दाङको तुलसीपुरबाट पक्राउ परेका आठ जुवाडेलाई धरौटीमा छोडिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरूलाई सोमबार छोडिएको हो ।
उनीहरू प्रत्येकलाई २५ हजारका दरले दुई लाख धरौटी राखेर छोडिएको उनले बताए । ‘तीनवटा निकायले जुवाको केस हेर्छ,’ उनले भने, ‘हामीले मुद्दा त चलाइसकेका छौँ, त्यसमा सरकारी वकिल कार्यालय र जिल्ला प्रशासनले मुद्दा हेर्छ, धरौटीमा छुटे पनि मुद्दा भने चलिरहेको हुन्छ ।’
प्रहरीले अनुसन्धानको फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले धरौटी बुझाएर छोड्न प्रहरीलाई आदेश गरेको थियो । गएको कात्तिक १२ गते अपराह्न ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ६ रजौरामा जुवा खेलिरहेको अवस्थामा एमाले नेता मानबहादुर रावत, कांग्रेसका सुरेन्द्र हमाल, दीपेन्द्र गिरी ‘दीपु’, रोहित न्यौपाने, चित्रबहादुर बस्नेत, मीनकेतन गिरी, विवेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार दुई सय रुपैयाँसहित पक्राउ गरेको थियो ।