अफगानिस्तानको राजधानी काबुलबाट तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपाली आज स्वदेश आइपुग्दै छन् । उनीहरू काबुलबाट इरानको राजधानी तेहरान हुँदै शुक्रबार साँझ दुबई पुगेका थिए । इरानको महान एयरलाइन्सको उडानबाट दुबई पुगेका उनीहरूमध्ये तीनजना फ्लाई दुबई र २९ जना नेपाल एयरलाइन्सबाट काठमाडौं ल्याइँदै छ ।
रामप्रसाद सुवेदी नेपाली कार्यबाहक राजदूत, दिल्ली
अफगानिस्तानबाट नेपालीहरूको उद्धार प्रक्रियाले पूर्णता पाएको छ । लामो मिहिनेतपछि हामीले नागरिक उद्धार गर्न सफलता पाएका छौँ । पहिला फर्किनुभएका दुईजना र शनिबार फर्किनुहुने ३२ जनाको हवाई टिकट शुल्क, विलम्ब शुल्क, पिसिआर परीक्षण शुल्कसहित सबै नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको छ, काबुलबाट आइडिजी कम्पनीले बिल पेस गरेको तीन सातामा नेपाल सरकारले भुक्तानी गर्ने सहमति भएको छ ।
‘अफगानिस्तानबाट नेपालीहरूको उद्धार प्रक्रियाले पूर्णता पाएको छ । लामो मिहिनेतपछि हामीले नागरिक उद्धार गर्न सफलता पाएका छौँ,’ उद्धार प्रक्रियाको नेतृत्व गरेका दिल्लीस्थित नेपाली कार्यबाहक राजदूत रामप्रसाद सुवेदीले भने ।
उद्धार गर्नुपर्ने सूचीमा ३४ नेपाली रहे पनि वैधानिक कागजपत्र भएका दुईजना ३ कात्तिकमा फर्केका थिए । काबुलबाट ३४ नेपालीको उद्धारका क्रममा लाग्ने सबै खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको पनि सुवेदीले जानकारी दिए ।
‘पहिला फर्किनुभएका दुईजना र शनिबार फर्किनुहुने ३२ जनाको हवाई टिकट शुल्क, विलम्ब शुल्क, पिसिआर परीक्षण शुल्कसहित सबै नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको छ, काबुलबाट आइडिजी कम्पनीले बिल पेस गरेको तीन सातामा नेपाल सरकारले भुक्तानी गर्ने सहमति भएको छ,’ कार्यबाहक राजदूत सुवेदीले भने । हवाई टिकटबापत प्रतिव्यक्ति १३ सय अमेरिकी डलर, विलम्ब शुल्कबापत करिब ६५ अमेरिकी डलर लागेको छ ।
१५ अगस्टमा तालिबानले अफगानिस्तानको शासनसत्ता लिएसँगै काबुलबाट करिब हजार नेपालीको उद्धार एक महिनाअघि नै भएको थियो । ३४ जना भने विमानस्थल पुगेर पनि स्वदेश फर्किन पाएका थिएनन् । त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्वारा हुँदै उनीहरू राष्ट्रसंघीय हाता (ग्रिन जोन)मा बस्दै आएका थिए । काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक बेलायती कम्पनी आइडिजीले खान र बस्नको व्यवस्था गरेको थियो । आइडिजीले सुरुमा आफ्नै खर्चमा नेपालीलाई काठमाडौं ल्याइदिने वचन दिए पनि पछि हटेपछि सरकारले जिम्मा लिएको हो ।
उद्धार भएकाहरू कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएका थिए भने कोही १८ महिनादेखि बेरोजगार थिए । उनीहरूलाई सुरुमा सुरक्षाप्रदायक कम्पनीका बिचौलियाले काबुलका विभिन्न होटेलमा खानपिन र बसोवासको बन्दोबस्तसहित राखेका थिए । तर, उनीहरूले जागिर पाएका थिएनन् ।
आइडिजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीलाई काठमाडौं उडान भर्ने तय गरेको थियो । सुरुमा २ असोजमा ल्याउने भनेको आइडिजीले प्राविधिक कारण देखाएर दुई दिन पछि सारेको थियो । अफगानिस्तानबाट उडान भर्ने भनिएका एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय नियम पालना नगरेको भन्दै भारतले दिल्ली आउने अनुमति दिन आनाकानी गरेको आइडिजीले नेपाल सरकारलाई जानकारी पठाएको थियो ।
उद्धार गर्नुपर्ने ३४ नेपालीमध्ये २९ जनासँग भएको पासपोर्टमा भिसाको म्याद सकिएको थियो । उनीहरूले तिर्नुपर्ने विलम्ब शुल्क सुरुमा आइडिजीले नै व्यहोर्ने भनेको थियो । तर, आइडिजीजीका अधिकारीहरूले पछि मिनाहा गर्न नसकिने भनेका थिए भने नेपाल सरकारका तर्फबाट उक्त रकम तिर्ने वचन दिइएको थियो । दिल्लीस्थित दूतावासले पासपोर्ट नभएका तीनजनालाई काबुलबाट एकतर्फी नेपाल आउन ट्राभल डकुमेन्ट पठाएको थियो ।
