कौडा खेलिरहेका २९ जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान शुक्लागण्डकी नगरपालिका– ८ स्थित लालिमबाट नाै लाख ११ हजार चार सय पाँच रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा ८ नम्वर वडाका ३० वर्षीय भानुभक्त पराजुली, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, नारायणसिंह थापा, बिलबहादुर गुरुङ, चूडामणि पौडेल, रमेश भट्टराई, सोमप्रसाद पौडेल, मणिरत्न पौडेल, रोशन भट्टराई, प्रकाश भट्टराई रहेका छन् ।
त्यस्तै, शुक्लागण्डकी वडा नम्बर– ४ बस्ने सुरज रामजाली, नीर पुन, प्रकाश गुरुङ, अञ्जन गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, राजु पुन, मोहित जुहारचन, राजु मगर, मानबहादुर परियार र श्याम गुरुङ रहेका छन् । त्यस्तैगरी शुक्लागण्डकी– ३ बस्ने दीपक सुनार, विष्णु विश्वकर्मा, गोविन्द विक, वडा नम्बर २ का रूपेश गुरुङ र वडा नम्बर ११ बस्ने कृता भट्टराई रहेका छन् ।
शुक्लागण्डकी– ८ लालिम स्थित बिलबहादुर गुरुङको घरमा ठूलो धनराशिमा कौडा खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरूको साथबाट नगदसहित १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइहेको छ,’ उनले भने । पछिल्लो समय तनहुँका बजार क्षेत्रमा चाडपर्वको वेला कौडा र जुवातास खेल्नेको संख्या बढ्दै गएको छ ।