संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा. एस जयशंकरसँग आइतबार साइडलाइन वार्ता गरेका छन् । खड्का परराष्ट्रमन्त्री भएको पाँचौँ दिनमा भारतीय समकक्षीसँग पहिलो भेटवार्ता भएको हो । दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन सहमति गरेको डा. जयशंकरले बताएका छन् ।
परराष्ट्रमन्त्री नियुक्त भएकै दिन ६ असोजमा जयशंकरले बधाई दिँदै उनीसँग सहकार्य गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका थिए । ‘मेरा नयाँ नेपाली समकक्षीलाई स्वागत गर्न पाउँदा खुसी छु,’ भेटवार्तापछि भारतीय विदेशमन्त्री डा. जयशंकरले ट्विटरमा लेखेका छन्, ‘हाम्रो विशेष सम्बन्धलाई अघि बढाउन सहकार्य गर्नुपर्छ भन्नेमा सहमत भयौँ ।’
यसैबीच, परराष्ट्रमन्त्री डा. खड्काले सोमबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । महासभामा सहभागी हुनकै लागि उनी शपथग्रहण र पदभार ग्रहण गरेकै दिन ६ असोजमा न्युयोर्क प्रस्थान गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल र दुईजना परराष्ट्रका कर्मचारी छन् । नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई पनि प्रतिनिधिमण्डलमा सहभागी छन् । अफगानिस्तानका विषयमा पाकिस्तानले अप्ठ्यारो सर्त राखेपछि शनिबार आयोजना हुनुपर्ने सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठक नेपालले स्थगित गरेको थियो । अब सार्कको यो स्तरको अनौपचारिक बैठक बस्ने सुनिश्चित छैन ।
पदभार ग्रहण गरेपछि परराष्ट्रमन्त्री खड्काले भारत र चीन नजिकका छिमेकी भएको उल्लेख गर्दै उनीहरूसँग अत्यन्तै सन्तुलित सम्बन्ध रहने बताएका थिए । उनले भारत र चीनसँग नेपालको सम्बन्ध अत्यन्तै सुमधुर, मैत्रीपूर्ण र सन्तुलित हुने उल्लेख गरे । राष्ट्रिय सहमतिका आधारमा आफू अघि बढ्ने पनि उनको भनाइ थियो ।