धनुषामा निर्धारित समयअघि नै पुल निर्माण सम्पन्न

शनिबार, ९ असोज, २०७८
डिजिटल संस्करण

धनुषाको ढल्केबर जटही सडक खण्डअन्तर्गत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमा निर्धारित समयभन्दा सात महिनाअगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ। रसुवा निर्माण कम्पनीले सात महिनाअगाडि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ।

ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका वेला रसुवा कन्स्ट्रक्सनले निर्धारित समयअगावै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो। ढल्केवर–जनकपुर–जटही सडकलाई ६ लेनमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा ६ लेनको सडकलाई मिल्ने गरी तीनवटा पुल निर्माण सम्झौता भएको थियो। 

सरकारसँग भएको सम्झौताअनुसार २०७८ चैत्र मसान्तसम्म तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । ७७ करोड २७ लाख रुपैयाँको लागतमा बनेको पुलको सम्झौता २०७६ असोज ३० मा भई  मंसिरदेखि  काम सुरु भएको थियो।

औरही खोलामा निर्माण सम्पन्न तीनमध्ये दुई पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्भिस लेनको रूपमा राखिएको छ। पुलको लम्बाइ एक सय ४३.५ मिटर र चौडाइ ११.६ मिटर छ।

सुझावित समाचार