फेसबुकदेखि मेटा : नयाँ बोतलमा पुरानै रक्सी

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

कम्पनीको नाम परिवर्तनले फेसबुकको प्रतिष्ठामा कुनै सुधार आउनेछैन । यसलाई जुनसुकै नाम दिए पनि यसबाट घिनलाग्दो दुर्गन्ध नै आउनेछ ।


फेसबुक’ शब्दले हजारौँ चित्र कोर्छ र हरेक चित्र मानवीय अवस्थाको मुखाकृति हुन् । यी मुखाकृतिविना पनि मेरो दैनिकी खुसीसाथ बित्छ । मोन्टानाका अवकाश प्राप्त सैनिकहरूको ‘मेसेज रिक्वेस्ट’मा ‘हेलो ब्युटिफुल लेडी’ लेखिएको हुन्छ । मेरी साथीकी आमा दुई सय माइल टाढाको सहरमा बढ्दो कुकुर चोरीको जोखिमबारे दोह¥याई–तेह¥याई पोस्ट गरिरहन्छिन् । बिलासी कार, थाइल्यान्डको बोक्सिङ मुये थाई, क्याम्ब्रिजकी सुन्दर युवती वा राजकुमारी जस्ता विषय, जसमा मलाई कुनै रुचि छैन, ती फेसबुकका सजेस्टेड पोस्टहरूमा आउँछन् । पेजहरूमा रोमाञ्चकारी ढंगले माछा मार्ने उपकरण वा आप्रवासीप्रतिको धारणाबारे छलफल गर्ने उद्देश्यले तस्बिरहरू साझा गरिन्छन् । कुनै एक आफन्तले एकदमै अपत्यारिलो वा मिथ्या खेलमा घर जितेको देख्न सकिन्छ । कोभिडविरुद्धको खोप लगाउँदा मस्तिष्कमा मासु पलाउँछ भन्ने ‘जानकारीमूलक’ इन्फोग्राफिक पनि हेर्न पाइन्छ । त्यसैगरी इंगेजमेन्टका फोटाहरू छ्यापछ्याप्ती देखिन्छन् । 

हालै फेसबुकले नाम फेर्दा एक कालखण्डको अन्त्य भएको जस्तो लाग्छ । १७ वर्षपछि करोडौँ डलर नाफा कमाएर र लोकतन्त्रलाई कमजोर बनाएको भन्ने साना विवादमा मुछिएपछि फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब उपरान्त फेसबुकको मूल कम्पनी मेटा नामले चिनिनेछ । नाम फेरिनुको कारण कम्पनीले नयाँ डिजिटल सम्भावना मेटाभर्समा जोड दिनु रहेको भनिएको छ । आममानिसको भाषामा मेटाभर्सको अर्थ कल्पित वास्तविकता अर्थात् भर्चुअल रियालिटी हो ।     

फेसबुकलाई थाहा छ, उसको हामीसँगको सम्बन्ध पहिले झैँ प्रगाढ छैन । विकिपिडिया पेज ‘क्रिटिसिजम अफ फेसबुक’ अर्थात् फेसबुकको आलोचना भन्ने शीर्षकमुनि आलोचनाको ठूलो सूची लेखिएको छ, जसमा करछली, प्रतिलिपि अधिकार हनन, कर्मचारीको श्रम शोषणदेखि थुप्रै स्थापित नरसंहारहरू भएकै थिएनन् भनेर देखाउने सामग्रीका बेरोकटोक प्रकाशनलगायत विषय उल्लिखित छन् । विशेषतः क्याम्ब्रिज एनालिटिका काण्डपछि संस्थापक मार्क जुकरबर्ग र कम्पनी आफ्नो बिग्रेको छवि धोई–पखाली गर्न उद्यत छन् ।

कम्पनीको नाम परिवर्तनले फेसबुकसँग सम्बन्धित सबै पक्ष विषाक्त भइसकेको सन्देश प्रवाह गर्छ । अर्थात् मिथ्या सूचनामा नियन्त्रण र ती सूचनाका स्रोतलाई हटाउने आश्वासन अब प्रभावकारी रहेनन् ।       बदनाम हुने गरी काण्डहरू भएपछि कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने चलन नौलो होइन । इराकी सर्वसाधारणको हत्यापछि निजी सुरक्षा कम्पनी ब्ल्याकवाटरले हत्यारा छवि मेटाउन दुईपटक नाम फेरेको थियो । विशाल सुर्ती कम्पनी फिलिप मोरिसलाई ‘अल्ट्रिया’ नामले विस्थापित गरियो र यसो गरिनुको कारण वा नियत सम्भवतः सुर्ती प्रयोगकर्तालाई तपाई‌ले ‘अल्ट्रुइजम’ अर्थात् त्याग गर्दै हुनुहुन्छ भन्ने स्थापित गर्नु देखिन्छ । सन् २००० को पहिलो दशकमा आलोचना भएपछि ब्रिटिस पेट्रोलियम (बिपी) ले आफ्नो छवि सुधार्न एवं हरित रूप दिन ‘बियोन्ड पेट्रोलियम’ नाम राख्यो । ‘बियोन्ड पेट्रोलियम’ले पेट्रोलियमको दायराभन्दा बाहिर भन्ने अर्थ दिन्छ ।

फेसबुक पनि माथिका कम्पनीझैँ छवि सुधार्न चाहन्छ, तसर्थ नाम परिवर्तन भयो । यद्यपि सामाजिक सञ्जालको नाम फेसबुक यथावत् छ । मेटाभर्सलाई भिडियोमार्फत लोकार्पण नगर्दा फेसबुक कम्पनीलाई नै मेटा राख्ने घोषणा गरेको भिडियो सबैभन्दा बढी हतोत्साही गर्ने सामग्री थियो । भिडियोमा समुद्रतर्फ ढाड फर्काएका जुकरबर्गको मानवाकृति (ह्युमनोइड) अहिलेसम्मकै सबैभन्दा विश्वसनीय थियो, अर्थात् मानवाकृति दुरुस्तै वास्तविक मानिसजस्तो थियो । जहाँ उनी आफ्ना क्यालिफोर्नियाका मित्रवत् हाकिमलाई मेटाभर्सले ‘तपाईंलाई सबैभन्दा सुन्दर जे लाग्छ’ त्यसका निम्ति ‘सुरक्षित स्थानको’ व्यवस्था गर्ने बताइरहेका छन् । पछि जुकरबर्गको अवतार, जसले जुनसुकै लुगा लगाउन सक्छ, तिनै जुकरबर्ग पछि आफ्ना साथीहरूसँग भर्चुअल रियालिटीमा तास खेल्छन् । भिडियोमा जुकरबर्ग तास खेलिरहेका वेला ‘यो ठाउँ कसले बनायो, गज्जब छ !’ भनेर अनौठा स्वरूपमा आएका तैरिरहेका साथीका अगाडि चिच्याउँछन् । तर, त्यो ठाउँ अन्तरिक्षमा छ र पछिल्ला केही वर्षयता अर्बपति व्यापारीहरूको अन्तरिक्षमा अर्थहीन लगाब देख्न सकिन्छ । गज्जब !    

म्याट्रिक्स सिनेमाको नयाँ सिक्वेल आउँदै छ (म्याट्रिक्स बहुचर्चित कल्पित विज्ञानमा आधारित अर्थात् साइन्स फिक्सन सिनेमा हो) म फेसबुकको मेटाभर्सलाई म्याट्रिक्सले देखाउने गम्भीर एवं डरलाग्दो कुरूपतासँग जोड्न बाध्य छु । मैले मेरी सानिमाको पूर्वश्रीमान्का अनौठो फेसबुक पकवान भिडियोमा कैद हुनुपर्छ भन्ने बिलकुल डर छैन । तर, मलाई डर यसकारण छ कि यथार्थलाई नै प्रभावित पारेका जुकरबर्ग अहिले कल्पित वास्तविकता अर्थात् भर्चुअल रियालिटीलाई यथार्थ (रियालिटी) मिसाउन उद्यत छन् ।

र, जुकरबर्ग यसैलाई भविष्य दाबी गरिरहेका छन्, जुन थप भयावाह हो । सम्भवतः अबको पाँच वर्षमा भर्चुअल चस्मा र हेडसेट लगाएर म आफ्ना साथीसँग कुनै भुइँचालोमाथि तास खेल्छु होला र त्यतिवेला नै बेलायतका कोठा–फ्ल्याटका भाडा, खाना वा पेट्रोलको मूल्यले आकाश छुनु पनि कुनै अनौठो हुनेछैन । कम्पनीको नाम परिवर्तनले फेसबुकको प्रतिष्ठामा कुनै सुधार आउनेछैन । यो नाम परिवर्तन सेक्स्पियरकै भाषामा भन्ने हो भने गुलाबलाई जे नाम दिए पनि सुगन्ध नै आउँछ, तर फेसबुकलाई जुनसुकै नाम दिए पनि घिनलाग्दो दुर्गन्ध नै आउनेछ । द गार्जियनबाट  
 

सुझावित समाचार