ब्रिक्सको प्रभाव कहिलेबाट देखिन थाल्नेछ ?

ब्रिक्स स्थापना भएयता एउटा न्यु डेभलपमेन्ट बैंकको स्थापना र वार्षिक रूपमा बैठक हुनेबाहेक केही काम भएको छैन

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

ब्राजिल, रुस, भारत र चीनलाई संयुक्त रूपमा जनाउन छोटो अंग्रेजी रूप ‘ब्रिक’ नामकरण मैले नै गरेको थिएँ । यी मुलुकको सामूहिक सम्भावनाको अभिव्यक्तिका लागि यो छोटो नाम सुझाएको दुई दशकपछि म अहिले अप्ठ्यारो प्रश्न सोध्ने ठाउँमा आइपुगेको छु– यिनको प्रभाव कहिलेबाट देखिन थाल्नेछ ? मैले प्रस्ताव गरेको नामअनुरूप नै विश्व चुनौती र समस्यालाई सम्बोधन गर्न भन्दै सन् २०१० मा चार देशले यथार्थमै एउटा संगठन गठन गरे (जसमा पछि दक्षिण अफ्रिकालाई पनि समेटियो) । तर, स्थापना भएको यति लामो समयसम्म यसले कुनै प्रभावकारी नीति बनाउन सकेको छैन । जबकि, समूहको वार्षिक बैठकको चर्चा बर्सेनि बढ्दै गइरहेको छ ।

सन् २००१ नोभेम्बरमा गोल्डम्यान स्याक्सलाई लेखेको एक शोधपत्र ‘बिल्डिङ बेटर ग्लोबल इकोनोमिक ब्रिक’मा मैले पहिलोपटक ब्रिकको उल्लेख गरेको थिएँ । २० वर्षअघिको सो शोधपत्रमा मैले चीन, भारत, ब्राजिल र रुस प्रत्येकले कसरी आगामी दिनमा विकास गर्न सक्छन् भन्ने चार परिदृश्य प्रस्तुत गरेको थिएँ । साथै, यी चार उदाउँदो शक्तिलाई समावेश गरेर विश्व प्रशासनलाई थप प्रतिनिधिमूलक बनाउनुपर्छ भन्ने मेरो तर्क थियो । 

शोधपत्रपछि आएका अध्ययनका थप शृंखलाले चीनको अर्थतन्त्रले सन् २०४० सम्म अमेरिकालाई कसरी उछिन्ने देखाएको थियो । त्यस्तै, भारतको अर्थतन्त्रले जापानलाई उछिनेर चाँडै तेस्रो ठूलो अर्थतन्त्र हुने र ब्रिकका सबै चार मुलुकको अर्थतन्त्र जी–६ (जी–७ बाट क्यानडालाई हटाउँदा बन्ने समूह)को अर्थतन्त्रभन्दा ठूलो हुने पनि देखाएका थियौँ । तर, सन् २००१ पछि यी मुलुकको दिशा मिश्रित देखिन्छ । 

पहिलो दशक चारै मुलुकका लागि भव्य सफल रह्यो । सबैले मैले सुरुमा उल्लेख गरेको चार परिदृश्यलाई उछिन्ने गरी सफलता हासिल गरे । तर, दोस्रो दशक भने ब्राजिल र रुसका लागि सुखद रहेन । यी दुई मुलुकको अर्थतन्त्रको विश्वव्यापी हिस्सा घटेर २० वर्षअघिकै अवस्थामा पुगेको छ । चीन र केही हदसम्म भारतले भने ब्रिकको इज्जत जोगाइरहेका छन् । तर, ब्रिकले निराश भइहाल्ने अवस्था छैन, चीन एक्लैको वृद्धिले समेत ब्रिक मुलुकको कुल आर्थिक योग जी–६ को बराबर हुने देखिन्छ ।

जहाँसम्म विश्वव्यापी शासनको कुरा छ, विगत दुई दशकको एक मात्र उल्लेखनीय पक्ष भनेको जी–२० को गठनलाई मान्न सकिन्छ । जसले सन् २००८ को वित्तीय संकटको समयमा विश्वव्यापी रूपमा केन्द्रीय भूमिका खेल्यो । विश्वका २० ठूला अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने जी–२० सुरुमा अत्यधिक शक्तिशाली देखिएको थियो । त्यसक्रममा समूहले दीर्घकालीन महत्वका नीतिहरू पनि लागू गरेको थियो । तर, पछिल्लो समय यसले पनि उत्साहप्रद काम गर्न सकेको छैन । समूहको गफ बढी, उपलब्धि कम देखिन्छ ।

दुई दशकअघि ब्राजिल, रुस, चीन र भारतको विशिष्ट आर्थिक वृद्धिको सम्भावना पहिचान भएयता यिनले एउटा समूह नै बनाए, तर ब्रिक्स (जसमा पछि दक्षिण अफ्रिका पनि जोडियो)ले अझै प्रभावकारी विश्वशक्तिको रूपमा आफूलाई उभ्याउन सकेको छैन 

ब्रिक्सको कुरा गर्दा यसले आफ्नो पहिलो वार्षिक बैठक सन् २००९ मा रुसमा आयोजना ग¥यो (दक्षिण अफ्रिका पहिलोपटक सन् २०११ मा चीनमा भएको बैठकमा सहभागी भएको थियो) । यो वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट ब्रिकको १३औँ सम्मेलन आयोजना गरे । त्यस बैठकमा प्रत्येक नेताले सामूहिक रूपमा हासिल भएको उपलब्धिबारे दरिलो बोले । सबैले भावी सहकार्यका क्षेत्रबारे पनि बहस गरे । यी ठूला गफका बाबजुद बैठकले उल्लेखनीय नीति ल्याउन सकेन । ठूला बोलीवचन नीतिगत रूपमा रूपान्तरण हुन सक्दैनन् । समूहको पछिल्लो संयुक्त घोषणाका कुनै पनि बुँदाले कुनै महत्वपूर्ण परिवर्तनको संकेत गरेको छैन ।

 यो वर्ष सबैभन्दा ठूलो बहसको विषय सुरक्षा र आतंकवाद रह्यो । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमको रुस, भारत र चीनमा प्रत्यक्ष र खतरनाक प्रभाव हुन सक्ने सम्भावनामाझ सुरक्षाले महत्व पाउनु स्वाभाविक हो । तर, यही एउटा विषयमा केन्द्रित हुनु निराशाजनक कुरा हो । किनकि, यसले समूहको सीमित संयुक्त लक्ष्यमाथि प्रकाश पार्छ । ब्रिक्स समूह स्थापना भएयता एउटा बैंकको (न्यु डेभलपमेन्ट बैंक) स्थापना र वार्षिक रूपमा बैठकबाहेक अरू केही भएको देखिँदैन । 

समूहको दोस्रो दशकको निराशाजनक प्रदर्शनका बाबजुद यसका नेताहरूले सामूहिक प्रयासमार्फत पहिलो दशकको आर्थिक उन्नतिलाई व्युँताउन योगदान गर्न सक्छन् । यस दिशामा तिनले हासिल गर्ने सफलताले बाँकी विश्वको हित हुनेछ । यस मार्गमार्फत ब्रिक्स आफूलाई जी–२० कै हाराहारीमा प्रभावकारी रहेको सन्देश प्रवाहित गर्न सक्छन्, जसले विश्वव्यापी प्रशासनको पक्षमा थप बल पुग्नेछ । यसको सुरुवात ब्रिक्स सदस्यले आफूहरूबीचको व्यापारलाई अभिवृद्धि गरेर गर्न सकिन्छ । चीन र भारत दुवैले थप खुला र महत्वाकांक्षी व्यापारिक सम्बन्धबाट उल्लेख्य फाइदा हासिल गर्न सक्छन् । खासमा भारत–चीनबीचको व्यापारले मात्र विश्वव्यापी व्यापारलाई देखिने गरी वृद्धि गर्न सक्छ । 

ब्रिक्स सदस्यबीच विशाल जनसंख्याबाहेक अरू कुरामा समानता नभए पनि उनीहरू सबै समान रूपमा संक्रामक रोगको जोखिममा छन् । र, कोभिड–१९ महामारीमा समूहका अधिकांश सदस्यको स्वास्थ्य प्रणाली महामारीसँग सामना गर्ने खालको सबल नरहेको प्रस्ट भयो । उनीहरूले विश्वव्यापी संक्रमण रोगलाई गम्भीरतापूर्वक लिएनन् भने उनीहरूले आफ्नो आर्थिक सम्भावना साकार बनाउन सक्दैनन् । वर्तमान महामारीले विश्वलाई एउटा महत्वपूर्ण पाठ दिएको छ, विश्वव्यापी स्वास्थ्य चुनौतीले आर्थिक तथा राजनीतिक चुनौती पनि निम्त्याउँछ । 

See More On

सुझावित समाचार