- दसैँमा छुट मूल्यमा चिनी बिक्री गर्न साल्ट ट्रेडिङले गत माघमा नै ५० हजार टन चिनी सहुलियत दरमा आयात गर्न अनुमति मागेको थियो । तर, अहिलेसम्म सरकारले स्वीकृति दिएको छैन ।
- उद्योग मन्त्रालय नेतृत्व (मन्त्री)विहीन भएकाले सुपथ मूल्य सम्बन्धमा अहिलेसम्म ठोस निर्णय भने हुन सकेको छैन
विगतका वर्षहरूजस्तै आउँदो दसैँ, तिहार र छठमा पनि खाद्यान्न खरिदमा उपभोक्तालाई छुट दिन सरकारले सुपथ मूल्य पसल सञ्चालनको गृहकार्य अघि बढाएको छ । दसैँमा नुन, चिनी, चामल, ग्यास, खसी–बोकालगायतमा छुट दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन करोड २५ लाख बजेटसमेत निकासा गरेको छ ।
उद्योग मन्त्रालयमातहतका प्रमुख दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई परिचालन गरी सुपथ पसल सञ्चालन गरिनेछ । उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले सुपथ पसलमा खाद्यान्नलगायत छुट दिनका लागि साल्ट ट्रेडिङलाई एक करोड ५० लाख र खाद्य कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ निकासा भएको बताइन् । दसैँको पहिलो दिन घटस्थापनादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी छ ।
‘विगतमा जस्तै यसपटक पनि दसैँ, तिहारमा खाद्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण गर्न सुपथ पसल सञ्चालन गरिनेछ,’ उनले भनिन्, ‘त्यसका लागि बजार मूल्यभन्दा कममा खाद्यान्नलगायत बिक्री गर्ने संस्थानलाई शोधभर्ना दिन तीन करोड २५ लाख रुपैयाँ निकासा भइसकेको छ ।’ उद्योग मन्त्रालय नेतृत्व (मन्त्री)विहीन भएकाले सुपथ मूल्य सम्बन्धमा अहिलेसम्म ठोस निर्णय भने हुन सकेको छैन ।
यद्यपि, संस्थानहरूले आफ्नो हिसाबले गृहकार्य अघि बढाएका छन् । काठमाडौंको रामशाहपथ र ललितपुरको जावलाखेलमा एकीकृत सुपथ पसल र अन्यत्र संस्थानको कार्यालय र आउटलेटमै सुपथ पसल खोल्ने तयारी छ । साल्ट ट्रेडिङले कालीमाटी, सतुंगल, कोटेश्वर, सूर्यविनायक, बनेपालगायतका आफ्ना बिक्री केन्द्रमा सुपथ पसल खोल्नेछ भने खाद्य कम्पनीले थापाथली, नख्खु, सूर्यविनायकलगायतका स्थानमा सुपथ पसल सञ्चालन गर्नेछ । त्यस्तै, दुग्ध विकास संस्थानले दुग्धजन्य पदार्थमा छुटसहित रामशाहपथ, लैनचौरस्थित कार्यालयको बिक्री केन्द्रलगायतमा सुपथ पसल सञ्चालन गर्नेछ ।
खाद्य कम्पनीले चामलदेखि खसी–बोकासम्म बिक्री गर्ने
खाद्य कम्पनीले यो वर्ष पनि खसी–बोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । यसका लागि करिब ६ करोड रुपैयाँ बजेट विनियोजन भएको नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए । गत वर्ष खाद्य कम्पनीले दाङ, हेटौैँडालगायतबाट १६ सयभन्दा बढी खसी–बोका ल्याएको थियो । कम्पनीले एक हजार च्यांग्रासमेत ल्याउने गृहकार्य गरे पनि मूल्य बढेका कारण ल्याउन सकेको थिएन । गत वर्ष खसी–बोकाका लागि पाँच करोड ९३ लाख रुपैयाँ खर्च भएको थियो ।
नायब महाप्रबन्धक खनालले यो वर्ष पनि गत वर्षकै हाराहारीमा खसी–बोका र च्यांग्रा ल्याउने बताए । ‘यस वर्ष १० प्रतिशतजति बजेट बढाएका छौँ,’ उनले भने, ‘बजार मूल्य नियन्त्रण र सहज आपूर्तिका लागि खसी–बोका ल्याइनेछ ।’ उनले भने, ‘हामीले बजार मूल्यभन्दा सस्तोमा खसी–बोका उपलब्ध गराउनेछौँ ।’ यो वर्ष पनि च्यांग्रा ल्याउने सम्भावना भने न्यून भएको उनले बताए । संस्थानले थापाथलीस्थित अञ्चल कार्यालयबाट खसी–बोका बिक्री गर्नेछ । यसका अलावा विभिन्न प्रकारका चामल, सिमी, जुम्लाको मार्सी चामललगायत पनि सुपथ मूल्यमा बिक्री गर्ने खाद्य कम्पनीको तयारी छ ।
साल्ट ट्रेडिङलाई चिनी अभाव, अन्य खाद्यान्न पर्याप्त
सुपथ मूल्य पसलमा सबैभन्दा धेरै खाद्य वस्तुको बिक्री साल्ट ट्रेडिङले गर्दै आएको छ । साल्ट ट्रेडिङले नुन, चिनी र ग्यासमा सरकारको निर्देशनअनुसार छुट रकम दिने गरेको छ । त्यस्तै, अन्य खाद्य (चामल, दाल, गेडागुडी, मैदा, तेललगायत) वस्तुमा समेत साल्ट ट्रेडिङ आफैँले क्षति व्यहोर्ने गरी प्रतिकिलो एक–दुई रुपैयाँसम्म कम मूल्य निर्धारण गर्दै आएको छ ।
यस वर्षको दसैँमा छुट मूल्यमा चिनी बिक्री गर्न साल्ट ट्रेडिङले गत माघमा नै ५० हजार टन चिनी सहुलियत दरमा आयात गर्न अनुमति मागेको थियो । तर, अहिलेसम्म सरकारले स्वीकृति दिएको छैन । सरकारले सहुलियत दरको चिनी आयातमा स्वीकृति नदिँदा दसैँमा छुट मूल्यमा बिक्री गर्ने चिनीको परिमाण अपुग हुने साल्ट ट्रेडिङका प्रबन्धक ब्रजेश झाले बताए ।
‘साल्ट ट्रेडिङसँग अहिले नै चिनीको अभाव भइसकेको छ । बजार मूल्य नियन्त्रणका लागि मात्रै थोरै परिमाण बिक्री गरिरहेका छौँ,’ उनले भने, दसैँमा सहुलियत मूल्यमा उपभोक्तालाई दिने चिनी हामीसँग मौज्दात छैन ।’
साल्ट ट्रेडिङले हाल चिनी प्रतिकिलो ८९.५० पैसामा बिक्री गरिरहेको छ । तर, बजारमा व्यापारीले प्रतिकिलो कम्तीमा ९० रुपैयाँमा बेचिरहेका छन् । सरकारले चाँडो स्वीकृति दिए द्रुत गतिमा चिनी आयात प्रक्रिया थालेर दसैँमा उपभोक्तालाई उपलब्ध गराउन प्रयास गर्ने साल्ट ट्रेडिङले जनाएको छ ।
संकटमा सार्वजनिक संस्थान परिचालन
सरकारले ०६५ देखि दसैँ, तिहार र छठमा सार्वजनिक संस्थान परिचालन गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्न थालेको हो । चाडपर्वमा मात्रै सुपथ पसल सञ्चालन गर्ने प्रणालीलाई भंग गर्दै सरकारले गत वर्षको कोभिडमा समेत सुपथ पसल सञ्चालन गरी उपभोक्तालाई राहत दिने प्रयास गरेको थियो । चालू आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत उपभोक्तालाई खाद्यान्नमा २० प्रतिशत छुट दिने नीति लिई २१ जेठदेखि ७ असारसम्म सुपथ पसल सञ्चालन गरिएको थियो ।
जसमा साल्ट ट्रेडिङले २० प्रतिशत छुट दिई प्रतिकिलो पिठो ४४, चिनी ६३.२०, नुन १६, भटमासको तेल १ सय ८८ र खाना पकाउने एलपी ग्यास (एसटिसी ब्रान्ड) एक हजार एक सय २० रुपैयाँमा बिक्री गरेको थियो । खाद्य कम्पनीले मार्सी र बासमतीबाहेकका सबै चामलमा २० प्रतिशत र कर्णालीको सिमीमा प्रतिकिलो दुई रुपैयाँ छुट दिएको थियो ।
प्रमुख खाद्यान्न २० प्रतिशत छुटमा पाउने भएपछि उपभोक्ताको भिड बढेको थियो । जसकारण साल्ट टे«डिङले ७३ लाख ४१ हजार रुपैयाँ र खाद्य कम्पनीले करिब सात करोड रुपैयाँको खाद्यान्न बिक्री गरेका थिए । प्रतिबोरा चामलमा झन्डै तीन सय रुपैयाँ सस्तो भएपछि उपभोक्ताले ठूलो मात्रामा खाद्य कम्पनीबाट चामल खरिद गरेका थिए ।