लहान । सकारात्मक अभिभावकत्व अभ्यासमार्फत बालबाालिकाको सर्वांगीण विकास सुनिश्चितताका लागि सघाउन खेलमा आधारित सकारात्मक अभिभावक शिक्षासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
तालिममा बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक र भाषिक विकासका लागि अभिभावकले खेल्नुपर्ने भूमिकाको विषयमा सैद्धान्तिक छलफलसहित प्रयोगात्मक अभ्यास गरिएको सहजकर्ता नरबहादुर पाख्रिनले जानकारी दिए ।
सिराहाको दक्षिणवर्ती अर्नमा गाउँपालिका क्षेत्र २, ३ र ५ नं. वडा क्षेत्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वयंसेवकसहितको सहभागितामा लहानमा सम्पन्न तीन दिवसीय तालिममा बालबालिकाको विकासका लागि घरपरिवारमा उचित स्याहार, राम्रो स्वास्थ्य, पर्याप्त पोषण, संवेदनशील स्याहार, संरक्षण, उत्प्रेरणा र विकाससम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गरिएको उनले बताए ।
उनका अनुसार तालिममा बालबालिकाको सबै पक्षको विकासका लागि खेलको महत्त्वबारे अभिभावक तथा समुदायमा सचेतना अभिवृद्धिसहित बालबालिकासँग सकारात्मक व्यवहार गर्ने सिपको विकास तथा घरपरिवारमा माया, ममता, सम्मान र सहयोगमा आधारित अभिभावकत्वसम्बन्धी प्रयोगात्मक अभ्यास गरिएको छ ।
‘बालबालिकालाई पढ मात्र भनेर हुँदैन,’ उनले भने, ‘प्रारम्भिक अवस्थाका बालबालिकाको सिकाइको माध्यम खेलसँगै पालनपोषण मुख्य कुरा भएकाले सहभागीहरूलाई त्यही विषयमा प्रयोगात्मक अभ्यासमार्फत बुझाउने प्रयास गरिएको हो ।’
गर्भावस्थादेखि आठ वर्षसम्मका बालकालिकाको वृद्धि, विकास, सिकाइ क्षमता र मस्तिष्कको विकास अन्य उमेरभन्दा तीव्र रूपमा हुने भएकाले त्यो अवधिमा विशेष ध्यान दिइनुपर्ने उनले बताए ।
‘सबल बालिका सबल समुदाय’ परियोजनाअन्तर्गत प्लान नेपालको आर्थिक सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लबमार्फत अर्नमा गाउँपालिका क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वछतासँगै जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण सुधारका लागि विभिन्न सामुदायिक क्रियाकलापहरू सञ्चालन भइरहेको क्लबका कार्यकारी निर्देशक विनोदकुमार विसुन्केले बताए ।