मेक्सिकोले जित्ला त अमेरिकी हतियार निर्माताविरुद्धको मुद्दा ?

बन्दुकसम्बन्धी कठोर कानुनका बाबजुद मेक्सिकोमा सीमापारि अमेरिकामा सहजै किन्न पाइने अत्याधुनिक बन्दुककै कारण बर्सेनि दसौँ हजारको ज्यान जान्छ

डिजिटल संस्करण

मेक्सिन राष्ट्रपति म्यानिअल लोपेज ओब्रेडोरले राष्ट्रपति पद सम्मालेपछि अमेरिकालाई मेक्सिकोतर्फ तस्करी हुने हतियारको बहाव रोक्न आह्वान गरेका थिए । उनीअघिका केही मेक्सिकन राष्ट्रपतिले त्यस्तो आह्वान गरे पनि कुनै प्रभाव परेको थिएन । मेक्सिकन अधिकारीका अनुसार प्रत्येक वर्ष झन्डै पाँच लाख अमेरिकी बन्दुक मेक्सिको पुग्छन् । अमेरिकाको कानुन हेर्ने मन्त्रालय ‘डिपार्टमेन्ट अफ जस्टिस’ले सन् २०१४ देखि २०१८ बीच मेक्सिकोमा पक्राउ परेका झन्डै ७० प्रतिशत हतियार अमेरिकाबाट तस्करी भएको स्विकारेको छ । 

यस महिनाको प्रारम्भमा मेक्सिको सरकारआबद्ध वकिलहरूको एक समूहले तिनको देशको हिंसा नियन्त्रणका लागि नयाँ कदम चालेको छ । उनीहरूले संयुक्त राज्य अमेरिकास्थित बोस्टन संघीय अदालतमा सात अमेरिकी हतियार निर्माता र एउटा हतियार होलसेल विक्रेताविरुद्ध मुद्दा हालेका छन् । मुद्दामा ती हतियार निर्माता र होलसेल विक्रेताले मेक्सिकोतर्फ हुने हतियार तस्करीलाई सहजीकरण गरेको आरोप लगाइएको छ । 

अघिल्लो वर्ष मेक्सिकोमा ३६ हजार व्यक्ति विभिन्न हिंसामा मारिए । पूर्वराष्ट्रपति फिलिपे चाल्डेरोनले सन् २००६ मा देशका शक्तिशाली ड्रग्स–कार्टेलविरुद्ध युद्ध घोषणा गरेयताकै उच्च मृत्यु संख्या हो, यो । मेक्सिकोको कानुनले वैधानिक रूपमा बन्दुक किनबेच गर्न निकै कडाइ गरेको छ । देशभरिमा एउटा मात्र बन्दुक विक्रेता छ र त्यो पनि सेनाले सञ्चालन गर्छ । वैधानिक रूपमा घरमा हतियार राख्न चाहने व्यक्तिको सम्पूर्ण पृष्ठभूमि जाँच पड्ताल हुने गर्छ । तर, बन्दुकबाट हुने हत्या भने यहाँ उच्च छ । 

मेक्सिकोमा बन्दुक हिंसाको दर सन् २००६ को ड्रग्स–कार्टेलविरोधी हिंसा घोषणापछि बढेको भए सीमापारि अमेरिकाको एक नीतिगत परिवर्तनले यसमा सघाउ पु¥याएको विश्वास गरिन्छ । सन् २००४ मा अमेरिकाभित्र अत्याधुनिक हतियारमाथिको प्रतिबन्ध अन्त्य भयो । कैयौँ प्राज्ञिक आलेखले मेक्सिकोमा हत्याहिंसा बढ्नु र अमेरिकाको कानुनी प्रतिबन्ध फुकुवाबीच बलियो सम्बन्ध पहिल्याएका छन् ।

हाल मेक्सिको सरकारले हालेको मुद्दामा पनि यो सम्बन्धलाई उल्लेख गरिएको छ । मुद्दामा प्रतिवादी हतियार उद्योगहरू सीमापार हतियार तस्कर र त्यसको हिंसात्मक परिणामबारे अवगत रहेको र उनीहरूलाई यो समस्या न्यूनीकरण गर्ने कदमबारे जानकारी रहेको उल्लेख छ । तर, यो समस्या सल्टाउने दिशामा जानुको साटो उनीहरू ठूलो रकम मुनाफामा ध्यान दिइरहेको वादीको आरोप छ । वादी (मेक्सिको सरकार) पक्षका मुख्य वकिल स्टिभ सडोवेन आफूहरू हतियार निर्माताको व्यवसाय शैलीलाई बदल्ने प्रयासमा रहेको बताउँछन् । विशेषतः हतियार निर्माताले तिनको वितरण प्रणालीमा कठाइ गर्ने हो भने ठूलो संख्यामा हतियार तस्करको हातमा नपुग्ने सडोवेनले बताए । 

मेक्सिकोका विदेशमन्त्री मारसेलो एब्रार्डले मुद्दामा हतियार निर्माताबाट १० अर्ब डलरबराबरको क्षतिपूर्ति पनि मागिएको जानकारी दिए । मुद्दामा हतियार निर्माता कम्पनीहरू : स्मिथ एन्ड वेसन, ब्यारेट, बेरेटा, सेन्चुरी आम्र्स, कोल्ट, ग्लोक, रुगर र हतियार होलसेस विक्रेता विटमर पब्लिक सेफ्टी ग्रुपलाई प्रतिवादी बनाइएको छ । सन् २०१८ मा सत्ता सम्हालेदेखि मेक्सिकोका राष्ट्रपति ओब्रेडोरले मेक्सिकोमा व्याप्त बन्दुकसम्बन्धी हिंसालाई ‘गोलीले होइन, अँगालोमार्फत’ समाधान गर्ने दाबी गर्दै आएका छन् । नयाँ नीतिले उनका पूर्ववर्तीको कठोर रणनीति परिवर्तन गर्न खोजे पनि परिणाम उत्साहप्रद छैन ।

मुद्दा दायर गर्दा अमेरिकाको राजनीतिक वातावरणलाई पनि ख्याल गरेजस्तो देखिन्छ । अमेरिकाको राजनीतिक माहोल अहिले बन्दुक नियन्त्रणप्रति सकारात्मक देखिन्छ । साथै, मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले सन् २०२४ मा राष्ट्रपति पदमा उमेदवारी दिने अनुमानमाझ यो मुद्दाले उनलाई फाइदा गर्ने बताइन्छ । 
विज्ञहरूका अनुसार मेक्सिको सरकारले सन् २००५ मा जारी ‘प्रोटेक्सन अफ ल फुल कमर्स इन आर्म एक्ट’मा टेकेर पछिल्लो मुद्दा हालेको छ । यस कानुनले हतियार कम्पनीहरू तिनका हतियारबाट भएका अपराधको जवाफदेही हुनुपर्ने व्यवस्था गरेको छ । तर, यो कानुन अमेरिकाभित्र भएका हिंसामा मात्र लागू हुन्छ । यसैलाई ख्याल गरेर मेक्सिको सरकारले मुद्दामा सन् २०१९ अगस्ट ३ मा मेक्सिकोको सीमानजिक अमेरिकामा भएको एक हत्याकाण्डलाई जोडेको छ । त्यस हत्याकाण्डमा टेक्सस राज्यको एल प्यासो सहरको एक वालमार्ट स्टोरको सवारी पार्किङमा एक बन्दुकधारीले आठ मेक्सिकन नागरिकसहित २२ व्यक्तिको हत्या गरेका थिए ।

‘हामीले यस विषयमा जानकार विज्ञसँग गरेको छलफलका आधारमा यो मुद्दा हामीले जित्ने निश्चित छ,’ वादी पक्षका मुख्य वकिल सडोवेनले बताए । यस मुद्दाको सुनुवाइ भएमा बन्दुक निर्माताहरूले तिनको व्यापार शैलीसम्बन्धी वर्षौंदेखिको आन्तरिक सूचना सार्वजनिक गर्नुपर्नेछ । यसले अमेरिकी बन्दुक नीतिले अन्य देशमा पार्ने प्रभावबारे जनचेतना पनि बढाउनेछ । 
सिएनएनबाट (सुआरेज र रेनविक पत्रकार हुन्)

सुझावित समाचार