प्रकार रहेको छ– ‘सन् १९१९ अप्रिल घटनाका सन्दर्भमा दुवै सरकारहरूले पन्जाबका
निर्दोष जनताको सुरक्षा गर्न र उनीहरूमाथि अहिंस्रक र बर्बर व्यवहार गर्ने दोषी अधिकारीहरूलाई दण्ड दिन घोर बेवास्ता गरेका छन् वा दण्ड दिन असफल भएका छन् । जहाँ अधिकांश अपराधका लागि आफूलाई प्रत्यक्ष रूपमा जिम्मेवार र आफ्नो प्रशासनले जनताप्रति कठोर रबैया अपनाएका सर माइकल ओ’ड्वायर निर्दोष ठहरिएका छन् । यी तथ्यको संज्ञान लिँदै कांग्रेसले भारतका जनताका लागि कुनै विकल्प बाँकी नरहेको पाएको छ । जबसम्म यी गल्ती सच्याइँदैनन् र स्वराज्य स्थापना हुँदैन, तबसम्म महात्मा गान्धीद्वारा ल्याइएको प्रगतिशील अहिंसावादी असहयोगको नीतिलाई अनुमोदन र अवलम्बन गरिनेछ ।’
यसरी असहयोग आन्दोलनको जन्म भएको थियो । यो आन्दोलनले अनुशासन र आत्मबलिदानको एक मापदण्ड सिर्जना गर्यो, जसको अभावमा कुनै पनि राष्ट्रले वास्तविक प्रगति गर्न सक्दैन । यो आन्दोलनले प्रत्येक जनतालाई अनुशासन र आत्म–बलिदान आन्दोलनमा सहभागी हुने अवसर प्रदान गर्यो । चाखलाग्दो कुरा के छ भने असहयोग आन्दोलनले तीन सबैभन्दा महत्वपूर्ण क्षेत्रहरू व्यवस्थापिका, तल्लो अदालत र शैक्षिक संस्थाहरू बहिष्कार थिए । पछि उत्तर प्रदेशमा तीव्र आर्थिक संकटले नागरिक अवज्ञालाई थप बल प्रदान गर्यो ।
किसानहरू कर तिर्ने स्थितिमा थिएनन् र सरकारले आंशिक छुट मात्र गर्यो, जुन मूलतः अपर्याप्त थियो । एक प्रख्यात अंग्रेज विद्वान् भेरियर एल्विनले ती क्षेत्रको भ्रमण गरेका थिए र उत्तर प्रदेशको अवस्थालाई ‘किसानहरूको अवस्था निकै दयनीय रहेको र कांग्रेसले उठाएका कदमहरू पूर्ण रूपमा जायज छन्’ भनेर वर्णन गरेका थिए । ‘जनताको भावनालाई हेर्ने हो भने वास्तविक असफलता अर्को (सरकार) पक्षबाट भएको देखिन्छ,’ एल्विनले निष्कर्ष निकालेका थिए ।
भारतीयहरूको जीवन, सम्पत्ति एवं व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने कानुनहरूलाई व्यवहारतः हटाउने गरी अंग्रेजहरूले जारी गरेका अध्यादेशका शृंखलाले तीव्र विरोध झेलेका थिए । मदन मोहन मालवीयले २६ जनवरी १९३३ मा ‘...विगत १५ महिनामा हजारौँ महिला र बालबालिकासहित झन्डै एक लाख २० हजार मानिसलाई गिरफ्तार गरिएको छ । जब दमन सुरु भयो, सरकारले ६ साताभित्र कांग्रेसलाई सिध्याउने अपेक्षा खुला रहस्य नै हो । पन्ध्र महिना बितिसक्दा पनि सरकारले कांग्रेसलाई सिध्याउन सकेन । १५ त के ३० महिनामा पनि सरकार यो लक्ष्य हासिल गर्न सक्षम हुनेछैन ।’ भनेर घोषणा गरेका थिए ।
असहयोग वा नागरिक अवज्ञा आन्दोलनले हामीलाई सन् १९४७ मा अंग्रेज उपनिवेशबाट स्वतन्त्रता दियो । यी आन्दोलनमा सन्देह गर्नेहरूले स्वतन्त्रता संग्राम र लाखौँको बलिदानबारे आफ्नो ज्ञान एवं बुझाइको कमी छताछुल्ल पार्छन् । २०२०–२०२१ को किसान आन्दोलनले लोकतान्त्रिक व्यवस्थामा असहयोग एवं नागरिक अवज्ञा आन्दोलनको सान्दर्भिकतालाई पुनः स्थापित गरेको छ । असंवैधानिक एवं अन्यायपूर्ण कानुनको नागरिकले सधैँ विरोध गर्नुपर्छ– यो स्वतन्त्रता संग्रामको सन्देश हो । त्यसैगरी सत्तासीनहरूले २० अप्रिल १९६४ मा प्रिटोरियाको सर्वोच्च अदालतमा रिभोनिया सुनवाइमा नेल्सन मन्डेलाले व्यक्त गरेका यी शब्दहरूलाई सम्झनुपर्छ :
‘म पहिलो अभियुक्त हुँ । उमखोन्टो (अफ्रिकन नेसनल कंग्रेसको सशस्त्र दस्ता) गठन गर्न सहयोग गर्ने व्यक्तिहरूमध्ये म पनि हुँ भनेर मैले पहिले नै उल्लेख गरिसकेको छु । हामीले संगठन दुई कारणले निर्माण गरेका हौँ । पहिलो जबसम्म जनताको भावनालाई नियमन र नियन्त्रण गर्न जिम्मेवार नेतृत्व हुँदैन, तब युद्धले पनि उत्पन्न नगराउने जात वा नश्लबीच तिक्तता एवं वैमनश्य निम्त्याउने गरी आतंकवाद मौलाउनेछ भन्ने सरकारको नीति हो । दोस्रो यो नीतिको विरोध गर्ने कुनै कानुनी बाटो नहुनु हो, जसले हामीलाई स्थायी रूपमा हीनतालाई स्वीकार गर्नुपथ्र्यो वा सरकारको अवज्ञा गर्नुपर्ने दुई विकल्प मात्रै उपलब्ध गरायो ।’
किसानको आन्दोलनले शान्तिपूर्ण प्रतिरोधमा पुनः विश्वास जगाएको छ । संसदीय बहुमत भनेको असंवैधानिक एवं अव्यावहारिक कानुन बनाउने लाइसेन्स होइन । सरकारले अनुग्रहसाथ निर्णय सच्याएर विवेकपूर्ण काम गरेको छ र किसानहरूले उत्तिकै अनुग्रहसाथ उपायलाई सहयोग गर्नुपर्छ । अन्त्यमा कृषि कानुन खारेजीसँगै सरकारले भारतका किसानलाई सहयोग गर्न थप रचनात्मक र सुधारात्मक उपायका लागि जोड दिनेछ भन्ने आशा गरौँ । द इन्डियन एक्सप्रेस