तासको खालबाट एक सय ६० पत्ती ताससहित तीन लाख ५२ हजार नगदसमेत बरामद
नुवाकोटको सूर्यगढी गाउँपालिका– ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौजनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा बिहीबार राति पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका– ४ स्थित एक होटेलमा तास खेलिरहेको अवस्थामा वडाध्यक्ष अधिकारीसहित नौजनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर– १ का कृष्ण विश्वकर्मा, विदुर– ४ का केशवप्रसाद पन्त, विदुर– ५ का नवीन चित्रकार, विदुर– ६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा– १० का सन्तोष त्रिपाठी, लिखु गापा– ३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर– ६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतीहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट एक सय ६० पत्ती ताससहित तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।