रुसमा कम्युनिस्टको पुनरागमन

क्रेमलिनले रुसी लिबरलहरूलाई जस्तै कम्युनिस्ट पार्टीलाई पनि भूमिगत हुन बाध्य बनायो भने सामाजिक विस्फोटको जोखिम बढ्नेछ

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

एक वर्षअघि म बिदामा आफ्नो गृहनगर मस्को गएकी थिएँ । मस्को वाक स्वतन्त्रताका लागि चिनिने सहर होइन । तर, म पुग्दा सहरमा अझै सीमित स्वतन्त्रता जेनतेन बाँकी थियो । विपक्षी नेता एलेक्सी नभाल्नी देशव्यापी घुुलेर क्रेमलिनको हातमा जान बाँकी राजनीतिज्ञको समर्थन हासिल गर्ने प्रयास गरिरहेका थिए । त्यसपछि ठूला–ठूला प्रदर्शन भए । स्वतन्त्र एनजिओ पनि देशमा सञ्चालन भइरहेका थिए । पत्रकार तथा विश्लेषकहरूमध्ये धेरैले क्रेमलिनको इसारामा चल्न अस्वीकार गरिरहेका थिए । ती दिन कम्युनिस्टलाई विगतको अवशेषको रूपमा हेरिन्थ्यो । तर, यसबीच धेरै परिवर्तन भए । नभाल्नी जेल गए । प्रदर्शनहरू दबाइए ।

नभाल्नीको भ्रष्टाचारविरोधी आन्दोलनलाई ‘अतिवादी’ भनेर अवैध घोषणा गरिएको छ र यसका सदस्य या त अनुसन्धानमा छन्, या निर्वासनमा । लगभग हरेक दिनजसो नयाँ पत्रकार, मिडिया संस्थान, मानवअधिकारवादी र स्वतन्त्र संस्थानहरू ‘विदेशी एजेन्ट’ अथवा त्योभन्दा पनि खराब बिल्ला खेपिरहेका छन् । एक वर्षको अवधिमा रुसभित्र स्वतन्त्रताका मानकहरूमा उल्लेख्य क्षति पुग्यो । सन् २०१२ मा विदेशी एजेन्टको बिल्ला लगाउन सकिने कानुन कार्यान्वयन भयो । विदेशी फन्ड लिएर राजनीतिक क्रियाकलापमा संलग्न व्यक्ति तथा संगठनलाई निरुत्साहित गर्न यो कानुन ल्याइएको थियो । तर, यो कानुनलाई मनपरी ढंगले प्रयोग गर्न थालिएको छ । आजकल एउटा रिट्विटकै भरमा समेत विदेशी एजेन्ट घोषणा गरिन्छ । (‘नचाहिएको’ बिल्ला लागेमा स्वतः अवैध घोषणा गरिन्छ ।)

यो वर्ष हालसम्मकै धेरै १०१ निकायलाई विदेशी एजेन्टको सूचीमा राखिएको छ । त्यसबाहेक ८८ मिडियाकर्मीसहित ३५९ व्यक्ति तथा संस्थान पनि सूचीमा परेका छन् । रुसी सरकारका अनुसार ती निकायले राजनीतिमा प्रभाव पारिरहेकाले तिनलाई विदेशी एजेन्टका रूपमा सूचीकृत गरिएको हो । तर, पत्रकारिताको मूल उद्देश्यमा राजनीतिलाई प्रभाव पार्ने र अन्य वकालतजन्य कार्य पर्छन्, समस्या त्यसैले उत्पन्न गरायो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई लामो समयसम्म रुसी राजनीतिमा कायम राख्ने प्रपञ्च मिलाए पनि उनी आलोचनाबाट खतरा महसुस गर्छन् । उनले आफ्ना आलोचकहरूलाई दमन तथा कारबाही चलाउने क्रममा नसोचिएको एउटा कम्युनिस्ट पार्टी शक्तिशाली प्रतिपक्षी बनेको छ । नभाल्नीले पछिल्लो चुनावमा क्रेमलिनसमर्थित उम्मेदवारलाई हराउन सक्ने सबभन्दा बढी सम्भावना भएकालाई मत हाल्न आह्वान गरेका थिए । ‘स्मार्ट भोटिङ’ रणनीति नाम दिइएको यसले कम्युनिस्टहरूलाई धेरै फाइदा ग¥यो । कम्युनिस्टहरूले अघिल्लो महिना सम्पन्न संसदीय तथा क्षेत्रीय चुनाव दुवैमा ठूलो मत हासिल गरेका छन् । सरकारी तथ्यांकअनुसार यो समूहले संसद् (स्टेट डुमा)का लागि भएको चुनावमा १८.९ प्रतिशत पपुलर मत हासिल गरेको छ । सो चुनावमा पुटिनको युनाइटेड रुसी पार्टीको मत ४९.८ प्रतिशत छ । तर, कम्युनिस्टहरूले मतमा धाँधली भएको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गरे । केही विज्ञले कम्युनिस्टहरूले कुल मतको ३० प्रतिशत र युनाइटेड रसियाले ३५ प्रतिशत हासिल गरेको हुन सक्ने प्रक्षेपण गरेका छन् । अर्थात्, धेरै रुसीहरूले पुटिनलाई भन्दा कम्युनिस्टलाई सम्मानका साथ हेर्न थालेका छन् । 

रुसको कम्युनिस्ट पार्टीले अघिल्लो महिनाको संसदीय तथा क्षेत्रीय चुनावमा बलियो प्रदर्शन गर्यो । चुनावी परिणाममा क्रेमलिनले छेडखानी नगरेको भए उसले अझ राम्रो प्रदर्शन गर्न सक्ने आकलन गरिँदै छ । तर, के रुसी कम्युनिस्ट पार्टीले क्रेमलिनविरुद्ध छिरलिएको प्रतिपक्षीलाई एकताबद्ध गर्न सक्ला ?

तर, वर्तमान रुसी कम्युनिस्ट पार्टी पुरानो समयभन्दा फेरिएको छ । पार्टीका सदस्यले महँगो कोट लगाएको देखिन्छ, विदेशका विभिन्न स्थान शयर गर्छन् र विदेशी कार चलाउँछन् । केही त करोडपति छन् (उदाहरणमा अघिल्लो महिना चुनावमा उठ्न बन्देज लगाइएको पाभेल एक हुन्) । ७७ वर्षीय गेन्नेडी ज्युगानोभले नेतृत्व गरिरहेको पार्टीप्रति युवाहरूको आकर्षण अहिले बढिरहेको छ । उदाहरणका लागि निकोलाई बोन्दारेन्कोलाई लिउँ । 

‘लाल नभाल्नी’को उपनामले चिनिने ३६ वर्षीय बोन्दारेन्को सन् २०१८ मा सरकारले गरेको पेन्सन सुधारको कटु आलोचक थिए । पछिल्लो समय एक क्षेत्रीय मन्त्रीले रुसी नागरिक ३५ सय रुबल (५० डलर)मा राम्रो खानपिन गर्न सक्ने टिप्प्णी गर्दा बोन्दारेन्कोले युट्युब च्यानलमार्फत ती नेत्रीलाई गलत प्रमाणित गरेका थिए । चुनावमा लड्न नदिने धम्की दिइए पनि उनले अन्ततः स्टेट डुमाको चुनाव लड्न पाए । नभाल्नीको ‘स्मार्ट भोटिङ’ प्रणालीको समर्थनका बाबजुद उनी युनाइटेड रसियाका उम्मेदवारसँग पराजित भए । तर, उनको भावी सम्भावनालाई नकार्न सकिँदैन । 

सम्भावना भएकी अर्की कम्युनिस्ट हुन्, ४३ वर्षीया एनास्टासिया उदाल्तसोभा । बोन्दारेन्कोजस्तै उनले गत चुनाव अप्रत्यारिलो रूपमा हारिन् । तर, उनको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । अर्की उदाउँदो नेतृ एकटेरिना इन्गलीचेभा ‘स्मार्ट भोटिङ’कै बलमा सन् २०१९ मा मस्को सहर डुमामा निर्वाचित भएकी थिइन् । 

विडम्बना मान्नुपर्छ कि कम्युनिस्ट पार्टीको पछिल्लो उदयले विगततर्फको मोह झल्काउँछ । सन् १९१७ मा लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले राज्यद्वारा वितरण हुने न्याय र समानताको वाचा गरेको थियो, जुन कठोर भए तापनि न्यायपूर्ण र करुणाशील हुने भनिएको थियो । आजको रुसी कम्युनिस्ट पार्टी कुनै एक व्यक्तिको सनकमा नचल्ने भएकाले त्यसले पुटिनको शैलीको विकल्प दिन्छ । यही तर्कका आधारमा क्रेमलिनका प्रतिपक्षीहरू एक शक्तिका रूपमा एकीकृत भइरहेका छन् । 

तर, पुटिनलाई सत्ताच्यूत गर्ने कार्य सहज हुनेछैन । उनले प्रमुख प्रतिपक्षीको रूपमा उदाएको कम्युनिस्ट पार्टीलाई दबाउन नयाँ दाउपेच गर्न सक्छन्, जुन क्रेमलिनकै लागि पनि हानिकारक हुन सक्छ । रुसी राष्ट्रपतिले देशलाई अझै प्रजातान्त्रिक दाबी गर्छन् । उनले आफ्नो वचनलाई सही देखाउन पनि देशभित्र सशक्त प्रतिपक्षलाई सक्रिय हुन दिएको देखाउनुपर्ने हुन्छ । तर, क्रेमलिनले रुसी लिबरलहरूलाई जस्तै कम्युनिस्ट पार्टीलाई भूमिगत हुन बाध्य बनायो भने समाजिक विस्फोटको जोखिम बढ्नेछ । सरकारले दमन नगर्ने निर्णय लियो भने रुसमा कम्युनिस्ट बलियो शक्ति बन्नेछ । 

सुझावित समाचार