दलसम्बन्धी अध्यादेशको टुंगो र अदालतको फैसलापछि मन्त्रिपरिषद् विस्तार

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

ओलीले दर्ता गराएको रिटमाथि सर्वोच्च अदालतमा सोमबार पेसी, मंगलबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टुंग्याउने सत्तागठबन्धनको तयारी 

पाँचदलीय गठबन्धनले संसद्मा पेस भइसकेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नेकपा (एकीकृत समाजवादी) खारेजको माग गर्दै एमाले अध्यक्ष केपी ओलीले दर्ता गराएको रिटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेको छ । ओलीले दर्ता गराएको रिटमाथि सर्वोच्च अदालतमा सोमबार पेसी छ । मंगलबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टुंग्याउने सत्तागठबन्धनको तयारी छ । 

गठबन्धन दल माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको टुंगो लागेसँगै मन्त्रिपरिषद् विस्तारको काम पनि अघि बढ्ने बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेशको टुंगो २९ भदौमा बस्ने प्रतिनिधिसभा बैठकले लगाउँछ । त्यतिवेलासम्म एकीकृत समाजवादीबारेको मुद्दा पनि टुंगिन्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ,’ माओवादी केन्द्रका प्रवक्ता महराले भने, ‘बाँकी सबै गृहकार्य प्रायः सकिइसकेको छ ।’ 

सरकार गठन भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले भदौ मसान्तभित्र यसलाई टुंग्याउन खोजेको छ । प्रवक्ता महराले गठबन्धन दलहरूभित्रै जतिसक्दो छिटो मन्त्रिपरिषद् विस्तारको कामलाई टुंग्याउनुपर्ने छलफल भइरहेको भन्दै धेरै ढिलो नहुने दाबी गरे । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्रिपरिषद् विस्तार चाँडै हुने बताए । आइतबार गठबन्धनको बैठकमा पनि चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको थियो । 

मन्त्रालयको भागबन्डाका विषयमा मोटामोटी सहमति जुटिसकेको र त्यसलाई अन्तिम रूप दिन मात्रै बाँकी रहेको बालुवाटार स्रोतको दाबी  छ । ‘मन्त्रालयको भागबन्डाका विषयमा केही फरक विचार आएका थिए, ती सबै विषयमा अहिले मोटामोटी सहमति जुटिसकेको छ,’ स्रोतले भन्यो, ‘प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी भएका र सरकारमा सहभागी हुने चारवटै दलले बराबरीको संख्यामा मन्त्रालय पाउने सहमति भएको छ ।’

गठबन्धनमा रहेका पाँचवटा दलमध्ये एउटा राष्ट्रिय जनमोर्चाले बाहिरै बसेर सरकारलाई सघाउने बताएको छ । त्यसबाहेक बाँकी चारवटा दलले ६–६ वटाका दरले राज्यमन्त्रीसहित मन्त्रीहरूलाई सहभागी गराउने सहमति भएको बालुवाटार स्रोतको दाबी छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत ‘फास्ट ट्र्याक’मा निष्क्रिय पार्ने तयारी थालेको छ । संसद्को अबको बैठकमा प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी छ ।  प्रतिस्थापन विधेयक आइतबारको बैठकमा पेस गर्ने रणनीति सत्तागठबन्धनको थियो । तर, एमाले सांसदहरूको नाराबाजीका कारण स्थगित भएसँगै अर्को बैठक मंगलबार बस्दै छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश पारित सरकारको प्राथमिकतामा रहेको बताइन् । 

सरकार गठन भएको दुई महिना समय पूरा बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएपछि गठबन्धनको आलोचना भइरहेको छ । तर, गठबन्धन दलहरूबीच संवैधानिक र कानुनी विषयसँगै आन्तरिक रूपमा मन्त्रालय भागबन्डाको विषयमा समेत पूर्ण रूपमा सहमति जुट्न सकेको छैन । जसका कारण गठबन्धनका शीर्ष नेताले भाका सार्दै आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २९ असारमा शपथ लिएकै दिन कांग्रेस र माओवादी केन्द्रले दुई–दुईजना मन्त्री सरकारमा पठाइसकेका छन् । त्यसपछि १० साउनमा देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
 

बागमतीमा गठबन्धन सरकारको तयारी 
बागमती प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले अब गठबन्धन सरकार निर्माणका लागि कसरत अघि बढ्ने र एक साताभित्रै नयाँ सरकार गठन हुने बताए । ‘एकीकृत समाजवादीले संसद्मा दलको मान्यता पाएसँगै हामी बागमतीमा चौथो शक्ति भएका छौँ,’ आइतबार संसदीय दलको नेतामा चयन भएका पाण्डेले भने, ‘हामीले शाक्यलाई २ भदौमा दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ । अब सरकार आधिकारिक रूपमै अल्पमतमा परेको छ ।’ 

सुझावित समाचार