दोस्रो जनआन्दोलनको सफलतापश्चात् मुलुकमा द्वन्द्व व्यवस्थापन र राजनीतिक स्थिरता कायम गर्न संविधानसभाद्वारा संविधान बनाउने सोचका साथ संक्रमणकालीन संविधानका रूपमा १ माघ, २०६३ मा ‘नेपालको अन्तरिम संविधान–२०६३’ जारी भयो । तत्पश्चात् ३ असोज, २०७२ मा मुलुकको इतिहासमै पहिलोपटक राजनीतिक स्थिरतालाई प्रत्याभूत गर्न सुधारिएको संसदीय प्रणालीसहितको संघीय शासन अंगीकार गरी वर्तमान संविधान संविधानसभाद्वारा निर्माण भई जारी भयो ।
वर्तमान संविधान लागू भएपश्चात् मुलुकमा स्थिरता, सुशासन र समृद्धि हासिल हुने जनअपेक्षा छ । जनअपेक्षाअनुरूप प्रगति हासिल गर्न र संविधानले अंगीकार गरेको विकास केन्द्रित सोचलाई समाहित गर्दै वि.सं. २०७९ भित्र नेपाललाई विकासशील राष्ट्र बनाउने, वि.सं. २०८७ सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने र वि.सं. २१०० भित्रमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी वर्तमान १५औँ योजनाले २५ वर्षे दीर्घकालीन खाका निर्माण गरेको छ । योजनाको दीर्घकालीन सोच तब मात्र साकार हुन्छ, जब मुलुकमा शान्ति र स्थिरता कायम रहन्छ । अन्यथा, चालू योजनाले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को सोच कागजमा मात्र सीमित रहन्छ ।
वर्तमान समयमा मुलुक पुनः राजनीतिक अस्थिरताको चपेटामा परेको छ । राजनीतिक अस्थिरताको प्रभाव प्रदेशहरूमा पनि देखिन थालेको छ । राजनीतिक दलहरू टुट्ने र फुट्ने दिशातर्फ अग्रसर देखिन्छन् । यसले पुनः मुलुकमा द्वन्द्व र अशान्तिको अवस्था सिर्जना हुन सक्छ । फलत : सरकार ढल्ने र बन्ने अभ्यासले मुलुकमा चौतर्फी असर पर्न जान्छ । राजनीतिक अस्थिरता हुनु भनेको मुलुकमा नीतिगत अस्थिरता बढ्नु हो । नीतिगत अस्थिरताले मुलुकको विकासमा तरलता सिर्जना हुन्छ । नीतिगत अस्थिरताले कर्मचारीतन्त्रमा समेत किंकर्तव्यविमूढता र अनुचित कार्यशैलीको विकास हुन्छ, जसले मुलुकको विकास र समृद्धिमा प्रत्यक्ष असर पुर्याउँछ । राजनीतिक अस्थिरताको असर पर्यटनमा व्यवसायमा पर्छ । यसबाट सिर्जित बन्द, हडताल र द्वन्द्वले पर्यटकको आगमनमा कमी आउँछ । परिणामस्वरूप रोजगारी र विदेशी मुद्राको सञ्चितिमा नकारात्मक असर पर्छ ।
बहुसंख्यक नेपालीले अंगालेको पेसा हो कृषि । राजनीतिक अस्थिरताका कारण प्रभावित हुने प्रमुख क्षेत्र पनि कृषि हो । राजनीतिक अस्थिरताको फाइदा उठाउँदै बिचौलियाको बिगबिगी हुन्छ । फलतः कृषकले आफ्नो उत्पादनको मूल्य पाउँदैनन् भने उपभोक्ता खाद्यान्नलाई महँगो मूल्य तिर्न बाध्य हुन्छन् । यसले कृषकलाई आफ्नो पेसा छोड्न बाध्य बनाउँछ । खेतबारीहरू बाँझै रहन्छन् । यसबाट खाद्यान्न तथा तरकारीमा विदेशी निर्भरता पढ्छ । नेपालको ठूलो जनसंख्या बेरोजगार बन्न पुग्छ ।
राजनीतिक अस्थिरताले मुलुकमा भएका साना, ठूला र घरेलु उद्योगमा समेत प्रत्यक्ष असर पुग्छ । त्यस्ता कतिपय उद्योग राजनीतिक अस्थिरताको सिकार भई बन्द हुन जान्छन् । जसले विदेशी सामानको आयातमा वृद्धि भई निर्यातमा संकुचन पैदा हुन्छ । फलस्वरूप वैदेशिक व्यापारमा हुने घाटाको दायरा फराकिलो बन्छ । राजनीतिक अस्थिरताले कानुन कार्यान्वयनमा प्रत्यक्ष असर पुर्याउँछ । यसबाट अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरणको समस्या देखापर्छ ।
राजनीतिक अस्थिरताको सिकार शिक्षामा समेत पर्छ । बन्द, हडतालले शिक्षण सिकाइ क्रियाकलापमा प्रभाव पार्छ । तोकिएको पाठ्यक्रम तोकिएको समयमा पठनपाठन गर्ने नसकिने र समयै परीक्षा सञ्चालन गर्नसमेत बाधा पुग्ने समस्या यसबाट देखापर्छन् । साथै, मुलुकको यातायात, सञ्चार, स्वास्थ्यलगायत पूर्वाधार निर्माण कार्यमा समेत राजनीतिक अस्थिरताले प्रतक्ष प्रभाव पार्छ । यसले सामाजिक द्वन्द्वमा ऊर्जा प्रदान गरी सामाजिक एकता र सद्भाव बिथोल्ने कार्य गर्छ । यसबाट मुलुकमा भ्रष्टाचार वृद्धि हुन्छ भने भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू कमजोर बन्छन् । फलस्वरूप मुलुकको सुशासन र पारदर्शितामा प्रत्यक्ष असर पुग्छ ।
नेपालमा नेपाली स्वयंको प्रयासबाट लामो द्वन्द्व समाप्त भई संविधानसभाद्वारा संविधान निर्माण भएको छ । यसबाट मुलुकको अन्तर्राष्ट्रियस्तरमा इज्जत र प्रतिष्ठा वृद्धि भएको छ । मुलुकमा हुने राजनीतिक अस्थिरता र अशान्तिले मुलुकको छवि पुनः धूलिसात् बन्न सक्छ । फलस्वरूप राष्ट्रिय स्वाभिमान र गौरवको क्षयीकरण हुन जान्छ । त्यस्तै, राजनीतिक दल र सरकारप्रति नागरिकको घृणा पैदा हुन्छ, जसले मुलुकको शासन व्यवस्थाप्रति नै चुनौती खडा गर्छ ।
अतः राजनीतिक अस्थिरताले मुलुकमा चौतर्फी चुनौती खडा गर्छ । यसले मुलुकको विकासको गतिलाई बाधा पुर्याउँछ । लोककल्याणकारी राज्यको चरित्र सखाप पार्छ भने सुशासन र समृद्धिलाई क्षयीकरण गर्छ । त्यसैले, विगतमा मुलुकले लामो अवधि राजनीतिक अस्थिरताको नियति भोग्दा झेल्नुपरेको समस्या र चुनौतीको अनुभवबाट पाठ सिक्दै पुनः मुलुकलाई राजनीतिक अस्थिरताको चपेटामा पर्न नदिन सबै पक्ष चनाखो हुनुपर्ने देखिन्छ ।
(दाहाल नेपाल सरकारका शाखा अधिकृत हुन्)